|

काठमाडौं : आज पर्सा र चितवनमा गरी तीनजना कोरोना संक्रमितको ज्यान गएको छ। 

पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको गएराती र आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ। यससँगै वीरगञ्‍जमा अहिलेसम्म ३६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्‌।

प्रशासन कार्यालयका अनुसार दुवै जनाको वीरगञ्ज हेल्थ केयर (नारायणी कोभिड अस्पताल) मा मृत्यु भएको हो। ५८ वर्षीय पुरुषको भदौ ४ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो।  

चितवनस्थित पुरानो मेडिकल कलेजमा पनि गएराती हेटौंडाकी कोरोना संक्रमित महिलाको ज्यान गएको छ। उपचारका लागि भदौ ३ गते चितवन आएकी उनको बिहीबार राती मृत्यु भएको हो। अस्पताल आउनासाथ कोरोना संक्रमण भएरनभएको थाहा पाउन उनको स्वाब नमूना निकालिएको थियो।

मृत्यु भएपछि मात्रै सो स्वाब नमूना परीक्षणको रिपोर्ट आएको हो। उनको स्वाब परीक्षणका लागि चितवन मेडिकल कलेजमा पठाइएको थियो। तर , सो मेडिकल कलेजमा परीक्षण ल्याब हालै जडान गरिएकाले महिलामा कोरोना कोरोना संक्रमण देखिएपनि सो जानकारी सार्वजनिक गरिएको थिएन। त्यसपछि ती महिलाको स्वाब पुनस् भरतपुर कोभिड ल्याबमा परीक्षण गरिएको हो।

परीक्षण गर्दा ती महिला कोरोना संक्रमित नै रहेको पुष्टि भएको छ।  चितवनमा अहिलेसम्म पाँच जना कोरोना संक्रमितको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.