|

विराटनगर : नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरले अत्याधुनिक प्रविधिको पिसिआर मेशिन ल्याएको छ। अस्पतालले कोरोना भाइरस (कोभिड-१९) संक्रमण पहिचानका लागि स्वाब परीक्षण गर्ने पिसिआर मेशिन खरिद गरेको हो।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अमेरिकी उच्च प्रविधिको टिब्सन पिसिआर मेशिनले एक पटकमा ९६ जनाको स्वाब नमूना परीक्षण गर्ने क्षमता राख्दछ। उक्त मेशिन काठमाडौंस्थित सपोर्ट सप्लायर डाइग्‍नोस्टिक सेन्टरका अपरेशन डाइरेक्टर संगीत बस्नेतले नोबेल अस्पताललाई हस्तान्तरण गरेका हुन्। 

एक साइकलमा ९६ स्वाब नमूना राखेपछि त्यसको रिपोर्ट ४५ मिनेटमा आउने प्रबन्धक दाहालले बताए। यो मेसिनमा आरएनए एक्ट्राक्सन नचाहिने र सोझै स्वाबबाटै परीक्षण गर्न सकिने भएकोले छिटो हुने उनले बताए। 

आइतबार कम्पनीले अस्पतालका निर्देशक डा. राजेश नेपाललाई मेशिन हस्तान्तरण गरेको छ। 'मेशिन खरिद गर्ने काम सकेका छौं', निर्देशक नेपालले भने, 'यसलाई जडान गरेर एक साता भित्रै परीक्षण सुरु गर्नेछौं।'

नोबेलले सर्वसाधारणका लागि दुई हजार ६०० रुपैयाँमा पिसिआर परीक्षण गर्ने भएको छ। सरकारले पाँच हजार ५०० रुपैयाँ शुल्क तोकेको छ। नोबेल मेडिकल कलेजका प्रिन्सिपल डाक्टर रामहरि घिमिरेले कोरोना संक्रमणको दर बढ्दै गएपछि निजी क्षेत्रले परीक्षणको सुविधा उपलब्ध गराउन लागेको बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.