|

काठमाण्डौ : पाँचवटा एकल अध्याय सार्वजनिक गरिसकेपछि,  सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परिवर्तन’ लाई पब्लिकेसन्स नेपालयले आफ्नो पहिलो ‘ई-बुक’को रुपमा सार्वजनिक गरेको छ।

निबन्ध संगालोका रुपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको छ। यस पुस्तकले नेपाली समाजलाई गरिबीको शिकार बनाई राख्ने रोगहरूको स्वभाव खोतल्दै तिनलाई निदान गर्न केही कदम अगाडि बढ्नु पर्ने तर्फ चर्चा गरेको छ। साथै यस्ता सामाजिक समस्या उन्मूलनका लागि समाधानका नवीन उपायहरू सुझाएको छ। यो पुस्तक शाक्यको चौथो पुस्तक हो; नेपाली भाषामा भने उनको यो दोस्रो पुस्तक हो।

‘एकल अध्याय सार्वजनिक गरेपछिको प्रतिक्रिया उत्साहजनक रह्यो’, नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन्, ‘धेरै पाठकहरूका निम्ति भर्चुअल मञ्च अंगाल्ने तर्फको यो व्यवहारिक छलाङ भएपनि, हामीले ‘प्राइमरी ई-बुक’ प्रकाशनलाई उत्साहजनक प्रयत्‍नका रुपमा लियौं। एकल अध्यायहरू सार्वजनिक गर्दा र अन्य पुस्तकहरूको ई-बुक संस्करण प्रतिको पाठक रुचीले, नेपाली पुस्तक बजार ई-बुकको निम्ति तयार रहेको इंगित गरेको छ।’

नेपालयले आफ्ना सबै प्रकाशनहरू नियमित परम्परागत मुद्रण-माध्यमका साथै अन्य वैकल्पिक माध्यम मार्फत् पनि उपलब्ध गराउँदै आएको छ। फलस्वरुप नेपालयका सबै पुस्तकहरू अमेजन, बार्न्स एण्ड नोबल नेटवर्क मार्फत् विश्वव्यापी रुपमा उपलब्ध छन्। किताबका अंग्रेजी संस्करण विद्युतीय माध्यम किन्डलमा पनि उपलब्ध छन्। 

‘हामी उत्साहजनक साथै अनिश्चित समयमा बाँचिरहेका छौं,’ पुस्तकको पृष्ठभूमिसँग जोड्दै लेखक शाक्यले ,‘समयसँगै चलायमान रहनका निम्ति सही उपाय भनेकै सकारात्मक परिवर्तनहरूलाई अँगाल्दै अघि बढ्नु  हो भन्दै नेपाल लोकतान्त्रिक संघीय प्रणालीमा रूपान्तरण हुने बित्तिकै हामीले विकासको मूल्यांकन र समृद्धिका लागि कम्मर कसेर लाग्नु पर्ने समय आएको बताएका छन्।

कोरोना महामारीले गर्दा सार्वजनिक कार्यक्रमहरू प्रभावित भएका छन्।  तिनले वैकल्पिक बाटो खोजेका छन्। यही अवस्थालाई ध्यानमा राखेर नेपालयले पुस्तक सार्वजनिक गर्ने प्रत्यक्ष कार्यक्रमको विकल्प स्वरुप युट्युव च्यानलमा पुस्तक वार्ताको थालनी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.