|

बर्दिया : कोरोना भाइरसको जोखिम बढेसँगै बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप गरिएको छ। बिहीबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न साउन ३२ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो।

समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि गत आइतबारदेखि जिल्ला प्रशासन कार्यालय बर्दियाले पहिलो चरणमा पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको थियो। 

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जोखिमयुक्त क्षेत्रमा परिक्षणको दायरा बढाउन तत्काल एक हजार थान भिटिएम आवश्यक भएकाले प्रदेश ५ सरकारसँग भिटिएम किट माग गर्ने निर्णय समेत गरेको छ।

यस्तै, गुलरियास्थित मुक्तिनाथ विकास बैंक र बढैयातालस्थित सिटिजन्स बैंकका कर्मचारीमा कोरोना देखिएकाले दुवै बैंकका कर्मचारीहरुको तत्काल पिसिआर परीक्षण गराउने र त्यसको नतिजा प्राप्त नहुँदासम्म बैंक सिल गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले बताए।

हिन्दू नारीहरुको पर्व हरीतालिका तिज समेत नजिकै आएकाले तिज पर्व आ–आफ्नै घरभित्र रही स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन समेत अनुरोध गर्ने निर्णय भएको जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.