|
फाइल फोटो

काठमाडौं : मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ आएका कारण नेपालको पश्चिमी भूभागमा ३ दिनसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

देशका मध्य र पूर्वी भेगभन्दा पश्चिमतर्फ भारी वर्षा हुने सम्भावना रहेको र केही ठाउँमा निकै ठूलो पानी पर्ने हुनाले सजगता अपनाउन आग्रह गरिएको छ। 

महाशाखाका अनुसार शनिबार दिउँसो गण्डकी, कर्णाली, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्नेछ। शनिबार राती पनि गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान महाशाखाले गरेको छ। 

मनसुन जारी रहेको र भारी वर्षाको सम्भावना अधिक रहेकाले देशभर जलजन्य प्रकोपको जोखिम बढिरहेको मौसमविद्‌हरूले जानकारी दिएका छन्‌। बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। भिरालो जमिनमा पहिरो जानसक्ने र नदीहरूमा अचानक बाढी आउनसक्ने हुनाले सतर्कता अपनाउन भनिएको हो।

गोरखाको बारपाक, आरूघाट, विरेनचोकलगायतका स्थान र लमजुङको बेँसीशहर, खुदीबजार लगायत केही ठाउँमा भारी वर्षा भएकाले बाढी र पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र आसपास धेरै ठाउँमा ठूलो पानी परिरहेकाले साना नदीमा पनि एक्कासी बाढी आउनसक्ने सम्भावना छ। त्यसैले, होचो स्थान डुबानमा पर्नसक्ने जोखिम बढेको छ। 

महाशाखाले धनकुटाको तमोर मुलघाटदेखि सप्तकोशी दोभानसम्मको तटीय क्षेत्रमा दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.