|
फाइल फाेटाे

डडेल्धुरा : सुदूरपश्चिमका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार डडेल्धुरा अस्पताल, सेती प्रादेशिक अस्पताल र जिल्ला अस्ताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका थप ३६ जनामा कोरोना संक्रमण देखिएको हो।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३४८ जनाको कोरोना परीक्षण गरिएकोमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।

बैतडीको दशरथचन्द नगरपालिकाका ८ जना, शिवनाथ गाउँपालिकाका पाँच, मेलौली नगरपालिकाका तीन र डिलाशैनी गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुषालले जानकारी दिए।

उनका अनुसार डोटीको जोरायलका एक र बझाङको जय पृथ्वी नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। यस्तै सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ९२ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १२ जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीको गोदावरी नगरपालिकाका नौ र धनगढी उपमहानगरपालिकाका तीन जनामा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

धनगढीमा पाँच वर्षीया बालिका, २९ वर्षीया महिला र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। गोदावरी नगरपालिका ३ का दुई वर्षीया बालिका, २२ र ३६ वर्षीया महिला तथा अन्य ६ जना पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यसैगरी डोटी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८१ जनाको कोरोना परीक्षण भएकोमा पाँच जनामा संक्रमण पुष्टि भएको छ। उनीहरू सबै डोटीका हुन्।

जिल्लाको शिखर नगरपालिका–४ का चार जना र वडा नम्बर ३ का एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६९४ पुगेको छ। संक्रमण पुष्टि भएका चार हजार सात सय बढीले कोरोना जितेका छन्। यहाँका १४ जना संक्रमितले ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.