|

 
मुगु : सदरमुकाम गमगढीबाट नेपालकै ठुलो ताल रारा जाने छोटो दुरीको पर्यटकीय मार्ग निमार्ण कार्यलाई तिव्रता दिइएको छ।

रारा ताल मुगुको छायानाथ रारा नगरपालिका-९ मा पर्छ। यसअघि ताल पुग्न जिल्ला सदरमुकाम गमगढीबाट रारा विमानस्थलसम्म ९ किलोमिटर र त्यहाँबाट माथिल्लो मिलिसम्म ३ किलोमिटर गरी कुल १२ किलोमिटर पार गर्नुपर्थ्यो। अहिले नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुँदै पासाहाल्नसम्म ७ किलोमिटर दुरी छोटो हुने मार्ग निमार्ण तीव्र पारेको छ।

पर्यटकहरू कर्णाली राजमार्ग भएर रारा आउने र दुरी टाढा हुँदा सदरमुकाम गमगढी नै नझरी फर्कने गरेका छन्‌। नजिकै देशकै प्रमुख पर्यटकीयस्थल भएपनि  सदरमुकामवासीले फाइदा लिन सकेका छैनन्‌।

अब सदरमुकामबाटै छोटो दुरीको पर्यटकीय मार्ग निमार्ण सम्पन्न भए रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू जिल्ला सदरमुकाम भएर सीधै रारा जान सक्नेछन्।

​रारा देशकै प्रमुख पर्यटकीय स्थल भएपनि यहाँ खान र बस्नको भरपर्दो व्यवस्था नहुँदा स्वर्गमा आएर बास, गाँसको समस्या भोग्नु परेको पर्यटकहरूले गुनासो गदै आएका थिए। 

सदरमुकामबाट छोटो दुरीमा रारा पुग्ने यो पर्यटकीय मार्ग निमार्ण सम्पन्न भएपछि रारा घुमेर पर्यटकहरू सदरमुकाममै रहेका सुविधासम्पन्न होटेलहरूमा आई बस्न सक्नेछन्‌।

​रारामा ताल बाहेक अन्य पर्यटकीय स्थलहरूको विकास र प्रचार-प्रसार नहुँदा पर्यटकहरू बसाई छोट्याएर फर्कने गरेका थिए। सदरमुकाममै पर्य६कलाई राख्न सके यहाँ रहेका कालिका मालिका मन्दिर, छायानाथ, ऋणमोक्ष र थार्प मष्टा पनि पर्यटकीय गन्तव्य बन्न सक्नेछ। अंकिल चंखेली हिमालको दृश्यावलोकन र भ्रमण गर्न सक्नेछन्। सडक निर्माण भएपछि धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको प्रचार प्रसार हुनेछ।

सडक निर्माण सम्पन्न भएपछि सदरमुकामबाट सीधै रारा जाँदा बाटोमा पर्ने तलितुम, सायाँखोला र माथीतुम गाउँहरूको ग्रामीण रहन-सहन, चाल-चलन, धर्म, संस्कृतिहरू देख्न पाइनेछ भने ग्रामीण पर्यटनमा पनि टेवा पुग्न देखिन्छ।

रारा घुम्न आउने पर्यटकहरूलाई सदरमुकाम तर्फ तान्न र पर्यटकहरूलाई यहाँ रहेका रारा बाहेकका अन्य धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूमा ध्यान केन्द्रित गराई मुगु बसाई लम्ब्याउने, जिल्लाको आर्थिक विकासमा सहयोग पुर्‍याउने उदेश्यले गमगढी–माथीतुम–पासाहाल्ना– रारा पर्यटकीय मार्ग निमार्ण कार्य थालिएको छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताए।

गत आर्थिक वर्षमा नगरपालिकाले यो मार्ग निमार्णका लागी ५९ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो. यो वर्ष पनि यो मार्गलाई निरन्तरता दिई निमार्णका लागी बजेट छुट्याएको छ।

सोमबार नगरप्रमुख हरिजंग शाही, पूर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल, वडानं २ का वडा अध्यक्ष परेकराज चौलागाईं, समाजसेवीहरू देवीकृष्ण रावल र नवराज चौलागाईं सहितको टोलीले यो मार्ग निमार्ण कार्यप्रगतिको स्थलगत अनुगमन गरेका छन्‌।

​स्थलगत अनुगमन गर्दा काम सन्तोषजनक पाइएको र चालु आवमा सम्पन्न हुनेगरी निर्माण गति बढाउन उपभोक्ता समितिलाई सल्लाह दिएको नगर प्रमुख शाहीले बताए। उनका अनुसार चालु आर्थिक वर्षमै यो मार्ग सम्पन्न भएर भएर वैशाखबाट नै रारा जान सकिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.