|

भद्रपुर : झापा गाउँपालिकामा गौहत्यापछि बल्झिएको विवाद साम्य भएको छ। विवादको क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर मृत्यु भएका ३८ वर्षीय रसिफुल आलमको परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने सहमतिपश्चात् विवाद साम्य भएको हो।

पीडित पक्ष र झापा गाउँपालिका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष  कुन्तीदेवी बुढाथोकीको उपस्थितिमा बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय झापामा बसेको बैठकमा सातबुँदे सहमति भएको छ। सहमतिपश्चात् पीडित पक्षले आलमको शव बुझ्नुका साथै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका जनाइएको छ।

झापा प्रशासन र पीडित पक्षबीच भएको सहमतिअनुसार रकम उपलब्ध गराउन संघीय तथा प्रदेश सरकारलाई आग्रह गर्ने, तत्काल झापा गाउँपालिकाले मृतकका परिवारलाई काजक्रियाका लागि ५० हजार रुपैयाँ दिने, गृह मन्त्रालयले समेत घटनाको यथार्थ बुझ्न छानबिन समिति गठन गरिसकेकाले त्यस समितिलाई सहयोग गर्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरिने छ। 

यस्तै मृतकका परिवारलाई रोजगारी र छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्थापन मिलाउन सङ्घीय तथा प्रदेश सरकारलाई आग्रह गर्ने, शुक्रबार पोस्टमार्टमपश्चात् आलमको शव बुझ्ने, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने लगायत विषयमा सहमति भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए।

पीडित पक्षले सहिद घोषणासहित ११ बुँदे माग राखेका थिए। तर, छलफलमा सहिद घोषणा नहुने बताएपछि सहमति जनाइएको थियो। यता बाछो मारेका आरोपीहरू सोही गाउँपालिका ३ कटुवामारीका ५२ वर्षीय अब्दुल आलम र सोही ठाउँका ५० वर्षीय ताजबुल आलमलाई बुधबार राति नै जनप्रतिनिधिको रोहबर छाडिएको थियो।

आलमद्वयलाई छाडे पनि पीडित पक्षले विभिन्न माग राख्दै बिहीबार बिहान झापा गाउँपालिका ३ स्थित कामाटोलीमा सडक अवरोध गरी टायर बालेर प्रदर्शन गरेका थिए।

इलाका प्रहरी कार्यालय कुमरखोदले बाछो काटेको आरोपमा मङ्गलबार दिउँसो आलमद्वयलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका उनीहरुलाई छाड्नु पर्छ भन्दै स्थानीयले बुधबार साँझ सुरक्षाकर्मीमाथि नै आक्रमण गरेका थिए।

सो क्रममा उनीहरुले सशस्त्र प्रहरीको गाडी तोडफोड गरेका थिए। गाउँलेले प्रहरीमाथि आक्रमण गरेपछि स्थितिलाई सामान्य बनाउन प्रतिकारमा प्रहरीले गोली चलाएको थियो । दुई वटा गोली ढाडमा लागेका आलमको उपचार क्रममा बुधबार राति नै बिएण्डसी हस्पिटलमा मृत्यु भएको थियो।

यो पनि पढ्नुहोस्

 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.