|

सुर्खेत : कर्णाली प्रदेशमै दर्ता भएर वैधानिकता पाउँदै संचालनमा रहेको त्रिशक्ति क्रसर उद्योगले झुटा सरजमिन मुचुल्का बनाएर दर्ता गराएको खुलेको छ। 
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ लाटीकोइलीमा रहेको त्रिशक्ति क्रसर उद्योग प्रालिले दर्ता गर्दा सरकारले तोकेको मापदण्ड पु¥याउन झुटा मुचुल्का बनाएको देखिएको हो।

नगरपालिका भित्रको घना बस्तीमा रहेको यो क्रसर उद्योग सरकारले तोकेको अधिकांश मापदण्ड पालना गरेको छैन। क्रसर उद्योगका लागि आइइई (इनिसिएल इनभारोमेन्ट एक्जामिनेसन) प्रथम वातावरणीय परीक्षा रिपोर्ट अनिवार्य हुन्छ। सो रिपोर्टमा ऐन नियममा रहेका मापदण्ड र सर्तहरू अनुसार उद्योग स्थापना गर्न मिल्ने वा नमिल्ने भनी स्थानीय सरकारले सिफारिस गर्नुपर्ने हुन्छ। 

तर सिफारिस गर्ने स्थानीय निकायले नै झुटो मुचुल्का बनाई सिफारिस गरेको देखिएको छ। उद्योग दर्ता गर्दा कागजात मिलाए पनि स्थलगत रुपमा मिलेको देखिँदैन।क्रसर मेसिनका लागि सेड अनिवार्य राखिनु पर्ने,  नगरपालिका क्षेत्रमा स्थापना गर्न नपाइने, मानव वस्तीबाट कम्तीमा पनि २ किलोमिटर टाढा हुनुपर्ने, मेसिन राखेको जग्गामा कम्तीमा १०० मिटर रडियसको जग्गा उद्योगले प्रयोग गरेको हुनुपर्ने, नापी कार्यालयबाट प्रमाणित भएको २०० फिट चौडाइ र २०० मिटर लम्बाइ भएको एउटै चक्लाको जग्गा हुनुपर्ने हुनुपर्छ। 

त्यस्तै राजमार्गबाट ५०० मिटर टाढा हुनुपर्ने, खोला किनारबाट ५०० मिटर हुनुपर्ने,  शिक्षण संस्थाबाट २ किलोमिटर टाढा हुनुपर्ने, स्वास्थ्य संस्थाबाट २ किमि, धार्मिक सांस्कृतिक र पुरातात्विक महत्वका स्थानबाट २ किलोमिटर, सुरक्षा निकायबाट, वन, निकुञ्ज तथा आरक्षबाट २ किमी र घनाबस्तीबाट २ किलोमिटर टाढा हुनुपर्ने सरकारी मापदण्ड छ। तर त्रिशक्ति क्रसरले उल्लिखित मापदण्ड पूरा गरेको देखिँदैन। बरु स्थानीय निकायले नै मापदण्ड पुगेको भन्दै झुटो सिफारिस गरेको देखिएको छ। 

२०७० वैशाख ३१ गते साविकको लाटीकोइली गाविसका  अमिन भुपेन्द्र बहादुर अधिकारीले झुटो स्थलगत रिपोर्टसहित सिफारिस गरेका हुन्। सो सिफारिसमा स्कुल पाठशाला, सुरक्षा निकाय, अस्पताल, वन, घनाबस्ती तथा सार्वजनिक स्थलबाट क्रसर उद्योग २ किमि टाढा रहेको भनिएको छ। जो सुरक्षा निकायबाहेक अरु सबैको दूरीको रिपोर्ट झुटो रहेको छ।

मानव बस्तीसँगै जोडिएर क्रसर उद्योग सञ्चालन भइरहेको छ। साथै लाटीकोइलीको मावि, मावि पर्सेनी जो पुरानो स्कुलका रुपमा चिनिन्छ, सो स्कुलको क्षेत्र नजिकै यस क्रसर उद्योग सञ्चालित छ। उद्योगको नजिकै संस्थागत विद्यालयसमेत छ। 

यसैगरी संरक्षित वन, पुरातात्विक सम्पदा तथा धार्मिक तथा सार्वजनिक स्थलभन्दा कम्तीमा पनि २ किमि नजिक राख्न नहुने मापदण्ड भए पनि सो क्रसर उद्योगको वरिपरि नै नेपालकै पहिलो संरक्षित वन काक्रेविहार, नेपालकै धार्मिक तथा पर्यटकीय तथा पुरातात्विक स्थलका रुपमा प्रसिद्ध काक्रेविहार मन्दिर तथा कर्णालीकै प्रसिद्ध शिव मन्दिर छन्।

यी सबै संरचना उद्योग स्थापना भएको २०७० भन्दा पहिलेका  नै संरचना हुन्। यसका साथै उद्योग वरिपरि सुर्खेतका किसानले भात खाने खेत रहेका छन्। यी लगायतका अन्य मापदण्ड पनि त्रिशक्ति क्रसर उद्योगले पूरा नगरी सञ्चालन भइरहेको देखिएको छ। यस्तै वायु तथा ध्वनि नियन्त्रणमा पनि राष्ट्रिय गुणस्तर अनुसारको हुनुपर्ने प्रावधान रहे पनि सोको ख्याल समेत गरेको देखिँदैन। उद्योगले मेसिनका लागि पनि सेड निर्माण गर्ने मापदण्ड भए पनि सो लागु गरेको देखिँदैन।

कागजात मिलाएर सञ्चालन

कर्णाली प्रदेशको घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका एक कर्मचारीले स्थलगत मापदण्ड पुरा नभए पनि कागजात मिलाएको बताएका छन्। ‘सरकारले तोकेको मापदण्ड अनुसार स्थलगत रुपमा गएर हेर्दा काम भएको देखिँदैन’, ती कर्मचारीले भने, ‘तर कागजमा सबै मिलाइएको छ।’ कर्मचारीका अनुसार देशभरकै कुनै क्रसर उद्योगले सरकारले तोकेको मापदण्ड पूरा गरेका छैनन्।

सरोकारवाला निकाय चुपचाप

ऐनविपरीत सञ्चालन भइरहेको क्रसर उद्योगबारे थाहा पाएर पनि सुर्खेतका सरोकारवाला निकाय भने तैं चुप मै चुप भएका छन्। सर्वसाधारणमा भने ढुंगागिट्टी तथा रोडाको व्यापारबाट अस्वाभाविक मुनाफा हुन्छ भन्ने कुराको सबैलाई ज्ञान भएको देखिँदैन। तर जतिलाई ज्ञान भएको छ, उनीहरुलाई आर्थिक प्रलोभनमा पारेर मापदण्डविपरीत क्रसर उद्योग संचालन भइरहेको देखिएको छ। सरोकार निकायबाट बारम्बार अनुगमन भए पनि अनुगमनमा मात्रै सीमित हुँदै आएको छ। 
सो उद्योगले एउटा आर्थिक वर्षमा शक्ति र आर्थिक चलखेलका कारण करौडौंको अवैधानिक ढुंगा गिट्टीको व्यापार गर्दै आएको छ। 

योसँगै सुर्खेतमा बालुवा प्रशोधन उद्योग दर्ता गराएर अवैध रुपमा क्रसर उद्योगको काम भइरहेको भन्दै जिल्ला समन्वय समितिले काम रोक्न भन्दै पत्राचारसमेत गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.