|

हेटौंडा : हेटौंडा उपमहानगर–१६ मा रहेको गौरीटार आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितलाई दिउँसो २ बजेसम्म खाजा र खानेकुरा नदिएपछि कोरोना संक्रमण भएकाहरु आक्रोशित भएका छन्।
 

रंगशालाको ब्वाइज होस्टेलको रुपमा रहेको स्थानलाई कोरोना संक्रमण भएकालाई राख्न आज पहिलो चोटि आइसोलेनको रुपमा संचालन गरिएको हो। 

भौतिक रूपमा राम्रो व्यवस्थापन भएता पनि खानपिनमा समस्या रहेको आइसोलेसनमा रहेका एक कोरोना संक्रमितले भने । उनी भन्छन्, ‘बिहानदेखि पानी खाएर बसिरहेका छौं, सोधपुछ गर्दा एकछिनमा आउँछ भनेर टार्ने गरिन्छ।’
२ बजेपछि दुई वटा जेरी र एउटा फुलौरा दिएर टारेको उनले बताए। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालअन्तर्गत रहेको आइसोलेसनले गम्भीर लापरबाही गरिरहेको छ।

आइसोलेसनका व्यवस्थापन हेरिरहेका हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले भान्से नपाएर केही समस्या भएको बताए। उनले सकेसम्म काम गरिरहेको दाबी गर्दै नयाँ आइसोलेसनका लागि भान्छा र जनशक्ति नभएको तर व्यवस्थापन गर्ने बताए।

कोरोना संक्रमित लगातार थपिँदै गएपछि गौरीटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठान रंगशाला क्षेत्रमा रहेको ब्वाइज होस्टललाई कोरोना आइसोलेसन वार्ड बनाइएको हो ।
 
३० वटा रुम भएको होस्टलको अधिकांश रुममा २ वटा बेड राखेर संक्रमितको उपचार गर्न सकिने, केही रुमलाई आइसियू तथा भेन्टिलेटर सहितको व्यवस्थापन गर्न सकिने भएको कारण पनि उक्त भवन प्रयोग गर्न लागिएको अध्यक्ष प्रकाश पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.