न देवा दण्डमादाय रक्षन्ति पशुपालवत्।
यं तु रक्षितुमिच्छन्ति बुद्ध्या संविभजन्तितम्॥
हामी कुनै आपत या जोखिममा पर्यौँ भने भगवान हातमा लट्ठी लिएर आशीर्वाद या सुझाव दिन हाम्रो अगाडि न त अहिलेसम्म आएका छन्, न त आउनेछन्। तर, भगवान या अस्तित्व, परमात्मा या ईश्वर जे नाम दिएपनि, जे मा आस्था राखेपनि, जुन धर्म र सम्प्रदायमा अनुशरण र विश्वास गरेपनि भगवत तत्त्व एकै छ। जसले आफ्नो सृष्टिका सबै प्राणीको रक्षा गर्दछ।
भगवानबाट विभिन्न माध्यममार्फत हामीमा वुद्धि, विवेक र प्रज्ञा प्राप्त छ। जतिबेला हामीलाई असहजता र प्रतिकूलता आइलाग्छ : त्यतिबेला मात्र मन्दिरको ढोकासम्म पुगी प्रार्थना गरेर हुँदैन। त्यतिबेला हामीले हाम्रो प्रज्ञा, बुद्धि, विवेक र समझको प्रयोग गर्नुपर्दछ।
विभिन्न सूचना र अभिव्यक्तिमार्फत जानकारी प्राप्त गर्नु नै ज्ञान हो भने बुद्धिको उच्चतम प्रयोग, विवेक, समझ र निर्णय लिने क्षमतालाई अन्तर्मनदेखि प्रयोगमा ल्याउनु प्रज्ञा हो।
यो वर्षको तीजको बीचमा कोरोना कहरले गर्दा निषेधाज्ञा जारी भएको छ। काठमाडौँ उपत्यकामा संक्रमितको संख्या दैनिक बढ्दै जानु र समुदायमा समेत फैलिन थालेकोले स्वास्थ्य सुरक्षाको लागि यो उपाय जरूरी पनि थियो। यसप्रति गुनासो नगरी आफूमा भएको प्रज्ञा प्रयोग गरी यसपालिको तीज मनाउनुपर्छ।
चुनौतीमा प्रज्ञाको प्रयोग
सृष्टिको आधार चुनौती हो। सृष्टिमा अनुकूलता र प्रतिकूलता दुवै विद्यमान छ। यो चक्र झैं चलिरहन्छ। यसपटक कोरोनाको महामारीले जीवनमा प्रतिकूलता आएको धेरैलाई महसुस भएको छ। तर, यो नौलो होइन। मानव सभ्यताले विगतमा यस्ता धेरै महामारी भोग्नुपरेको इतिहास छ।
सन् १३४७ देखि १३५१ सम्ममा फैलिएको ‘दि ग्रेट प्लेग’, जुन सबैभन्दा विनाशकारी महामारीको रूपमा देखिएको थियो। त्यसलाई 'ब्ल्याक डेथ' (कालो मृत्यु) नाम समेत दिइएको थियो। यो प्लेगले चार वर्षभित्रै संसारका २० करोड मानिसको ज्यान लिएको थियो भनिन्छ।
सन् १९१८ मा फैलिएको 'स्पेनिस फ्लु'ले समेत ५ करोड मानिसको ज्यान लिएको थियो। त्यतिबेला विश्वको जनसंख्याको एक चौथाइ अर्थात ५० करोड मानिसलाई यो भाइरसले आक्रमण गरेको बताइन्छ। सन् १५२० ताका फैलिएको बिफर लगायतका महामारी रोगहरूले मानव जीवनलाई आक्रान्त बनाइसकेको छ।
अहिले यो संसारमा हामी छौं र यो हाम्रो समय हो। हामीलाई पनि यसपटक कोरोनाले आक्रान्त पारिरहेको छ। नेपाल भन्दापनि अरू मुलुकमा धेरैले ज्यान गुमाइसकेका छन्। नेपाल जोखिममा भएपनि धेरै क्षति भएको छैन। अहिले हामीले सावधानी अपनायौँ भने कम क्षतिमै यो कहर टार्नेछौँ।
नेपालमा शरद ऋतुसँगै धेरै चाडपर्व सुरू हुन्छन्। हाम्रा चाडपर्वको विशेषता नै परिवार र आफन्त भेला भएर खानपान गर्ने, मन्दिर जाने, भीड जम्मा भएर पूजाआजा र नाचगान गर्ने खालका छन्। कोरोना फैलिरहेको समयमा यस्तो गतिविधि मानव स्वास्थ्यका लागि प्रत्युत्पादक हुन्छ।
यो वर्षको तीजकै समयमा निषेधाज्ञा जारी भएकोले घर बाहिर निस्कन, माइत जान र मन्दिर जान मनाही नै गरिएको छ। यसबेला हाम्रो प्रज्ञाको प्रयोग गरी आफन्त र परिवारलाई जमघट नगराई तीज मनाउनुपर्ने बाध्यता सृजना भएको छ। हामीसँग यो बाध्यता स्वीकार गर्नुको विकल्प छैन।
भर्चुअल संचारको उपयोग
यो वर्षको तीजमा परिवार वा साथीभाइ, नातेदारसँग भेटघाट गर्ने, दर खाने, नाचगान गर्ने र मन्दिर गएर पूजाआजा, गोदान गर्ने, पण्डितलाई दान दिनेजस्ता कार्य गर्न बन्चित हुनुपरेको अवस्था छ।
धेरै समयसम्म परिवारका सदस्यलाई भेट्न र कुराकानी गर्न पाइएन भने मनोवैज्ञानिक असर पनि पर्नसक्छ। बोल्न, आफ्ना कुराहरू सुनाउन र सुन्न मन लाग्नु मानवीय स्वभाव नै हो। तर, अहिले डिजिटल शिक्षाले हामीलाई धेरै प्रविधिमैत्री बनाएको छ। आफ्नो घरभित्र रहेर पनि विभिन्न उपकरणको माध्यमबाट म्यासेन्जर, भाइबर, गुगलमिट, जुमलगायतको सहायताले परिवारका सदस्य, नातेदार र साथीभाईसँग भर्चुअल मिटिङ गरी, भिडियो कलमार्फत भलाकुसारी गर्न सकिन्छ।
त्यसैपनि धेरैजसो व्यक्तिमा मोबाइल, ट्याब लगायतका उपकरणको प्रयोग गर्ने र समयको अधिकांश भाग सामाजिक सञ्जालमै बिताउने आदत बसिसकेको छ। अहिलेको समयमा आफन्तसँगको भलाकुसारी र भावना साटासाट गर्न भर्चुअल संचारको उपयोग गर्नु नै स्वास्थ्य सुरक्षाका दृष्टिले उपयुक्त देखिन्छ।
पर्व, पाप र धर्म
कुनै तिथि या उत्सव विशेषमा पर्ने हाम्रा धर्म, मान्यता र संस्कार अनुरुपका सनातन चलिआएका क्रियाकलाप नै पर्वहरू हुन्। मानवीयता, करुणा, परोपकार र संवेदनशील स्वभाव धर्म हो भने यी स्वभावबाट पर हटेर कर्म गर्नु पाप हो। कोही पनि व्यक्तिलाई पापरूपी कर्म गर्न मन लाग्दैन। 'मैले पाप गरेको अरूले त थाहा पाउनु भएन' भनेर नै मन्दिर गएर पाप कटाउने मनोविज्ञान रही आएको हुनुपर्दछ।
समयको उपयोगको लागि मन्दिर जाने, आफूले कमाएको केहि अंश दान गर्ने हेतुले दान दक्षिणा र गोदान गर्ने भन्दा पनि असली उद्देश्य हो : मेरा पापहरू छन् भने यी कर्ममार्फत नाश होउन्। मन्दिर जानु अन्यथा छँदै छैन। आफ्ना सांस्कृतिक धरोहर, धार्मिकस्थल हामी भ्रमणको रूपमा, अरूलाई भ्रमण गराउनकै निम्ति पनि जान्छौं।
मन्दिर बनाउन कति खर्च लाग्यो होला, यहाँको व्यवस्थापन कसरी चल्छ होला भन्ने विवेक र प्रज्ञाले हामीलाई झस्काउँछ, अनि हामी दानपात्रमा सहयोग गर्छौं। अलिकति मन ठूलो छ भने शिलापत्रमा नाम लेखाएर ठूलै धनराशी पनि सहयोग गर्दछौं।
नाम पनि हुने-धर्म पनि हुने, कतै केही अनर्थ गरी कमाइएको रहेछ भने पाप पनि नाश हुने भन्ने मनोविज्ञानले मन्दिर, भगवान, पूजाआजा, दान-दक्षिणा र व्रत-उपासनासँग हाम्रो परम्परा जोडिएर आएको छ। हामी आफ्ना मठमन्दिर मात्र कहाँ हो र, विदेशतिर कतै घुम्न जाँदा पनि त त्यहाँका मन्दिर, ऐतिहासिक स्थल घुम्न जान्छौं। मानव सभ्यता र मानवले शुरू गरेका सबैका परम्परा र संस्कृतिको हामी प्रशंसा गर्छौं, जगेर्ना गर्छौं, यो हाम्रो स्वभाव पनि हो।
तर, कोभिडको आतंकले भौतिक दूरीको जरुरत र सरसफाई अनि स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुनुपर्ने अवस्थामा मन्दिर गएर मात्रै धर्म मिल्छ भन्ने धारणा राख्नु अव्यवहारिक र गलत कुरा हो।
संसारका सबै मानिसलाई धर्म आवश्यक छ र आफ्नो तरिकाले मान्छन् पनि। सृष्टिमा रंग, जात, धर्म र वर्णको आधारमा विभेद छैन। सबै सृष्टिप्रति धर्मको प्रेम छ, उसले जगेर्ना गर्दछ र मानवीय मूल्य र मान्यताको आधारमा यो धर्मरूपी स्वभावको प्रस्फुटन होस् भन्ने चाहन्छ।
कुनै धर्म र परम्परा विशेषमा मैले गर्ने संस्कार र प्रचलन सही छ, जस्तो अवस्थामा पनि म यो गरेरै छाड्छु भन्ने अहंकारले आत्मविकास हुँदैन, बरू अरूको आत्मसम्मानमा चोट पुर्याउँछ।
अस्तित्व र परमात्माले मानिसबीचका रङ्गीन भाव, सुमधुर सम्बन्ध, मानवीय पहिचान, सहिष्णुता र पूरै मानव जातिको सञ्जाललाई बुझ्दछ। हामी मानवले मानवकै व्यवहार प्रस्तुत गरेको अस्तित्वले बुझ्दछ। उसले हामीलाई दिएको प्रज्ञा, ध्यान, विवेक र बुद्धिको प्रयोग सोचाई र सहजतासहित प्रयोगमा ल्याएको मन पराउँछ। जारी कोरोना कहरको समयमा हाम्रो धर्म र मान्यता पर्व मनाउने तरिकामा रूपान्तरण गर्नु जरूरी हुन्छ।
मन्दिर नजानु, गोदान नगर्नु, चेलीबेटी भेला नहुनु र माइती नजानुमा पाप छैन। हाम्रो व्यवहारले अरूको मनोभावनामा चोट पुग्नु, हाम्रो विचार, भाव, वाणी र कर्मले अरूलाई नकारात्मक असर पुग्नु चाहिँ पाप हो। 'आफ्नो अहंकारलाई पूर्णता दिन्छु, अरूलाई के असर गर्छ? वेवास्ता नै गर्दै जान्छु' भन्ने अहंकार अवश्य धार्मिकताको उदाहरण होइन।
सम्यकता र सचेतनाको विकास
तीज र ऋषिपञ्चमी नमनाउनु, आफ्नै माइती नजानु र आफ्नै परिवारबाट टाढा रहनुले मलाई कसरी आत्मसन्तुष्टि मिल्छ जस्ता अभिव्यक्ति चेलीबेटीहरूबाट आउन थालेका छन्। यो चिन्तायुक्त मनस्थिति र भयको परिणाम हो।
चिन्ता र भयमुक्त हुनका लागि योग र ध्यानको अभ्यास एवं प्रज्ञा जागरण र आफ्ना मौलिक सृजनामा रमाउने बानी विकास गर्दै लैजानुपर्दछ।
बाहिर निस्कनासाथ को व्यक्ति संक्रमित हो, परीक्षण नगरी थाहा पाउन कठिन हुने तथा आफू संक्रमित हुनासाथ अरूलाई सर्ने सम्भावना र जोखिम हुने हुँदा पनि 'म बाहेक सबै संक्रमित छन्' भन्ने मनोभावनाको विकास गरी आफू अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनु र भौतिक दूरी कायम राखी स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुजस्तो बुद्धिमता अरू हुँदैन। जीवन स्वस्थ रहे र समय अनुकुल रहे भविष्यमा तीज मनाउने धेरै अवसर आउनेछन्।
र अन्त्यमा,
बस्नु पर्यो मन मारी मारी
सोचे झैं जिन्दगी रैनछ
अहिलेको यो तीजे गीतले समेत जीवनमा हामीले सोचेका सबै कुरा पूरा हुँदैनन् भन्ने सन्देश एकातिर दिएको छ भने अर्कोतिर जीवनको पूर्णताबारे बोध गराएको छ। हातमा महँगा मोबाइल फोन बोकेर, गरगहनाले झपक्क ढाकिएर, महँगो गाडी चढेर हिँड्नेले पनि यो गीत मन पराएको, शेयर गरेको देख्दा के चिज भयो भने मानिसलाई जिन्दगी सोचझैँ हुने होला त? अर्थात् के ले जीवनमा पूर्णता मिल्ने होला त? सोचनीय छ।
बाहिरको सम्पन्नतासँगै भित्रको शान्ति, प्रेम र आनन्द प्राप्त भएमात्र जीवनमा सार्थकता मिल्छ। जीवनका सबै आयाममा सन्तुलन मिल्यो भनेमात्र जीवन लयबद्ध र अर्थपूर्ण तरिकाले बित्छ। प्रज्ञाको अभाव नै असन्तुलित जीवनको परिणाम भएकोले आफ्नो प्रज्ञाको प्रयोग गरी संयमित र सुरक्षित रहौं, अनि अरूलाई पनि सचेत रहने प्रेरणा दिऔं।
तपाईंको ईमेल गोप्य राखिनेछ ।