धेरैले अपनाउँदैनन् स्वास्थ्य मापदण्ड

|

काठमाडौं : नेपालमा दिनप्रतिदिन कोरोना भाइरस संक्रमण बढिरहेको छ। सबै क्षेत्रतर्फ यसको जोखिम बढदै गएको छ। यतिखेर नेपालमा उच्चपदस्थ कर्मचारीदेखि तल्लो तहका कर्मचारीमा काेराेना पुष्टि भएको छ।

मुलुकभरका विभिन्न स्थानमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु कोरोनाबाट प्रताडित बन्दै गइरहेका छन्। सबैभन्दा बढी फ्रन्ट लाइनमा कार्यरत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा यसको जोखिम बढी देखिएको हो।

उनीहरु प्रत्यक्ष अगाडि गएर काम गरिरहेका छन्। संक्रमितको उपचारदेखि सर्वसाधारणको सम्पर्कमा रहने भएकोले उनीहरुमा जोखिम बढदै गएको हो। सुरक्षाकर्मी भीडभाडमा जाँदा वा मानिसलाई नियन्त्रण गर्दा उनीहरुमा संक्रमण फैलने उच्च सम्भावना रहेको छ।

सडकमा वा समाजको सुरक्षामा दिनरात नभनी खटिएका सुरक्षाकर्मी आफैं संक्रमित भएका छन्। उनीहरुले सडकमा निस्कँदा आफ्नो सुरक्षाका लागि पिपिई सेट पनि लगाएका हुँदैनन्।

सरकारले सुरक्षाकर्मीको स्वास्थ्यमा ध्यान दिएको पाइँदैन। सडकमा वा सवारी भ्यानमा सवार कुनै पनि सुरक्षाकर्मीले स्वास्थ्य प्रोटोकलको मापदण्ड अपनाएका देखिँदैन। सुरक्षाकर्मी भेन वा ट्रकभित्र बसेका हुन्छन, कसैले पिपिई लगाएका हुँदैनन्। सुरक्षाकर्मी आफैं संक्रमित भएर आफ्नो दैनिक ड्युटी गर्न बाध्य छन्।

तीनै निकायका सुरक्षाकर्मीहरु कोरोनाबाट बच्न सकेका छैनन्। यो समाचार तयार पार्दासम्म नेपाल प्रहरीमा ५ सय ५१, नेपाली सेनामा २ सय ३३ र सशस्त्र प्रहरीमा २ सय ३३ जनामा कोरोना पुष्टि भएको हो।

'ड्युटीमा रहँदा सामाजिक दूरी सम्भव हुन्‍न'

भीडभाडमा जाँदा वा मानिसलाई नियन्त्रण गर्नुपर्ने अवस्थमा प्रहरीले पिपिईको प्रयोग गर्ने गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत बताउँछन्। डियुटीमा रहेका प्रहरीले सामाजिक दूरी कायम गरेर आफ्नो कर्तव्य निर्वाह गरिरहेको उनले बताए।

उनले भने,'  नियमित काममा जाँदा सुरक्षामा मापदण्ड अपनाइएको छ। सबैले मास्क, पन्जा र स्यानिटाइजर प्रयोग गरेका छन्।' प्रहरीले गाडीभित्र सामाजिक दूरी कायम गर्न असम्भव रहेको उनको भनाइ छ। गाडीमा हिँड्ने प्रहरी एकै ठाउँका हुन्छन् र सबैले एउटै भान्सा प्रयोग गर्ने गरेकोले पनि प्रहरीमा धेरै जोखिम नहुने उनको दाबी छ।

बाहिर गएर वा बढी भीडभाडमा गएर आएका प्रहरीलाई क्वारेन्टाइनमा राख्ने गरिएको उनले जानकारी दिए। उपत्यकामा ५ सयभन्दा बढीको क्षमतामा क्वारेन्टाइन निर्माण गरिरहेकाे छ, ५० जना प्रहरी क्वारेन्टाइनमा छन्।

स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार सबै सुरक्षाकर्मीले सुरक्षा विधि अपनाइरहेको उनले बताए। भीडभाडमा रहने प्रहरीले फेस भ्वाइजर लगाउने गरेको उनले सुनाए। संक्रमित प्रहरीलाई प्रहरी अस्पतालमा, २ नम्बर गणमा र सामाखुसीको विपद् आइसोलेसनमा राखी उपचार गरिरहेको उनले जानकारी दिए।

'स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको छ'

धनुषामा पहिलोपटक २ जना नेपाली सेनामा कोरोना पुष्टि भएपछि सेनाले सतर्कता साथ आफ्ना मातहतका सैनिक कर्मचारीलाई ड्युटीमा खटाइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल बताउँछन्। बाहिर गएका सैनिकलाई क्वारेन्टाइनमा राख्ने गरेको उनले बताए। सैनिकलाई गाडीमा हालेर कतै लानुपरे थोरै मात्रामा बोक्ने गरेको उनले सुनाए।

ड्युटीमा पालैपालो गरेर खटाउन गरेको र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ काम गर्न लगाइरहेको प्रवक्ता पौडेलको भनाइ छ। सैनिक मुख्यालयभित्र बनाइएका क्वारेन्टाइनमा सैनिकलाई राख्ने गरिएको उनले जानकारी दिए। संक्रमित भएका जिल्लाको कोभिड अस्पतालमा राखी उपचार गरिएको छ।

संक्रमित ८१ सैनिक निको भएका छन्। जिल्लाका विभिन्न कोभिड अस्पतालमा राखी १ सय ५२ सैनिकलाई उपचार गरिरहेको उनले जानकारी दिए। सैनिकलाई होल्डिङ सेन्टर र क्वारेन्टाइन व्यवस्थापनको सुरक्षा गर्न जिम्मा दिएको उनको भनाइ छ।

५० बेडको क्‍वारेन्टाइन

सशस्त्र प्रहरीमा पनि २ सयभन्दा बढी संक्रमित छन्। अधिकांश संक्रमित निको भइसकेका सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले बताए। स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्डअनुरुप सबै सुरक्षाकर्मीले नियम पालना गरिरहेका उनको भनाइ छ।

'केन्द्रीय कार्यालयमा ५० बेड क्षमताको क्वारेन्टाइन बनाइएको छ, आवश्यक परे थप्दै जाने तयारी रहेको छ,' प्रवक्ता अर्यालले भने।

अर्यालले भने, 'ड्युटी प्रकृतिअनुसार प्रहरीलाई सुरक्षा सामग्री दिने गरिएको छ। बाहिरबाट आएका सुरक्षाकर्मी छन् भने ती सबैलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ। व्यवस्थित क्वारेन्टाइन बनाइएको छ।'

धेरै संक्रमित स्वास्थ्यकर्मी होम आइसोलेसनमा

मुलुकभरको विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि क्रम जारी छ। संक्रमित स्वास्थ्यकर्मीको कुल संख्या २ सय ३८ पुगेको छ। चिकित्सकहरु अस्पतालले निर्माण गरेको आइसोलेसन र होम आइसोलेसनमा बसी उपचार गरिरहेका छन्।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स र चिकित्सक तथा एमबिबिएसका विद्यार्थीमा गरेर सात जनामा कोरोना पुष्टि भएको छ। १ जना नर्स मात्र आइसोलेसनमा बसी उपचार गरिरहेका अस्पतालका प्रवक्ता निदेश सापकोटाले बताए।

लक्षण नभएका संक्रमित चिकित्सक होम आइसोलेसनमा बसी उपचार गरिरहेका उनले जानकारी दिए। कोसी अस्पतालका १८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भई धरान, मोरङको गोठगाउँ र कोसीको कोभिड आइसोलेसनमा उपचार गराइरहेको अस्पतालका मेसु डा. चुमनलाल दासले जनाए। धेरै चिकित्सक संक्रमणमुक्त भइसकेका उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.