|

काठमाडौं : एकजना विद्यार्थी आशिष पौडेलले त्रिभुवन विश्वविद्यालय(त्रिवि) विज्ञान तथा प्रविधि अध्ययन संस्थान (डीन) को कार्यालयले अभियुक्त जोगाउन उत्तर पुस्तिका जलाएको आरोप लगाएका छन्। 

उनले अभियुक्तलाई जोगाउन डिन कार्यालय सक्रिय भएको भन्दै कारबाही मागसहित राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सूचना आयोगमा उजुरी हालेका छन्।  

त्रिविको स्नातकोत्तर प्रथम वर्ष प्रथम सेमेस्टरको पुरानो कोर्सको ‘क्‍वान्टम मेकानिक्स’ को विवादित परीक्षाको उत्तर पुस्तिका सर्वोच्च अदालतले सुरक्षित राख्न आदेश दिए पनि अटेर गरी त्रिविले जलाएपछि विहीबार उनले उजुरी हालेका हुन्। 

‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय १, परीक्षा सञ्चालक समितिको तर्फबाट डीन प्रा.डा. रामप्रसाद खतिवडा तथा भौतिकशास्त्र विषय स्थायी समितिको अध्यक्ष प्रा.डा. विनिल अर्याल समेतले सर्वोच्च अदालतमा लिखित जवाफ फिराउने क्रममा २०७५ पुस २९ मा संचालित भौतिकशास्त्र स्नातकोत्तर तहको क्‍वान्टम मेकानिक्स आई पिएचवाई ५०३ विषयको विवादास्पद  परीक्षाको उत्तर पुस्तिका नष्ट गरि सकिएको भनि जवाफ दिएको म निवेदकले नक्कल सारिलिएको भदौ ३ गते थाहा पाएँ, उनले उजुरीमा भनेका छन्, 'उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १२ अनुसार दण्डनीय रहेको हुँदा यो उजुरी गरेको छु।’ 

टुंगिएन त्रिविको ‘क्वान्टम मेकानिक्स’ परीक्षा विवाद, पुन: परीक्षा माग

पत्र अनुसार उक्त विवादास्पद परिक्षा सम्बन्धि उत्तर पुस्तिका लगायत परीक्षासँग सम्बन्धित सम्पूर्ण प्रतिवेदनहरू नधुल्याउनु, सुरक्षित रुपमा राख्न राष्ट्रिय सतर्कता केन्द्रले २०७६ असोज ३० गते र २०७६ कात्तिक २१ गते पत्र काटेर निर्देशन दिएको थियो।

राष्ट्रिय सूचना आयोगले च.नं ४१० २०७६ असोज १४ को पत्रमार्फत तथा आयोगकै इजलाशको निर्णय नं ३४४ मिति २०७६ चैत ६ गतेको आदेश मार्फत त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको नाउँमा आदेश समेत जारी भएको थियो। 

‘यसका बाबजुद विवादास्पद परीक्षासम्बन्धी प्रतिवेदन, उत्तर पुस्तिका तथा अभिलेखहरू धुल्याइएकाले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमको कसुरमा सजाय गरि पाउन उजुरी दिएको छु', उनले निवेदनमा भनेका छन्, 'उक्त कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ र दफा ९३ बमोजिम समेत वर्जित कार्यभित्र पर्ने हुँदा नियमानुसारको कारवाही गरि पाउँ भनि यो उजुरी दिएको छु।’

पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्‍न सोधिँदा पनि त्रिविले परीक्षा गराएको भन्दै पीडितले पुनः परीक्षा गर्नुपर्ने माग राख्दै आएका छन्। परीक्षा २०७५ पुस २९ गते भएको थियो। परीक्षामा ४५ पूर्णाङ्कको प्रश्नमा ४० नम्बरको प्रश्न पाठ्यक्रम बाहिरबाट सोधिएपछि विद्यार्थीले परिक्षा बहिष्कार गरेका थिए।

काठमाडौंको ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसको परीक्षा केन्द्रमा एकपटक वितरण गरिसकेको प्रश्नपत्र फिर्ता लिएर सोही प्रश्नपत्र वितरण गरी परीक्षा सुचारु गर्दा परीक्षाको गोपनीयता भंग हुने भन्दै परीक्षा बहिष्कारपछि विद्यार्थीले चरणबद्ध आन्दोलन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.