|

बैतडी : सुदूरपश्चिमेलीको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ। 

कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि भीडभाड नहुनेगरी चाडपर्व मनाउन जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले आग्रह गरेको हो। गौरा पर्व भदौ १० गते र तीज भदौ ५ गते परेको छ।

तीज र गौराजस्ता पर्वहरू नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयअनुसार भीडभाड नहुने गरेर मात्रै चाडपर्व मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। 

नित्यपूजा र घरायसी पूजा बाहेक सामूहिक रूपमा गौरा र तीज जस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिक रूपमा चाडपर्व मनाउन रोक लगाइएको उनको भनाई छ। उनले भने, ‘यस्ता पर्वहरूलाई अहिलेलाई घरभित्रै मनाउन आग्रह गरिएको छ।’

जिल्लामा सबै प्रकारका भेला, सेमिनार, गोष्ठी र तालिमलगायत भीडभाड हुने खालका कार्यक्रममा रोक लगाउने निर्णय भएको छ। यसैगरी, भारत अथवा तेश्रो मुलुकबाट फर्केका नागरिकलाई अनिवार्य स्थानीय तहको क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनका लागि स्थानीय तहहरूलाई आग्रह गरिएको छ।

स्थानीय तहहरूले आफ्नो क्षेत्रमा संक्रमणको दर हेरेर लकडाउन गर्नुपर्ने अवस्था आएमा सो कार्य कार्यान्वयनका लागि अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए। 

यस्तै, कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्य सेवा, सुरक्षा र सार्वजनिक सेवा प्रवाहका लागि अग्रपंक्तिमा काम गर्ने सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि लगायतको पीसीआर परीक्षण गर्ने निर्णय समेत भएको छ। 

बैतडीका हालसम्म ३२३ जनालाई कोरोना संक्रमण भएको छ। जसमध्ये अब चारजना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.