|

पर्सा : वीरगन्जका निजी अस्पतालमा कार्यरत एमबीबीएस चिकित्सकहरुले विभिन्न माग राखी सम्बन्धित पक्षलाई सात दिने अल्टिमेटम दिएको समय सोमबार सकिएको छ। 

सात दिन भित्र आफ्ना मागहरु सुनुवाई नभए सामूहिक राजीनामा दिने भनी एमबीबीएस चिकित्सकहरुले सम्बन्धित पक्षलाई सात दिने अल्टिमेटम दिएको सोमबार म्याद सकिएको हो । 

निजीका एमबीवीएस चिकित्सकहरुले कोरोना महामारीमा फ्रन्ट लाइन रहेर काम गर्दा पनि पारिश्रमिकदेखि सुरक्षा सतर्कताका सामग्री पनि अस्पतालहरुले उपलब्ध नगराएको भनी विभिन्न ५ सुत्रयि माग राखेर आन्दोलनमा उत्रिएका थिए। अहिलेसम्म यहाँका कुनै पनि निजी अस्पतालले सातदिने अल्टिमेटमको खासै सुनुवाई गरेका छैनन्। 

निजी अस्पतालहरुको तर्फबाट प्रदेश नम्बर २ को एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल अफिन) ले भने कोरोना महामारी सकिएपछि वार्ताको माध्यमबाट समस्याको समाधान गर्ने भनी जनाउ दिएको छ।

महामारी सकिएपछि बल्ल सेवा सुविधा बारे सम्वाद : अफिन 

महामारीका समयमा चिकित्सकहरुलाई दिनुपर्ने सेवा सुविधा महामारी सकिएपछि त्यो पनि सम्वादबाट समाधान गर्ने भन्नु लाचार जवाफ भएको आन्दोलित चिकित्सकहरुले बताए। ‘यस्तो सुनुवाइको कुनै अर्थ छैन्।’ 

सोमबार बेलुकासम्म कुनै पनि यहाँका निजी अस्पतालहरुले सकारात्मक प्रतिकृया नजनाएपछि सामूहिक राजीनामाको मनस्थितिमा नै रहेको आन्दोलित चिकित्सकहरुको गठित संस्था मेडिकल एशोसिएशन अफ वीरगन्जका डा तेजनाथ तिवारीले थाहाखबरसँग बताए। ‘हामीले नाजायज कुनै माग राखेका छैनौंं, उनले भने । 

यस्ता छन् माग

कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सकको २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बीमा, अस्पतालमा काम गर्दा क्वारेन्टाइनमा अस्पतालले नै सुविधा दिनु पर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार व्यक्तिगत सुरक्षा (पिपिई) लगायतका सामाग्री उपलब्ध गराउनु पर्ने, काम गर्ने क्रममा कोरोना संक्रमण भएमा अस्पतालबाट निशुल्क उपचार पाउनु पर्ने र १० बर्ष अगाडी देखिको न्युनतम २०⁄२५ हजारको पारिश्रमिक बढाएर ६५ हजारसम्म पुर्याउनु पर्ने आफ्ना पाँच सूत्रिय मागहरु रहेको डा तिवारीले बताए । 

केही अस्पतालको संवादका लागि संकेत

निजीका डेड सय जति चिकित्सकहरूका माग पूरा गरियोस् भनी सात दिन पहिले हामीले सम्बन्धित पक्ष समक्ष मागहरु अगाडी सारेका थियौं। अहिलेसम्म खासै सुनुवाई भएको छैन डाक्टरहरुले भने। सोमबार बेलुकासम्म खासै सुनुवाई थिएन। तर अहिले केही निजी अस्पताल संचालकले भने बसेर कुरा गरौं भन्नु थाल्नु भएको छ मेडिकल एशोसिएशन अफ वीरगन्जका अध्यक्ष डा सरोज साहले भने।

आश्वासन आएकोले पहिले बसेर कुरा गर्ने त्यसपछि अस्पताल संचालकहरु सकारात्मक नभए सामूहिक राजीनामा हाम्रो बटम लाइन हो उनले थपे। ‘सम्वाद र निष्कर्षका लागि चिकित्सक जहिले पनि सकारात्मक छौं। तर अस्पताल संचालकहरु पनि उस्तै सकारात्मक त भइदिनु पर्‍यो नि? डा. साह भन्छन्, ‘उहाँहरु सकारात्मक नभए त्यसपछि हामी त विकल्पमा जान सक्छौं।’

माग प्रति नेपाल चिकित्सक संघ सकारात्मक 

अस्पताल प्रशासन, चिकित्सक संघ, जिल्ला प्रशासन कार्यालय लगायतका ठाउँमा गएको भदौ १ गते निजीमा काम गर्ने मेडिकल अधिकृत (चिकित्सक) हरुले २ गते देखि गणना हुने गरी आफ्ना माग सार्दै सम्बन्धित पक्षलाई अल्टिमेटम दिए। 

उनीहरुले आफ्ना माग नेपाल चिकित्सक संघ नारायणीको वीरगन्ज शाखामा पनि दिएका थिए। त्यो मागका बारेमा नेपाल चिकित्सक संघले समर्थन गरेको छ। नेपाल चिकित्सक संघले गएको साउन ७ गते आइतबार लिखित रुपमा नै आन्दोलित चिकित्सकहरुलाई समर्थन गर्दै संघले विज्ञप्ती पनि सार्वजनिक गरेको थियो। सो सार्वजनिक विज्ञप्तीमा सम्बन्धित पक्षले अविलम्ब एमबीबीएसका चिकित्सकको माग सम्बोधन गर्न भनिएको छ। 

वर्तमान विषम परिस्थितिमा फ्रन्टलाइनमा रहेर सेवा दिने चिकित्सकहरुको माग सम्बोधन हुनु पर्छ भन्ने संघको पनि अनुरोध रहेको नेपाल चिकित्सक संघ नारायणीको वीरगन्जका सचिव डा उदय नारायण सिंहद्वारा जारी विज्ञप्तीमा उल्लेख नै गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.