कैलालीका मात्रै १३ सय बढी संक्रमित डिस्चार्ज

|

डडेल्धुरा : सुदूरपश्चिममा हालसम्म १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कैलालीका ६, अछामका ४ तथा बाजुरा र बझाङका दुई–दुई जना संक्रमितको मृत्यु भएको छ। त्यसमध्ये ३ जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना देखिएपछि आत्महत्या गरेका हुन्। 

बुधबार मात्रै सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। 

मंगलबार साँझसम्म उनको धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार भइरहेको थियो भने कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो। सुदूरपश्चिममा कोरोना संक्रमितको यो १४औं मृत्यु हो। 

मंगलबार मात्रै साउन ३२ गते मृत्यु भएका कैलालीकै पुरुषमा पनि कोरोना पुष्टि भएको थियो। काम गर्न कैलालीको मोहन्याल गाउँपालिकामा–३ का ४९ वर्षीय पुरुष साउन ३२ गते बेहोस भएका थिए। अचेत अवस्थामा रहेका उनलाई त्यहाँबाट उपचारका लागि तराई ल्याउँदै गर्दा मोहन्यालमै मृत्यु भयो। भदौ १ गते दाहसंस्कार गर्नुअघि बर्दगोरिया गाउँपालिकाको स्वास्थ्य शाखाले स्वाब संकलन गरेकोमा मंगलबार कोरोना पुष्टि भयो।

प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु जेठ १८ गते भएको थियो। बाजुराकी २ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो। आमाबुबासँग भारतको नयाँ दिल्लीबाट आएकी २ वर्षीया बालिकामा ज्वरो आएपछि श्वासप्रश्वासमा समस्या बढेको थियो। उनकी आमामा समेत संक्रमण देखिएको थियो। 

सुदूरपश्चिममा जेठ २४ गते कोरोना भाइरसले दोस्रो मृत्यु भयो। धनगढी उप–महानगरपालिका–४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो। उनमा पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालस्थित डायलासिस वार्डमा मृत्यु भएको थियो। अन्तिम संस्कार गरेपछि मात्रै उनलाई कोरोना संक्रमण भएको थाहा लागेको थियो।

असार ३ मा कोरोना भाइरसको संक्रमणले कैलालीमा दोस्रो र सुदूरपश्चिममा तेस्रो मृत्यु भयो। कैलालीको लम्कीचुवा नगरपालिका–२ की ४३ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो। उनलाई न्यूरोसम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो। शल्यक्रिया गर्नुअघि कोरोना परीक्षणका लागि उनको स्वाब पठाइएकोमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। 

सोही दिन कैलालीका थप एक जनाको कोरोनाका कारण मृत्यु भयो। जिल्लाको गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुषको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थियो। उनमा भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो।  धनगढीको नवजीवन अस्पतालमा भर्ना हुँदा उनमा संक्रमण पुष्टि भएको थियो भने त्यसपछि मात्रै उनलाई सेती अस्पतालमा लगिएको थियो। उनी यातायात व्यवसायी थिए। 

असार १३ गते कैलालीकै थप एक जनाको कोरोना भाइरसका कारण मृत्यु भयो। क्यान्सर पीडित कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको थियो। फोक्सोका क्यान्सरको उपचार गराइरहेका उनमा पनि मृत्युअघि नै कोरोना पुष्टि भएको थियो। 

असार १६ गते कोरोना भाइरसको संक्रमणबाट अछाममा पहिलो मानवीय हताहती भयो। चार दिन क्वारेन्टाइनमा बसेर घर फर्किएको एक हप्तापछि अछाम, रामारोशन गाउँपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो। बयलपाटा अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको थियो। उनी भारतबाट आएका थिए। 

साउन १३ गते कोरोनाले बझाङमा पहिलो मृत्यु भयो। बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको थियो। उनको साउन ९ गते नै घरमा मृत्यु भएको थियो भने त्यसपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।  

साउन २५ गते अछामको चौरपाटीका ५० वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो। मृत्यु हुनुभन्दा पहिले नै स्वाब संकलन गरेपनि मृत्युको दुई दिनपछि मात्रै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।  साउन २९ गते अछामका थप एक जनाको कोरोना भाइरसका कारण मृत्यु भयो। रामारोशन गाउँपालिका–५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी मुटुरोगबाट ग्रसित थिए।  

सुदूरपश्चिममा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या पनि गरेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिका ७ मा रहेको लामागाडा प्राविमा बनाइएको क्वारेन्टाइनमा बस्दै आएका एक युवकले असार तेस्रो साता आत्महत्या गरेका थिए। खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका हुन। 

जेठ १९ गते भारत वाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए। त्यहाँ रहेका २५ जनामध्ये कोरोना चेकजाँच गर्दा पाँच जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पीसीआर गर्दा उनको मात्र पोजेटिभ देखिएको थियो। कोरोना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन्। सुदूरपश्चिममा क्वारेन्टाइनमै आत्महत्या गरेका थप एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो। बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको थियो। मृत्युपछि आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको थियो। 

बडिमालिका नगरपालिका–२ माझिगाउँका ४५ वर्षीय पुरुषले जेठ ३० गते शुक्रबार क्वारेन्टाइनमा आत्महत्या गरेका थिए। उनी जेठ २८ गते भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका थिए।  क्वारेन्टाइनमा बसेका बेला आत्महत्या गरेका थप एक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको थियो। अछाम घर भएका ४३ वर्षीय पुरुष भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ पुगेका थिए।

आफन्तले क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए। उनलाई बाटोमा अचेत अवस्थामा फेला पारेपछि ठाकुरबाबा नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो। त्यसपछि उनले क्वारेन्टाइनमै आत्महत्या गरेका थिए भने मृत्युपछि कोरोना पुष्टि भएको थियो।

प्रदेशभर कोरोना जित्नेको संख्या ४ हजार ५८९ 

सुदूरपश्चिममा कोरोना मुक्त भएर थप एक सय ८९ जना डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहको आइसोलेसनबाट उनीहरुलाई कोरोना जितेको भन्दै घर पठाइएको हो।

तीमध्ये बझाङका १ सय ६६ जना, कैलालीका १५ जना, कञ्चनपुर र डोटीबाट चार–चार जनालाई डिस्चार्ज गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।

उनका अनुसार योसँगै सुदूरपश्चिममा कोरोना जित्नेको संख्या चार हजार पाँच सय ८९ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार तीन सय ३१ जना संक्रमित डिस्चार्ज भएका छन्।

अछामका सात सय १३,  कञ्चनपुरका पाँच सय ८५, डोटीका पाँच सय ८० र बाजुराबाट चार सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। बैतडीबाट तीन सय २२, डडेल्धुराबाट दुई सय ९९, बझाङबाट दुई सय ७६ र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस अर्थात संक्रिय संक्रमित ८ सय ६८ रहेका छन्। संक्रमण पुष्टि भएका र लक्षण देखिएका ८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

महाकाली अस्पतालमा ३२, टीकापुर अस्पतालमा २४, सेती प्रादेशिक अस्पतालमा १९, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई÷दुई जना संक्रमितको उपचार भइरहेको छ। अन्य संक्रमित भने स्थानीय तहको आइसोलेसन र घरमै रहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.