|

म्याग्दी : बेनी नगरपालिकाले आफ्नै स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ।

विद्यार्थीलाई स्थानीय विषयवस्तुबारे जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी स्थानीय पाठ्यक्रम तयार गरिएको हो। कक्षा १ का लागि ‘मेरो नगरपालिका’ नामको पुस्तक विद्यालयमा पठाउन थालिएको छ। पुस्तक १ सय पूर्णाङ्कको रहेको छ।

नगरभित्रका १० वटै वडालाई समेटेर ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पशुपालन र अन्य विविध विषयहरूलाई पुस्तकमा समावेश गरिएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताए।  

आगामी वर्ष क्रमशः कक्षा  २, ३, ४ र ५ को पुस्तक तयार पार्न नगर कार्यपालिकाले स्वीकृतिसमेत दिइसकेको छ। बेनी नगरपालिकामा संस्थागत १६ र सामुदायिक ५६ विद्यालय छन्। 

स्थानीय पाठ्यक्रम लागू भएपछि विद्यार्थीले समग्र नगरलाई बुझ्ने मौका पाएको नगरप्रमुख हरि कुमार श्रेष्ठले बताए। निर्माण समिति गठनसँगै धेरै चरणमा सरोकारवालाहरुसँग छलफल चलाई पाठ्यक्रम तयार र लागू गरिएको नगरपालिकाले जनाएको छ। 

कोरोना भाइरस जोखिमका कारण विद्यालयमा पठनपाठन बन्द भएकोले नगरपालिकाले विद्यालयका प्रधानाध्यापकलाई स्वअध्ययन सामग्रीसहित नगरपालिकाको पुस्तक विद्यार्थीको पहुँचमा पुग्न गरी आवश्यक योजना बनाउन निर्देशन दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.