२४ घण्टामा रिहाई नगरे सशक्त आन्दोलनको चेतावनी

|

सोलुखुम्बु : प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिना सर्त रिहाइ गर्न माग गर्दै नेपाली कांग्रेस सोलुखुम्बुले धर्नासहित नारा जुलुस गरेको छ।

गत आइतबार सोलुदूधकुण्ड नगरपालिका ११ रमितेमा ड्युटीमा रहेका प्रहरी टोलिमाथि रक्सी खाएर हातपात गरेको आरोपमा पक्राउ परेका तरुणदलका नेता कार्यकर्ता सहित ६ जनालाई रिहा गर्न माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना सहित नाराजुलुस गरिएको हो।

धर्ना तथा जुलुसमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेत, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा सहितका व्यक्तिहरु सहभागी थिए। उनीहरुले आफ्ना कार्यकतालाई झुटा आरोप लगाएर फसाइएको, हिरासतमा यातना दिइएको लगायतका आरोप समेत लगाएका छन्।

फरक पार्टीको सरकार भएकाले कांग्रेसलाई नियोजित ढंगबाट फसाउन खोजिएको भन्दै प्रहरी, प्रशासनसमेत एकपक्षीय रुपमा अघि बढेको कांग्रेसको आरोप प्रहरीका अनुसार रमितेको एक होटलमा जाँडरक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउन पुगेका प्रहरी टोलीमाथि उनीहरुले एक्कासि हातपात गरेपछि पक्राउ गरिएको हो।

ती युवाहरुले प्रहरी सहायक निरीक्षक सरयुग महतोले भिरेका सिठीको कडीसमेत चुँडाइदिएका प्रहरीको दाबी छ। साथै उनीहरुले ती प्रहरीलाई लडाएर लात्ती, मुक्का र क्यान बियर प्रहार गरेर घाइते बनाएका प्रहरी नायव उपरीक्षक टेकुनन्द इवा लिम्बूले बताए।

पक्राउ परेका व्यक्तिहरुको विषयमा सत्य तथ्य अनुसन्धान गरी कानुनी प्रकृया अघि बढाइने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले बताइन्। सोमबार आरोपित विरुद्ध जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा अभद्र व्यवहारमा मुद्दा दर्ता गरि १० दिनको म्याद थप गरि अनुशन्धान भईरहेको प्रहरीको भनाई छ।

तर यता नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बस्नेतले भने २४ घण्टाभित्र निर्दोष आफ्ना कार्यकर्ता रिहा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
सर्वसाधारण नागरिकले भने यस्ता घटनालाई राजनीतिकरण गर्नुभन्दा पनि सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.