|

मनाङ : मनाङ जोड्ने एउटै बाटो हो बेंसीसहर-चामे सडक। लमजुङस्थित घोप्टेखोलाले सडक बगाएपछि अहिले यो सडकखण्डमा सवारी आवागमन ठप्प छ।

मानिस आउजाउ गर्न स्थानीयले ढुंगामा काँटी ठोकेर उत्तिसको काठ तेर्स्याएका छन्। कहिलेकाहीँ बाँसको भर्‍याङ बनाएर वारपार गर्ने गरिएको छ। त्यही भर्‍याङ पनि बाढीले बगाउने गरेको छ।

मर्स्याङ्दी गाउँपालिका-४, ताघ्रिङको घोप्टे र काप्रेभीर बीचमा पर्ने घोप्टेखोलामाथिको फड्केमा स्थानीय आफैँले पहरा दिएर बटुवाहरूलाई वारपार गराउने गरेका छन्। ‘बाटो सबै बाढी पहिरोले लगेको छ, नहिँडौँ भने नहुने, हिँडौँ भने खसेर मर्स्याङ्दीमा पुग्ने डर!,’ मर्स्याङ्दी गाउँपालिका ४, च्याम्चेका ७० वर्षीय बलबहादुर तामाङले भने, ‘धन्न यहाँका मान्छेले तारिदिए। हामीमात्रै त कहाँ सक्नु र!’

मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार अहिले यो बाटो १/२ जना मात्रै हिँड्ने अवस्था छैन। एउटा नतरुञ्जेल अर्कोले भर्‍याङ समाइदिनुपर्छ। ‘भर्‍याङबाट चिप्लिए एकैपटक खोलामा पुगिन्छ, खोलाले बगाएपछि मर्स्याङ्दीमा पुर्‍याउँछ, निकै जोखिम मोलेर बेंसीशहरबाट चामे पुगियो,’ उनले भने।

मर्स्याङ्दी-४ का वडाध्यक्ष सुमन गुरुङका अनुसार पहिरोले बाटोजति सबै खोतलेर लगेको छ। ज्यानको बाजी राखेर हिँड्नपर्ने बाध्यता छ। उनले भने, ‘करिब ६०/७० मिटर तल मर्स्याङ्दीको ठूलो भेल छ। एक पाइलामात्रै तलमाथि भयो भने मानिस बाँच्दैन। नहिँड्न भनेका छौं।’ बेलिब्रिज राख्न वडा र गाउँपालिकाले पहल गरिरहेको उनले जानकारी दिए।

बेंसीशहर-चामे सडक बनेपछि सिंगो मनाङ जिल्लासँगै उत्तरी लमजुङका बासिन्दालाई सहज भएको थियो। बर्खायामको बाढी पहिरोले स्थानीयलाई सँधै समस्यामा पारेको डुम्रे-बेंसीशहर-चामे सडक योजनाका सब-इन्जिनियर सुमन अधिकारीले बताए। उनका अनुसार बेंसीशहरदेखि करिब १९ किलोमिटर परको घोप्टे खोलामा अहिले समस्या छ। ‘घोप्टेखोलामा बेलिब्रिज राख्ने तयारी गरिरहेका छौं। केही दिनमै काम सुरु हुन्छ,’ उनले भने।

नेपाली सेनाले ट्र्याक खोलेर ७ वर्षअघि २०६९ मा यो सडक सरकारलाई हस्तान्तरण गरेको थियो। त्यसयता पनि समय-समयमा सडक मर्मत हुँदै आएको छ। मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सडक बनाउँदा भिरालो ठाउँमा जथाभावी विस्फोट गराइएको र डोजर चलाइएकाले अहिले समस्या परेको बताए। ‘हामीले पछिल्लो समय डोजर चलाएका छैनौं। तर, पहिले जथाभावी डोजर चलाउने र बम पड्काइँदा समस्या पर्‍यो,’ उनले भने।

बेंसीशहर-चामे सडकको बेंसीशहरदेखि म्यार्दीसम्म लमजुङ खण्ड ३५ किलोमिटर र म्यार्दीदेखि चामेसम्म मनाङ खण्ड ३० किलोमिटर छ। मनाङखण्डको म्यार्दीदेखि सिरानताल, धारापानी क्षेत्रमा हरेक वर्ष पहिरो खस्ने गरेको छ। तालडाँडा क्षेत्रमा माथिबाट ठूलठूलो ढुंगा खस्ने समस्या रहेको नासों गाउँपालिका १ का वडाध्यक्ष झलकबहादुर गुरुङले बताए। ‘बाढीपहिरोका कारण बाटो बन्द हुने गरेको छऽ बाटो बन्द हुँदा बिरामीले निकै दुःख पाएका छन्,’ उनले भने।

लमजुङतर्फ च्याम्चे, स्याँगे, काप्रेभीर, अर्खले, खुदी-भुलभुले साथै बेंसीशहर नजिकैको उत्तिसघारी खरखरे, बेलौती बिसौनालगायत क्षेत्रमा बाढी पहिरोले सडक छियाछिया बनाएको छ। ट्र्याक खोलिएपनि सडकको स्तरवृद्धि हुन नसकेको स्थानीयले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.