|

इलाम : युरोपियन च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति पीएसजी र आरबी लिप्जिगबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो सेमीफाइनल खेललाई गुरु चेलाको भिडन्तको रुपमा हेरिएको छ। 

नेपाली समयअनुसार आज राति १२ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा लेप्जिगका प्रशिक्षक जुलियन नागेल्सम्यानको टोलीे प्रशिक्षक थोमस टुचेलको पिएसजी विरुद्ध प्रतिस्पर्धा गर्ने छ। 

नागेल्सम्यानले जुनियर करियर १८६० म्युनिख र अल्सवर्गको युवा टिममा बिताएका थिए। घुँडाको चोटका कारण उनले अल्सवर्गको यु–१९ टोलीबाटै खेलाडी करियर समाप्त गरे। सन २००८ सम्म नागेल्सम्यान अल्सवर्गको सेन्ट्रल डिफेन्स थिए।

त्यही समयमा चोटका कारण उनले खेल अघि बढाउन सकेनन्। अल्सवर्गको जुनियर टोलीका तत्कालीन प्रशिक्षक थोमस टचेल ( जो हाल पिएसजीका प्रशिक्षक ) लाई नागेल्सम्यानको क्षमता राम्ररी थाहा थियो। त्यसैले टचेलले युवा टोलीको सहायक प्रशिक्षक बनाउनुअघि उनलाई विपक्षी टोलीका खेलाडी स्काउटिङ गर्ने जिम्मेवारी दिए। बिजनेस एडमिनिस्ट्रेनमा स्नातक अध्ययन गरेपछि उनी पूर्वक्लब अल्सवर्गमा टचेलको मातहतमा काम गर्न फर्किए। सहायक प्रशिक्षक बनेर।

‘म टचेलप्रति निकै आभारी छु। मलाई प्रशिक्षक बन्ने बाटोमा उनैले डो¥याएका हुन्। मैले सोच्दै नसोचेको काममा उनले मेरो क्षमता देखेर अभिभावकत्व प्रदान गर्दै आजको अवस्थामा ल्याउने उनै हुन्। उनी मेरा पिता होइनन्, तर करिअरमा मेरा मेन्टर हुन्। जसको गुण मैले कहिल्यै तिर्न सक्दिनँ,’ नागेल्सम्यानले भने। टचेल आफै पनि सन १९९८ सम्म अल्सबर्गको खेलाडीको रुपमा थिए।

बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक गरेका नागेल्सम्यानले जर्मन फुटबल संघ (डिएफबी) बाट प्रशिक्षण इजाजत पत्र लिनुअघि खेलकुद विज्ञानमा स्नातकोत्तर गरेका थिए। डिएफबीबाट प्रशिक्षक लाइसेन्स लिँदा पनि उनले सर्वाधिक अंक ल्याएका थिए।

सन २०१२–१३ को सिजनमा १८९९ होफेनहेइममा सहायक प्रशिक्षकको रुपमा काम सुरु गरे। त्यसै समय उनले जुनियर टोली पनि हेरेका थिए। होफेनहेइमले सन २०१३–१४ को यु–१९ बुन्डेसलिगा जितेपछि उनलाई फेब्रुअरी २०१६ मा प्रमुख प्रशिक्षकको रुपमा क्लबले ३ वर्ष सम्झाँैता ग¥यो। र उनी २८ वर्षको उमेरमा बुन्डेसलिगा टिम सम्हाल्ने कान्छो प्रशिक्षक बने। होफेनहेइमको मुख्य टोलीमा नियुक्ति पाउनुअघि मुख्य प्रशिक्षकमा उनको खास अनुभव थिएन। त्यसअघि होफेनहेइमको यु–१९ टोलीलाई जर्मन उमेर समूहको उपाधि जिताउनु मात्र उनको अनुभव थियो। त्यति बेला उनको आफ्ना खेलाडीसँग उमेर फरक ६÷७ वर्षको मात्र थियो। 

तर मुटुको समस्याका कारण तत्कालीन प्रशिक्षक हब स्टेभन्सले अचानक छोडेपछि होफेनहेइम सामु नागेल्सम्यानलाई जिम्मेवारी दिनुबाहेक विकल्प थिएन। पुछारबाट दोस्रो (१७) औं स्थानमा रहेको टोलीलाई नेतृत्व प्रदान गर्न नागेल्सम्यानलाई चयन गरियो। उनले बाँकी १४ खेलमा ७ मा जित दिलाउँदै क्लबलाई १७ औ स्थानमा ल्याइपु¥याए। २०१६–१७ को सिजनमा क्लब बुन्डेसलिगाको चौथो स्थानमा रहँदै च्याम्पियन्स लिग प्लेअफका लागि छनोट भएको थियो। 
१८ जनवरी २०१९ मा बार्यन म्युनिखविरुद्ध ३–१ को जित निकाल्दा उनको बुन्डेसलिगामा १ सय औं उपस्थिति रह्यो। र बुन्डेलिगामा १ सय औ खेलमा प्रशिक्षण गर्ने कान्छा प्रशिक्षक पनि बने।

२०१८–१९ को सिजनपछि उनले क्लब छाडे। त्यसबेला क्लब बुन्डेलिगाको नवौं स्थानमा रहयो। जर्मन फुटबलमा होफेनहेइमलाई अनपेक्षित सफलता दिलाएपछि नागेल्सम्यानको तत्कालीन म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होसँग तुलना गर्दै ‘मिनी माउरिन्हो’ को उपमा दिइएको थियो। 

२०१९–२० को सिजनको लागि आरबी लेप्जिगले ४ वर्षे सम्झौता गर्दै उनलाई प्रशिक्षकको रुपमा क्लब भित्र्यायो। एफसी युनियन बर्लिनविरुद्ध ४–० को जित निकाल्दै बलियो उपस्थिति देखाए। क्लबले लिग लिडर बार्यनसँग १–१ को बराबरी खेल्यो। 

१० औं खेलमा मेनिजविरुद्ध लेपजिगले ८–० को फराकिलो जित निकाल्यो। १४ औ खेलमा पूर्वक्लब होफेनहेइमविरुद्ध ३–१ को जित दिलाए। सो सिजनमा क्लबले १८ जित र १२ का साथ ६६ अंक बटुल्दै बुन्डेलिगाको तेश्रो स्थानमा रहयो।

र च्याम्पियन्स लिगको लागि छनोट भयो। १० मार्च २०२० मा प्रिमियर लिग क्लब टोटनह्रयाम हस्र्टस्परविरुद्ध ४–० को जित निकाल्दै ३३ वर्षीय नागेल्सम्यान युइएफए च्याम्पियन्स लिगमा जित निकाल्ने कान्छा प्रशिक्षक बने।

क्वाटरफाइनलमा ला लिगा क्लब एथ्लेटिको मड्रिडलाई २–१ ले हराउँदै क्लब पहिलो पटक च्याम्पियन्स लिगको सेमीफाइनल पुग्यो। जहाँ लिग वान बिजेता पेरिस सेन्ट जर्मेनसंग फाइनल प्रवेशको प्रतिस्पर्धा गर्नेछ। 

लेप्जिग र पीएसजीले हालसम्म पनि च्याम्पियन्स लिगको उपाधि जित्न सकेका छैनन्। त्यसैले यी दुवै टोलीले एकअर्काविरुद्ध फाइनल प्रवेशका लागि कडा टक्कर दिने अनुमान गरिएको छ। 

पीएसजी सन् १९९५ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो भने लेप्जिगले च्याम्पियनस लिगमा दोस्रोपटक सहभागिता जनाएको हो। यसअघि सन २०१८–१९ को च्याम्पियन्स लिगको समूह चरणमा तेश्रो हुँदै युरोपा लिगका लागि स्थानान्तरण भएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.