एक अर्ब बराबरको आइपीओ स्वीकृत

|

काठमाडौं : नेपाल धितोपत्र बोर्डले चार अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण शेयर निष्काशनका लागि पाइपलाइनमा रहेको बताएको छ। बोर्डले बीमा, लघुवित्त र जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि आवेदन परेको बताएको हो। 

बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बोर्डमा प्राप्त भएका आवेदनमा अध्ययन भइराखेकाले सम्भवतः चालु आर्थिक वर्ष भित्रमै अधिकांश कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गर्न पाउने बताए। 

यस्तै अहिले पनि करिब १ अर्ब बराबरको आइपिओ स्वीकृत भइसकेको उनले बताए। जसमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँ बराबरको र समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन हुँदै छ। 

त्यस्तै लिबर्टी इनर्जी कम्पनीको ३७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन हुँदैछ। जसमध्ये लिबर्टीले भदौ ३ देखि र रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले भदौ चार गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन गर्ने मिति तय गरेका छन्।

चालु आर्थिक वर्षमा जीवन बीमा, निर्जीवन बीमा र लघुवित्त कम्पनीहरुको सबैभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको पनि केसीले बताए। अहिले पनि केही कम्पनीहरु आइपिओ निष्काशनको प्रक्रिया बुझ्न आइराखेकोले अझ बढी आवेदन पर्न सक्ने सम्भावना रहेको बताए। 

त्यसबाहेक केही जलविद्युत कम्पनीहरुले पनि आइपिओ निष्काशन गर्नका बुझ्न आएको केसीले बताए। हाल बोर्डमा १६ वटा कम्पनीले प्राथमिक सार्वजनिक निष्काशनका लागि आवेदन दिएका छन्। 

जसमध्ये चार वटा कम्पनी प्रारम्भिक अध्ययनको क्रममा छन् भने ५ वटा कम्पनीको अध्ययनसँगै प्रतिवद्धताका लागि पठाएका छन्। बाँकी सात वटा कम्पनीको अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.