|

पाल्पा : तानसेन नगरपालिका–१३ बौघागुम्हास्थित ऐतिहासिक पर्यटकीय स्थल रानीमहल  यतिबेला सुनसान छ। दैनिक सयौं पर्यटकको चहलपहल हुने यस क्षेत्र कोरोना भाइरसको महामारीका कारण सुनसान बनेको हो। 

लकडाउनका बेला रानीमहललाई सिँगारिएको छ। भित्तामा सेतो रंग गरिएको छ। त्यसैले विगतभन्दा पृथक स्वरुपमा देखिएको छ रानीमहल। यसअघि नीलो र सेतो रंग लगाइएको थियो। अहिले सेतो रंग मात्र लगाइएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए। बेलायती मोडलका दरबारमा सेतो रंग लगाइएकाले यसको ऐतिहासिकता बचाउन पछिल्लो समय सेतो रंग मात्र लगाइएको उनले बताए। यो रानीमहल बेलायती मोडलको दरबार भएको शाहीको भनाइ छ।

‘निर्माणकालमा यो दरबार सेतो रंगको नै थियो। बीचमा रंग परिवर्तन गरेर नीलो र सेतो लगाइयो,’ उनले भने, ‘करिब २० वर्षपछि सेतो रंग लगाएर पुरानै अवस्थाको स्वरुपमा दरबारलाई देखाउने प्रयास गरेका छौं।’ नगरप्रमुख शाहीका अनुसार विज्ञहरूले दिएको सुझावका आधारमा रंग परिवर्तन गरिएको हो। तानसेन नगरपालिकाले विनियोजन गरेको ४० लाख बजेटबाट रानीमहलमा सेतो रंग लगाइएको हो। सोही बजेटमध्येबाट व्यवस्थित शौचालयसमेत बनाइने उनले बताए। तानसेनदेखि रानीमहल जाने सडकको बाँकी भाग पिच गर्ने काम भइरहेको छ। यसअघि अहलसम्म सडक पिच गर्ने काम सकिएको छ। 

रानीमहलको ऐतिहासिकता 

धीर शमशेरका १७ भाइ छोरामध्येका एक भाइ वीर शमशेरको प्रधानमन्त्रीत्व कालमा उनका भाइ खड्ग शमशेर कमाण्डर चिफ भएको १८ महिनापछि पदच्यूत भई पाल्पामा निर्वासित गरिएका थिए। वि.सं. १९४५ मा उनलाई रुपन्देही, कपिलवस्तु, बाग्लुङ र पर्वतलगायतका क्षेत्रको जिम्मेवारीका साथ पाल्पाको गौडामा पश्चिम कमाण्डर जनरलको रुपमा बस्ने अनुमति उनलाई दिइएको थियो।

वि.सं. १९४९ मा आफ्नी अत्यन्त प्रिय रानी तेजकुमारी देवीको मृत्युको समयमा भाव विह्वल भएका खड्ग शमशेरले रानीसँगै उनको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहलजस्तै बगैंचासहितको दरवार निर्माण गर्ने अन्तिम वचन दिएका थिए। आफ्नो रानीको सम्झनामा भारतमा रहेका बेलायती इन्जिनियर झिकाई पाँच वर्ष लगाएर वि.सं. १९५४ मा निर्माण पूरा गरिएको यस दरबारलाई नेपालको ताजमहलको रुपमा पनि चिनिन्छ। 

उत्तरतर्फ वुर्जाको जग कालीगण्डकी नदीको किनारबाटै रहेको यस दरबारमा २४ कोठा, दुईवटा पोखरी, मन्दिर, बगंैचा, पाटी, तबेला साथै भक्तिनीहरु बस्ने स्थान समेत रहेको छ। कालीगण्डकीको तीरमा भिरालो चट्टानमाथि पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा दरबार निर्माण गरिएको छ। तानसेन बजारदेखि १३ किलोमिटरको दूरीमा रानीमहल रहेको छ।

तानसेन बजारबाट यहाँ जाने बाटोबीचमा दुईवटा पुल, अवल, वैकुण्ठे झरना, हात्ती ढुंगा र वि.सं. १९९० मा निर्मित छेर्लुङसम्म पुर्याइएको दुईवटा कुलो पर्दछन्। यस दरबारमा स्याङ्जाको मिर्मी, विर्घा, वइघा र सटुका हुँदै जान सकिन्छ। जुन बाटोबाट हुँदै खड्ग शमशेरले दरबारसम्म हात्ती समेत ल्याएको बताइन्छ।

रानीमहल २०७५ साउन १० मा नेपाल सरकार पुरातत्त्व विभागबाट तानसेन नगरपालिकालाई हस्तान्तरण भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.