'छ भने दिएर जानुस्, छैन भने लिएर जानुस्'

|

काठमाडौं : कोरोनाले अस्तव्यस्त बनाएको आम जनजीवन लकडाउनकै कारण भोकमरीको चपेटामा छ। गुमेको रोजगार र कोभिड-१९बाट जोगिन लामो समयदेखि भइरहेको लकडाउनले भोक मेट्ने दुई गाँस र जिन्दगी सहज हुने विश्वास कम्तीमा अहिलेको लागि सहज छैन।

 गएको चैत १० गतेबाट सरकारले कोरोनाविरुद्धको अभियानमा देशभर लकडाउन जारी गर्‍यो। करिब १ सय २० दिन लामो लकडाउनले आम जनताको जनजीवनमा उथलपुथल ल्याइदियो। सरकारले राहत दिने घोषणा पनि गर्‍यो। विभिन्न संस्थाले राहतका अनेक प्रयास जारी राखे। सरकारले लकडाउन खोल्यो। कोरोना संक्रमितको जोखिम बढ्दै गएपछि देशका विभिन्न जिल्ला तथा शहरहरूमा पुन: लकडाउन र निषेधाज्ञा जारी छ। यो क्रम कहिलेसम्म हुन्छ? यसै भन्न सकिने अवस्था छैन।

 तर, लकडाउन र निषेधाज्ञाका कारण गरिब जनताले भोकै बस्न नपरोस् भन्ने हेतुले पोखराका केही युवाले 'फूड सेन्टर' कार्यक्रम सुरुवात गरेका छन्। संयोजक क्षितिज सापकोटा रहेको उक्त कार्यक्रम पोखराका विभिन्‍न स्थानमा उक्त राहत कार्यक्रम जारी राखेका छन्। बुधबारबाट सुरु भएको उक्त कार्यक्रम लकडाउन जारी भएसम्म सञ्चा‍लन हुने उनले बताए।पोखराका स्थानीय विशाल तामाङ, संजय जैशी, विदुर सापकोटा, दिनेश सापकोटा, विपिन भट्टराई , विकास क्षेत्री, विनय कार्की, विजय अधिकारी , दीपक पुरी,मदन भुल, शिवम शाह, विवेक मैनाली,सुशीला क्षेत्री,सविता शर्मा, सुजन बास्तोला, मदन ढकाल लगायतको टोलीले यो कामको सुरुवात गरेका हुन्।

सामूहिक प्रयासमा बुधबार पोखराको व्यस्त चोकअन्तर्गत पर्ने पृथ्वीचोक, बिहीबार पृथ्वीनारायण क्याम्पस र शुक्रवार आज अन्तर्राष्ट्रिय माउन्टेन म्युजियम चोकमा यो कार्य जारी राखिएको छ। 'महामारीमा तपाईसँगै हामी' मूल प्रवृष्टिका रूपमा सञ्चा‍लन गरिएको राहत कार्यक्रममा जसलाई आवश्यक छ,त्यसले बिना कुनै हिचकिच्याहट कम्तीमा अत्यावश्यक एक पोका सामान लैजान पाउनेछन्।

 उक्त राहत प्याकेजमा चाहिनेले लैजाने र मन लाग्नेले सामाग्री राखिदिने व्यवस्था मिलाएको सापकोटाले उल्लेख गरे। 'सुरुवातमा हामी साथीहरू मिलेर ३ सय प्याकेट दैनिक भान्सामा आवश्यक पर्ने सामग्री राखेका थियौं। विस्तारै लैजाने र त्यहाँ सहयोग गर्ने थपिनुभयो', उनले भने, 'आजसम्म कम्तीमा ९ सय परिवारले आफूलाई चाहिएको सामग्री लिएर जानुभएको छ।'

अहिले देशभर विभिन्‍न क्षेत्रमा युवाहरूको सक्रियतामा यस्ता कार्य भइरहेका छन्। सापकोटा भन्छन्, 'सरकार मातहत तथा संस्थागत राहत कार्यक्रममा असमान राहत वितरण भयो। बरु घुम्ती राहत गर्दा जसलाई जुन सामाग्रीको अभाव छ। त्यो लिएर जान्छन्।' उनीहरूको राहत प्याकेजमा चामल-२ केजी, चिनी-१ केजी, नुन -१ केजी, तेल -आधा लिटर, दाल -१ केजी, चिउरा- १ केजी रहेको छ। 'हरेक व्यक्तिको घरमा सबै सामग्री एकैपटक सकिएको हुँदैन।

 कम्तीमा एक परिवारको घरले एक सामान लैजाने व्यवस्था मिलाउँदा कम्तीमा सानो लगानीमा राहतको पहुँच आम मानिससम्म पुग्‍न सक्छ', सापकोटाले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.