|

संखुवासभा : सदरमुकाम खाँदबारीमा रहेको आइसोलेसन तोडफोडपछि चोरी भएको खुलेको छ। बिहीबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेसन सामग्री गएराति तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ । 

हिमालय क्याम्पसमा रहेको आइसोलेसन तोडफोड र चोरी हुँदा १५ लाखका स्वास्थ्य सामग्रीमा क्षति भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन सुन्दरश्याम झाले जानकारी दिए। 
जिल्ला अस्पतालले हिमालय किरण क्याम्पसमा १० बेडको आइसोलेसन सेन्टर निर्माण गरेको थियो ।

जिल्ला अस्पतालले करिब १५ लाख रुपैयाँभन्दा बढीको सामग्री तोडफोेड र चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय संखुवासभामा उजुरी दिएको छ।

अज्ञात समूह÷व्यक्तिले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० पिपिई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडर लगायतका सामग्री चोरी गरेका अस्पतालले जनाएको छ। 

अस्पतालले करिब पाँच महिनाअगाडि सहमतिमा नै क्याम्पसमा आइसोलेसन निर्माण गरिएको थियो । तर गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेपछि क्याम्पस प्रशासनले नदिने भन्दै विरोध जनाएको हो । 

क्याम्पस प्रशासन र स्थानीयले जोखिम बढ्ने भन्दै आइसोलेसन प्रयोग गर्न नदिने भनेपछि बिहीबार जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठक गरिएको थियो। उक्त बैठकले तत्काललाई सोही क्याम्पसको आइसोलेसन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरे पनि क्याम्पस प्रशासनले असहमति जनाएको थियो। 

आइसोलेसन तोडफोड गर्ने अहिलेसम्म पक्राउ नपरेका  जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए।

सोमबार धर्मदेवी नगरपालिका–४ पिलुवाखोलामा क्वारेन्टाइनमा रहेका धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र २२ वर्षीय पुरुषमा कोरोना देखिएको थियो। त्यसपछि उनीहरुलाई बिहीबार क्याम्पसमा बनाइएको आइसोलेसनमा ल्याउन खोज्दा स्थानीयले विरोध गरेका थिए। 

अहिले कोरोना संक्रमित ३ जना बिरामीको हिमालय क्याम्पसमै उपचार गरिएको अस्पतालका प्रशासनले जनाएको छ । तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको छ । 

कोरोना पुष्टि भएको ४ दिनपछि मात्र उनीहरुलाई आइसोलेसनमा राखिएको हो। प्रहरीले चोरी र तोडफाडमा संलग्नको खोजी गरिरहेको जनाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.