|
फाइल फाेटाे

बैतडी : कोरोना भारइसको संक्रमण समुदायस्तरमा फैलन नदिन बैतडीसहित सुदूरपश्चिम ४ जिल्लामा निषेधाज्ञा र लकडाउन गरिएको छ। 

बैतडी र डडेल्धुरा सदरमुकाम क्षेत्रमा लकडाउन गरिएको हो भने तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीमा निषेधाज्ञा जारी गरिएको  छ।   कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै बैतडी जिल्ला सदरमुकाममा बिहीबारदेखि नै लकडाउन छ। सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले  चाडपर्व नजिकिएसँगै भिडभाड बढ्ने भन्दै भदौ १५ गतेसम्म लकडाउन गरेको जनाएको छ।  उक्त अवधिमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए।  

औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न दिइनेछ । यस्तै नगर क्षेत्रभित्रका बैंकहरुलाई आइतबार, मंगलबार र बिहीबार हप्ताको तीन दिन मात्रै खुल्ला रहनेछन्। 

डडेल्धुरा सदरमुकाममा पनि आंशिक निषेधाज्ञा जारी भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बिहीबारदेखि भदौ १२ गतेसम्म लकडाउन घोषणा गरेको हो।  बजार क्षेत्रमा रहेको मानिसहरूको चहलपहल र भीडभाडलाई कम गर्न जिल्लामा संचालित हुने मोटरसाइकलहरूमा जोर–बिजोर प्रणाली लागु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए। 

जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन जोर बिजोरका आधारमा सञ्चालन गर्न पाइने छ भने औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरु किन्न मात्रै सवारी साधन प्रयोग गर्न पाइने छ। 

प्रदेशभरमा सबैभन्दा बढी प्रभावित कैलालीमा बिहीवार मध्य रातिदेखि निषेधाज्ञा नै जारी भएको छ। भदौ १४ गतेसम्म जारी हुने निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।  

यस्तै कञ्चनपुरमा पनि आशिंक निषेधाज्ञा गरिएको छ।  बिहीवार राति १२ बजेदेखि १४ गतेसम्मका लागि आशिंक निषेधाज्ञा जारी भएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले संक्रामक रोग र स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको बताए।  उक्त अवधिका अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नहुने जनाइएको छ।  

कोरोना भाइरसको संक्रमण रोक्न सुदूरपश्चिमका जिल्ला प्रशासन कार्यालय र स्थानीय तह आदेश जारी गरेका हुन्। जिल्लाका प्रशासनले संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरी निषेधको आदेश जारी गरेको जनाएका छन्।  

स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा कसैले कुनै काम गर्न लाग्दा वा कही केही वस्तु रहँदा वा कसैले राख्दा हुलदङ्गा भई शान्ति सुरक्षा भङ्ग हुने वा कसैलाई वाधा विरोध पर्ने वा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावना भएमा प्रमुख जिल्ला अधिकारीले कसैलाई कुनै काम गर्न दिनबाट निषेध गर्नसक्ने अधिकार दिएको छ। 

गौरा र तीज मनाउन रोक 

सुदूरपश्मिेलीहरुको मुख्य पर्व गौरा र हिन्दु नेपाली महिलाहरुको पर्व हरितालिका तीजलाई सामुहिक रुपमा मनाउन प्रदेशभरी रोक लगाएको छ।   प्रदेशका  नौँ वटै जिल्ला प्रशासन कार्यालयहरुले सामुहिक रुपमा गौरा तथा तीज मनाउन रोक लगाएका हुन्। सामुहिक रुपमा गौरा तथा तीज मनाउँदा कोरोना संक्रमण फैलिने सम्भावना भएकाले जनस्वास्थ्यका मापदण्ड पूरा गरी घरभित्रै चाडपर्व मनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

नित्य र घरायसी पूजाबाहेक सामूहिक रूपमा गौरा र तीज जस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिक रूपमा चाडपर्व मनाउन रोक लगाइएको छ।

यसअघि जिल्ला स्तरीय कोभीड १९ संकट व्यवस्थापन केन्द्रले पनि गौरा तथा तीज सामूहिक रुपमा नमाउन आग्रह गरेको थियो। प्रशासनले सूचना प्रकाशित गर्दै कोरोना भाइरसबाट बच्नका लागि सामूहिक रुपमा चाडपर्व नमाउन आग्रह गरेको हो।

कसैले सूचनाको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.