जाजरकोट : विश्वमै लोपोन्मुख भएको लोभीपापी गरुड जाजरकोट सदरमुकाम नजिकै फेला परेको छ।
भेरी नगरपालिका-१ धल्धा, कालेगाउँस्थित भेरीको किनारमा गुँड बनाएर बच्चा कोरलेको लोभीपापी यो वर्ष ११ वटाको संख्यामा फेला परेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् पंक्षी तथा नेपाल पंक्षी संरक्षण संघको आजिवन सदस्य गोविन्द सिंहले जानकारी दिएका छन्।
कालेगाउँ नजिकै नदीको किनारमा बथानमा खेल्दै गरेको अवस्थामा आफूले लोभीपापी गरुड भेटाएको अधिकृत सिंहले जानकारी दिए। यसअघि सुर्खेतमा पनि १० वटा लोभीपापी गरुड भेटिएका थिए।
कालो शरीर, सेतो घाँटी र अग्ला खुट्टा हुने लोभीपापी गरुड विश्वमा पाइने १९ र नेपालमा पाइने आठ प्रजातिका गरुडमध्ये एक हो। निरन्तर संख्या घट्दै गएकाले यो प्रजातिको गरुडलाई अन्तरार्ष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) ले रातो अर्थात संवेदनशील सूचीमा राखिसकेको छ।
जैविक विविधता राम्रो भएको जाजरकोटमा विश्वकै दुर्लभ जनावर रेडपान्डा, दुर्लभ पंक्षीहरु चिर कालिज, सुनगिद्ध र सेतो गिद्धको वास रहेको पाइएको सिंहले बताएका छन्। जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, भेरी नगरपालिका र नलगाड नगरपालिका विश्वमै दुर्लभ जनावर तथा पंक्षीहरुको बासस्थान भएपनि यहाँ जंगल क्षेत्र मासिँदै गएकोमा संरक्षणविद्हरूले चिन्ता व्यक्त गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।