|

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले देशभर बढ्दै गएको कोरोना संक्रमणको आवश्यक र यथेष्ट जानकारी समयमै स्थानीय तहलाई उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ।

आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण र संक्रमितको अवस्थाबारे यथेष्ट जानकारी गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको उल्लेख छ। 

'आफ्नो इलाका भित्रका कोभिड-१९ बाट संक्रमित भएका व्यक्तिहरुको सूचना जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुन नसकेकाले आफ्नो क्षेत्रभित्र कहाँ र के कति संख्यामा संक्रमितहरु रहेका छन् र परिवार तथा समुदायको संरक्षणको लागि के कस्तो पहल गर्नु पर्ने भन्ने जानकारी प्राप्त हुन नसकेको गुनासो कतिपय स्थानीय तहबाट प्राप्त हुन आएको छ', विज्ञप्तिमा भनिएको छ, 'स्थानीय तहहरूलाई थप सजगता अपनाउन मद्दत मिल्ने गरी सम्पूर्ण जानकारी उपलब्ध गराइदिनू।'

​‘स्वास्थ्य मन्त्रालयका प्रवक्ताले हरेक दिन संक्रमणको अवस्था सम्बन्धमा जानकारी दिँदा काठमाडौंलगायत अन्य ठूला शहरको कुन क्षेत्र र व्यवसायका व्यक्तिहरुमा संक्रमण देखियो सो समेत स्पष्ट गर्दा स्थानीय तहहरूलाई थप सजगता अपनाउन मद्दत मिल्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

संक्रामक रोग समुदायस्तरमा फैलनबाट रोक्न, आमनागरिकको स्वास्थ्यको अधिकार र भय रहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन आयोगले सबै स्थानीय तह तथा नेपाल सरकारलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.