काठमाडौं : मानौं अचानक तपाईंको दृष्टि गुम्यो। खल्तीमा उपचार खर्च छैन। बाहिर कोरोना कहर छ। अस्पताल जाने बाटो छैन। तपाईं के गर्नुहुन्छ? यति कल्पना गर्दा नै तपाईंको मुटुको गति बढ्यो होला। सम्झिनुस् त, भोग्नेलाई कस्तो होला? त्यस्तै भयो सुनिता थापालाई। जसले अलिअलि गर्दै दृष्टि गुमाइन्।
देख्दा देख्दै आँखामा ज्योति गुम्यो भने के गर्ने? उत्तर सहज आउन सक्छ : उपचार! उपचारका लागि अस्पतालसम्मको यात्रा कोरोनाकालमा सम्भव छैन। यस्तो अवस्थामा भगवान पुकार्ने बाहेक अर्को विकल्प रहँदैन। भनिन्छ, गरिबको घरमा भगवानको आगमन मुस्किलले हुन्छ रे।'
उपचार सबैको भाग्यमा हुँदैन। किनकी, पुँजीवादी व्यवस्थामा पैसाले भाग्य निर्धारण गर्छ भनिन्छ। पैसा नहुनेलाई निकै आपत् छ। गरिबलाई उपचार गर्ने कर्तव्य कसको हो? मलाई थाहा छैन। मलाई यति थाहा छ, उपचार सबैले पाउनुपर्छ। दुनियाँ सबै वर्गको साझा हो।
कोरोनाले थिलथिलो परेको छ अर्थतन्त्र। कयौं बेरोजगार छनन्। कैयौँले रोजीरोटी गुमाएका छन्। दैनिक धूप बेचेर चार जनाको परिवार पालिरहेका सुशील थापाको पनि रोजीरोटी गुमेको छ। गएको चैत्र १० देखि उनी पनि एउटा बन्द कोठामा कोरोनाको डरले बसिरहेका छन्। रोगभन्दा बढी भोकले उनको दैनिकी थप कष्टकर बनेको छ। जसको साक्षी हुँ म।
सम्पर्कविहीन, त्यसमाथि गरिबी। गरिबी झेलिरहँदा कोरोना महामारीको डर। यही डरबीच उनको जिन्दगीमा अर्को पीडा थपियो। श्रीमती एउटा आँखाबाट मात्र संसार चिहाउन सक्थिन्, त्यो पनि एकाएक धमिलो हुँदै गयो र अँध्यारो छाउन थाल्यो।
छिट्टै उपचार नभए श्रीमतीको आँखा सदाको लागि गुम्ने डर! थापाले यो अवस्थामा के गर्ने? भन्ने कहाँ?
डरैडरबीच थापाले अघिल्लो मंगलबार मलाई फोन गरेका थिए। छुट्टीको दिन भएकाले बिहान १० बजेसम्म म ओछयानमा थिएँ।
मोबाइलको घण्टी बज्यो। हेरेँ। मोबाइलको स्क्रिनमा सुशील थापा नाम देखियो। निन्द्रामै भएकोले उठाउन मन भएन। तर, लगातार चार चोटी मोबाइल बजेपछि पक्कै केही अफ्ठ्यारो पर्यो कि भन्दै कल उठाएँ। उनले हालखबर सोधे। आफ्नो व्यथा सुनाउन लागे। अनि भने, 'भाउजूले अलिअलि देख्न सक्ने आँखा पनि बन्द भयो, तत्काल आँखाको अप्रेसन गर्नुपर्ने भयो, जसका लागि ४० हजार लाग्ने भनेको छ।' यति भनेर उनले फोन काटे।
कोरोनाका कारण थिलथिलो बनेका थापालाई श्रीमतीको आँखामा आएको समस्या जसरी पनि समाधान गर्नुपर्ने जिम्मेवारी थियो। उनले त्यो जिम्मेवारीको अंश मलाई बनाउन चाहे।
के गर्ने? कसरी पैसा जम्मा गर्ने? जो-जो सँग म सहयोग माग्न सक्थेँ : ती मध्ये अधिकांश साथीको जागिर कोरोनाका कारण कटौती भएको छ। कतिपयले तलब नै पाएका छैनन्। उनीहरूसँग सहयोग माग्नु आफैँलाई अफ्ठ्यारो पनि थियो। त्यस बेलासम्म आफ्नै तलब पनि आएको थिएन।
उनले मलाई नै किन फोन गरे? त्यो मलाई थाहा थियो। यो समस्या समाधानमा आशाको अन्तिम विकल्प मलाई सम्झिए सायद। कसैको आशा र विश्वासको दियो निभाउनु जस्तो घातक कुरा अर्को हुन सक्दैन।
जागिर गरिरहेका १७ साथीलाई सम्झिए। सुखमा आ-आफ्नो जिन्दगी बाँचे पनि दु:ख पर्दा साथीको खुबै याद आउने रहेछ। उनीहरूसँग २ हजारका दरले सहयोग माग्ने अठोट गरेँ।
दिमागमा तर्कना सुरु भयो। कसरी माग्ने? अन्योलताका बीचमा दिमागमा एउटा उपाय आयो। ट्वीट लेखेँ, 'एउटा सिरियस कामका लागि १७ जना साथीहरूलाई म्यासेज गर्छु। मलाई थाहा छ, यी १७ जना साथीले मलाई निराश बनाउँदैनन्। म्यासेज हेर्नुहोला।'
उक्त ट्वीट लेखेको केही मिनेटमा अमेरिकामा बसिरहेका दाइ प्रमिल पौडेलले मलाई म्यासेज गरे। मैले समस्या सुनाएँ। दाइले तत्काल ५ हजार पठाउँछु भन्दै खाता नम्बर मागे। उनले पैसा हालिदिन्छु भनेपछि अरुले पनि हालिदिन्छन् भन्ने विश्वास बढ्यो। आशाले नै आशाको घर बनाएपछि मान्छे आसे हुँदो रहेछ। अरु साथीमाथि आशा थपियो। म आशावादी बनेँ।
साथी तथा पत्रकार शिवनारायण गिरिले पनि के भयो भन्दै म्यासेज ठेलिहाले। उनलाई धादिङका एकजना दाइ वीरेन्द्र श्रेष्ठले कोरोना संकटमा कोही कसैलाई अफ्ठ्यारो परेको खण्डमा दिनु भनेर ५ हजार पठाएका रहेछन्। त्यो पैसा उपलब्ध गर्ने बताए।
दाजु दिनेश रिजाललाई म्यासेज गरें। उनले सहयोग गर्ने आश्वासन दिए। उनले आफ्ना साथी अशोक पौडेल, आशिष थापा, मणि डुम्रे र प्रदीप भण्डारीबाट रकम संकलन गरेर पठाए। कोरोनाले गाउँ फर्किएका साथी सन्दीप गौतम भर्खरमात्र काठमाडौं फर्किएका थिए। मलाई समस्या पर्नु र उनलाई नसुनाउनु : यो हुन सक्दैन। उनलाई फोन गरेँ। उनी स्वयं पनि कोरोनाले थिलथिलो अवस्थामा थिए। तर उनले निरास बनाएनन्। उनले राजन डौलिया, श्रीराम भण्डारी, किरण शर्मा, सुवास न्यौपाने र मनराज थापाबाट सहयोग लिएर पैसा पठाउने बताए।
दाजुहरू सुमन लम्साल र विजय पौडेलले पनि यो संकटमा सहयोग गर्ने वाचा गरे।
दिदी अमी पौडेललाई पनि आफ्नो समस्या सुनाएँ। उनले पनि निराश बनाइनन्। मानिस खड्का, जो बोलीको छुचो भएपनि उ मेरो समस्याको सारथी बन्ने मान्छे हो। उसलाई समस्या सुनाएको केही मिनेटमा मेरो मोबाइलमा पैसा जम्मा भएको घण्टी बज्यो।
करिब २ घन्टामा नै मैले ३२ हजार उठाएँ। अप्रेशनको लागि यो पर्याप्त रकम थिएन। तर, अप्रेशनको दिनसम्म आवश्यक रकम उठ्नसक्ने आकलनका साथ थापा दाइलाई फोन गरेर मैले भने, 'भाउजूको अप्रेशनको तयारी गर्नुस्। पैसाको जोहो हुँदैछ।'
आँखाको अप्रेशनको लागि कोरोनाको पीसीआर टेष्टका लागि नेपाल कोरिया मैत्री अस्पताल पुगे थापा। दुई दिनपछि रिपोर्ट आउने भनेपनि उनको रिपोर्ट आएन। शुक्रबार बेलुका ५ बजे उनले मलाई रिपोर्ट न आएको जानकारी दिए।
शनिबार छुट्टी भएकोले शुक्रबार रिपोर्ट हातमा आउन जरुरी थियो। अर्को आपत आइ लाग्यो। अस्पतालाई कल गरें। त्यहाँ ल्याबमा रहेकी सुनी श्रेष्ठलाई आफ्नो बाध्यता सुनाएँ। उनी अफिस विदा भएर घर पुगेपनि बाध्यता सुनेपछि रिपोर्टको लागि अस्पताललाई सम्पर्क गर्न लगाइन। उनको सहयोगमा शुक्रबार राति ८ बजे कोरोना रिपोर्ट लिएर थापा दाजु घर लागे।
सुनिलले हाम्रो बाध्यता नबुझिदिएको भए आँखाको अप्रेशनका लागि अर्को झन्झट सुरु हुने पक्कापक्की थियो। आइतबार आँखाको अप्रेशन भनिए पनि डाक्टरले बुधबार मात्रै हुने बताए।
थप चार दिन पैसाको जोहो गर्ने समय थियो। तर अन्य साथीहरूले आश्वासन दिए पनि लकडाउन र कोरोनाका बीच पैसा जम्मा गर्न असमर्थ रहेँ। यद्यपि उनीहरूले वाचा भुलेका छैनन्। आफूसँग जम्मा भएको रकम बोकेर म बुधबार बिहान मित्र शिवलाई लिएर तिलगंगा पुगेँ। कोरोनाको कारण उनको अप्रेशनसम्म कुर्न हामी असमर्थ रह्यौं। आफ्नो अफिस लाग्यौँ। ११ बजेतिर थापा दाइले आँखाको अप्रेसन सफल भएको जानकारी दिए।
भोलिपल्ट पुन अस्पताल आएर पट्टी खुल्यो। सुनिता भाउजूले आँखाको पट्टी खुलेपछि मलाई फोन गर्दै भनिन्, 'भाइ मैले आँखा देखेँ। दोस्रो जीवन पाएको झैं लगिरहेको छ। मिल्छ भने मलाई भेट्न आउनु न है, अनुहार हेर्न मन छ।' कोरोनाको कारण म उनलाई भेट्न जान पाएको छैन। उनलाई सहयोग गर्नेको एक-एक तस्विर देखाउने चाहना मनमा बाँकी नै छ।
अझै छ महिना उनको फलोअप जारी रहन्छ। यो बीचमा उनको खर्चको हिसाब कति आउला? म गम्दो छु। थापालाई भनेको छु, 'जसरी हुन्छ फलोअप गर्दै गर्नु। पैसा जोहो हुँदै गर्छ।'
करिब डेढ वर्ष पहिले सुशील थापा दाइको दम्पतीलाई मैले फेसबुकमा स्क्रोल गर्दै गर्दा एउटा भिडियोमा देखेको हुँ। सुशील दाइ दृष्टिविहीन हुन् भने दिदीले एउटा आँखाले मुस्किलले देख्ने गर्थिन्। उनका दुई साना बच्चाहरू छन। उनको दैनिकी कष्टकर देखेपछि म उनको कथा बुझ्न मित्र धर्म महरालाई लिएर उनको कोठा भक्तपुर गएको थिएँ।
भलाकुसारीका क्रममा उनले भनेका थिए, 'सन्तानका पढाइको लागि म मृगौला बेच्छु भाइ!' उनले बोलेको हरेक शब्दमा निरीह बाबुको बिलौना सुनिन्थ्यो। एउटा दृष्टिविहीन बाबुले सन्तानका लागि 'मृगौला बेच्न पछि पर्दिनँ' भन्नु स्वभाविक हो। तर, त्यो चित्कार पक्कै कारुणिक थियो। श्रीमानको कुरा सुनिरहेकी सुनिता दिदी भक्कानिइन्। उनको आँसु पुछ्ने मसँग ल्याकत थिएन। उनीसँग बातचित गरेपछि धर्मले मलाई भनेका थिए, 'हामीले जसरी पनि यी दुई बच्चाको लागि पढाइको व्यवस्था गर्नुपर्छ।'
छुट्टिने बेलामा थापा दम्पतीलाई मैले आश्वासन दिएको थिएँ, 'म बच्चाहरूको पढाइको लागि केही गर्छु। तपाईंहरु ढुक्क हुनुस्।'
उनको कथा म कार्यरत थाहाखबरमा प्रकाशन गरें। उक्त कथा पढेपछि अमेरिकामा कार्यरत अमर केसीले मलाई सम्पर्क गरेर तत्काल थापा दम्पतीको नाममा करिब १० हजार पठाइदिए। मैले उक्त पैसा भोलिपल्ट उनको हातमा थमाइदिएँ।
यति मात्र होइन, केसीले दुई सन्तानको लागि ५ कक्षासम्म पढाइदिने आश्वासन दिए। उनले बच्चाहरूको लागि सबै खर्च पनि गर्दै आएका छन्। गत शैक्षिकसत्रमा छोराछोरीलाई विद्यालय भर्ना कार्य सकेपछि थापाले मलाइ भनेका थिए, 'भाइ केटाकेटीको पढाइको जिम्मा अमर सरले लिएपछि मैले अब बच्चाका लागि मृगौला बेच्नुपरेन।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।