छोराको जन्मदर्ता नहुँदा उद्धारमा समस्या

|

ओखलढुङ्गा : मोलुङ गाउँपालिका–८, राँगादिपकी एक महिला वर्षौंदेखि मलेसियामा अलपत्र परेकी छन्। उनको मानसिक सन्तुलन गुमेको बताइएको छ।

ओखलढुङ्गा एकता सेवा समाज मलेसियाले नेपाल पठाउन खोजे पनि उनको साथमा रहेको बच्चाको जन्मदर्ता लगायतको कुनै प्रमाण नभएपछि इमिग्रेसनले अनुमति नदिएको मलेसियाबाट हिराबहादुर थापाले बताए। ती महिलाको साथमा करिब सात वर्षको छोरा रहेका छन्। पना राई नाम बताउने उनको अवस्था एकदमै दयनीय रहेको थापाले बताए। थापाले कागजी प्रक्रियाका लागि नेपाल सरकारले सहयोग गरे मलेसियाबाट उनलाई पठाउन बन्दोबस्त गर्ने बताएका छन्।

आमा बच्चा मलेसियाको क्वालालम्पुरस्थित सुवाङ पार्कको छाप्रोमा छ महिनादेखि बस्दै आएको बताइएको छ। मलेसियाको लागि नेपाली राजदूतावासका अनुसार लकडाउनअघि नै दूतावासले दिएको आश्रयस्थल छोडेर उनी हिँडेकी थिइन्। ती महिलाले छोराको बुवा र नेपालको घरको ठेगाना नबताउँदा स्वदेश पठाउने कागजात बनाउन नसकिएको दुतावासको भनाइ छ।

ती महिला मोलुङ–८ का विष्णुबहादुर राईकी कान्छी छोरी भएको वडाध्यक्ष हरिकुमार राईले बताए। वडाध्यक्ष राई अनुसार ती महिलालाई गाउँमा बोलाउने नाम पिन्तुमा भएको र उनी १० वर्षअघि वैदेशिक रोजगारीमा गएका हुन्। उनको बुवाआमा दुवै बितिसकेका छन्। उनका दाजु समेत करिब १० वर्ष मलेसिया बसेर हालै फर्किएका छन्। बिना कमाई फर्किएपछि दाजुको आर्थिक अवस्था समेत नाजुक रहेको वडाध्यक्ष राईले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.