|

काठमाडौं : जोरपाटी चोकलाई काठमाडौंको उत्तरी भेगको केन्द्र मानिन्‌्छ। साँखु, नारायणटार, मेडिकल कलेज, गोकर्ण र सुन्दरीजल जाने सवारीसाधन रोक्ने ठाउँ र यात्रु प्रतीक्षालय यही चोकमा छ। उत्तर भेगकै केन्द्र मानिन्‌े ठाउँमा अहिलेसम्म पनि आकासेपुल नबन्दा सर्वसाधारण ज्यान जोखिममा पारेर सडक वारपार गर्न बाध्य छन्‌। 

गोकर्णेश्वर नगरपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक योजना तथा कार्यक्रममा जोरपाटी चोकमा आकाशेपुल निमार्ण गर्ने योजना समेटेको थियो। आकाशेपुल बनाउन दुई करोड रुपैयाँ बजेट पनि विनियोजन गरेको थियो। गत आर्थिक वर्षभित्रै आकाशेपुल बनाउने भनेपनि अहिलेसम्म त्यहाँ आकाशेपुल निर्माण भएको छैन।

नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा पनि जोरपाटी चोकको आकाशेपुल निर्माणलाई तीव्रता दिने योजना अघि सारेको छ। तर, अहिलेसम्म काम नै थालेको छैन। ​

नगरपालिकाले हल्ला मात्रै गर्‍यो

गोकर्णेश्वर नगरपालिकाले व्यस्त जोरपाटी चोकमा पुल बनाउने योजना ल्याएपनि योजनामै सिमित बनाएको भन्दै स्थानीयले आक्रोश पोखेका छन्‌। जोरपाटीका विमला अधिकारीले चोकमा पुल नहुँदा ज्यानलाई जोखिम पारेर सडक पार गर्दै आएको सुनाइन्‌।​​

‘नगरपालिकाले चोकमा पुल बनाउने भनेर हल्ला मात्रै फैलायो,’ उनले भनिन्‌, ‘पैदल यात्रुलाई सवारी साधनले ठक्कर दिने हो की भन्दै मनमा त्रास लिएर सडक पार गर्नुपर्छ। बनाउने भनेपछि बनाई हाल्नु नि! पछि हामीलाई केही भयो भने को जिम्मेवार हुन्छ?’ उनका अनुसार जोरपाटी चोक आरोलो भएकाले चावहिलबाट सवारीसाधन हुइँकिएर आउँछन्‌। त्यसरी आउने सवारीसाधनले ठक्कर दिएर ज्यानै लिने हो कि भन्ने त्रास बोक्दै सडक पार गर्नुपर्छ।

साँखुबाट आउने सवारीसाधन पनि उकालोमा तीव्र गतिमा आउने गर्छन्‌। त्यस्तो बेला पैदल यात्रु सडक पार गर्न सकिँदैन। चोकमा सडक पार गर्न अहिले जेब्रा क्रसिङ समेत छैन। बाटो पार गर्दैगर्दा धेरै पैदल यात्रु घाइते भइसकेका छन्‌।​२०७२ साल मंसिर २४ गते पनि सोही चोकमा पानी ट्याङ्करको ठक्करबाट १५ वर्षीया किशोरी करुणा माझीको घटनास्थलमै मृत्यु भएको थियो। 

डीपीआर बन्यो, अब निर्माण थालिन्छ : नगरपालिका

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज कुमार ढुंगानाले पुलको डिपिआर तयार भैसकेको जानकारी दिए। उनले भने, ‘जोरपाटी चोकमा सर्वसाधारणको धेरै चहलपहल हुने भएकाले सुविधाकै लागि आकाशेपुल बनाउने हाम्रो योजना छ। पुलको डीपीआर तयार भैसकेको छ।’

कोरोना महमारीका कारण तत्काल पुल निर्माण गर्न नसकेको उनको भनाई छ। ‘तत्कालै काम थाल्थ्यौं,’ उनले भने, ‘कोरोनाले गर्दा काम सुरु गर्न सकिएको छैन। अवस्था सामान्य बन्दै गएपछि निर्माण थाल्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.