|

काठमाडौं : केही दिनअघि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरू त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यालय पुगे।

पठनपाठनका लागि शैक्षिक क्यालेन्डर निर्धाण गर्नेबारे माग राख्न विद्यार्थी त्रिविमा पुगेका बेला स्थिति तनावग्रस्त बन्यो, तोडफोडको स्थिति सिर्जना भयो। बल प्रयोग गरेपछि झडप निम्तियो। तोडफोड सुरु भयो। नेविसंघले आफूहरूमाथि बल प्रयोग गरिएको बताएको छ।

त्रिभुवन विश्वविद्यालय मात्र होइन, देशका विभिन्न क्याम्पसमा बेलाबखत तोडफोड हुने गरेको छ। नेपाली विद्यार्थी राजनीतिको पहिलो निशानामा क्याम्पसको भौतिक संरचना पर्ने गरेका छन्।

यसरी गरिने तोडफोडलाई हरेक विद्यार्थी संगठनले राजनीतिक रंग दिने गरेका छन्। एकातर्फ क्याम्पसको भौतिक संरचनामा क्षति त पुग्ने गरेको छ नै, अर्कातर्फ विद्याको मन्दिरमा हुने  यस्ता गतिविधिले नेपालका प्राय: सरकारी क्याम्पसहरूमा शैक्षिक गतिविधिदेखि विद्यार्थी आन्दोलन कलंकित बन्दै गएको छ।  नेतृत्व युवापुस्तामा आउनुपर्छ भन्ने आवाज उठिरहेका बेला युवा विद्यार्थी नेताहरूको क्रियाकलापले आम नागरिकमा नै चिन्ता थपिएको छ। यसै विषयमा थाहाखबरका लागि राजु पौडेलले नेपाल विद्यार्थी संघका सभापति राजीव ढुङ्गानासँग पाँच प्रश्न गरेका छन्।

नेविसंघले ४ दिनअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेको छ, कहिलेसम्म तोडफोडमा उत्रनुहुन्छ?  

विश्वविद्यालयमा हाम्रा साथीहरूले तोडफोड गरेका छैनन्। हाम्रा साथीहरू केही माग लिएर गएका हुन्। कोरोनाबाट शैक्षिकसत्र अत्यन्त प्रभावित भएको बेला पठनपाठनलाई कुन प्रकृयाबाट नियमितता दिने र परीक्षा प्रणाली कस्तो हुने भन्नेबारे छलफल गर्न हाम्रा साथीहरू गएका हुन्।

त्यहाँ पुग्दै गर्दा विश्वविद्यालयले प्रहरीलाई बोलाएर सुनियोजित ढंगले धरपकड गरी हाम्रा साथीहरूलाई पक्राउ गरेको हो। विश्वविद्यालयले आफैं तोडफोड गराएर हाम्रा साथीलाई मुद्दा हालेको छ। उपकुलपतिको प्रत्यक्ष निर्देशनमा हामीमाथि षडयन्त्र भएको हो। 

हरेक विद्यार्थी संगठनको निशानामा विश्वविद्यालयका भौतिक संरचना पर्ने गरेका छन्, तोडफोड गर्ने कार्य शोभनीय लाग्छ?  

तोडफोड राम्रो काम हुँदै होइन। यहाँ विद्यार्थीबाट तोडफोड भएको होइन। अहिले विश्वविद्यालयमा जो उपकुलपति हुनुहुन्छ, उहाँ प्राज्ञिक भएर उपकुलपति हुनुभएको होइन। उहाँ अन्य कुनै पेशामा हुनुहुन्थ्यो। राजनीतिक स्वार्थपूर्ति गर्न त्यहाँ आउनु भएको छ। उहाँलाई पार्टीले जे-जे सिकाउँछ : त्यही गर्नुहुन्छ।

त्रिवि उपकुलपति कार्यालयमा नेविसंघ कार्यकर्ताको तोडफोड

उहाँलाई विश्वविद्यालय र विद्यार्थीका बारेमा कुनै चिन्ता छैन। उपकुलपति प्रतिपक्षी विद्यार्थी संगठनलाई फसाउने खेलमा हुनुहुन्छ। आफूसँग असहमत हुने विद्यार्थी र प्राध्यापकलाई मुद्दा हाल्ने काम गरिरहनुभएको छ। विश्वविद्यालयलाई नेकपाको भर्तीकेन्द्र बनाउन लागिपर्नु भएको छ। ​​

हरेक नियुक्तिमा भागबण्डा खोज्ने, अनि भाग नपाएपछि तोडफोडमा उत्रने प्रवृत्ति नै समस्या समाधानको अन्तिम विकल्प हो? 

हामीले भागबण्डाको कुरा गरेकै छैनौं। उहाँ उपकुलपति भएर आएदेखि नै विश्वविद्यालयमा नियुक्ती गर्दा जेष्ठता, क्षमता हेरेर त्यसको आधारमा पारदर्शी रुपमा एउटा प्रक्रिया अगाडी बढोस् भनिरहेका छौं। भागबण्डा अन्त्य होस भनिरहेका छौं। तर, उहाँले पार्टीबाट आएको सूचीलाई नै सदर गरेपछि समस्या आइहाल्छ।

अझैपनि भन्छु : तोडफोडप्रति हाम्रो कुनै लगाव छैन।

शैक्षिक संस्थालाई राजनीतिको थलो बनाउने काम भइरहेको छ। आफ्नो अभिष्ट पुरा नगरेपछि तोडफोडमा उत्रने प्रवृत्ति विद्यार्थीमा किन आएको हो? 

विद्यार्थीहरूलाई तोडफोड गर्न शोभा दिँदैन। यहाँ नेविसंघलाई बदनाम गराउने काम भइरहेको छ। विश्वविद्यालयको उपकुलपति आफैं शैक्षिक संस्थालाई राजनीति गर्ने थलो बनाउन अग्रसर हुन्छन् भने त्यहाँ राजनीतिक प्रश्न उठ्नु स्वभाविक हो।

प्राज्ञिक नेतृत्व गर्नेले सुधारको बाटो लैजाने, बेथिति अन्त्य गर्ने र विश्वविद्यालयलाई अब्बल दर्जाको बनाउने भन्ने तर्फ चिन्तित नहुने समस्या देखियो। पार्टीले दिएको सम्झौताअनुसार मात्र काम गर्ने प्रवृत्ति रोक्न हामी अगाडी बढेका हौं।

पछिल्लो समय नेतृत्व हस्तान्तरण युवा पुस्तामा आउनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ। तर, युवाहरू बल प्रयोग गर्न तम्सिरहनु भएको छ। के युवा पुस्ताका विद्यार्थीमै वौद्धिक बहस गर्ने क्षमता सकिएको हो? 

नेपाली युवापुस्ता सम्पूर्ण रुपले नेतृत्व लिन सक्षम छन्। नेपालका युवाहरू विचारले खारिएका छन्। हरेक ढंगको संघर्ष : चाहे राजतन्त्रको अन्त्य होस् या अन्य कुनै संघर्षको मोर्चामा अग्रपंक्तिमा विद्यार्थी आन्दोलन नै हुने गरेको छ। युवाहरूले सधैँ उग्रता मात्र देखाए भन्ने खालका विश्लेषण गर्नु गलत हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.