|

जनकपुरधाम : प्रदेश २ मा शुक्रबार ७९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै प्रदेश २ मा संक्रमितको संख्या ९ हजार ६ सय ३० पुगेको छ। 

सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवका अनुसार पछिल्लो २४ घण्टामा ३१ महिला र ४८ पुरुषमा कोरोना पुष्टि भएको छ। सबैभन्दा बढी रौतहटमा २० जना संक्रमित थपिएका हुन्। 

यस्तै धनुषामा १९ जना, महोत्तरी र सर्लाहीमा १३÷१३ जना, सप्तरीमा ६ जना, बारामा ५ जना, सिरहामा २ जना र पर्सामा १ जना थपिएका छन्। धनुषमा थपिएकामध्ये स्पर्श नेपाल नामक संस्था, कमला सिँचाइ व्यवस्थापन कार्यालय र स्वास्थ्य कार्यालयका १÷१ जना छन्। यस्तै महोत्तरीका संक्रमितमध्ये जिल्ला प्रहरी कार्यालयका २ जना र गौशलास्थित त्रिमाविका ७ जना छन्। रौतहटको किस्ट हस्पिटलका २ कर्मचारीमा समेत संक्रमण पुष्टि भएको छ।

मृतकको संख्या ७७ पुग्यो

प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ। पछिल्लो २४ घण्टामै एक महिलासहित ५ जनाको मृत्यु भएको छ। महोत्तरीमा एकैदिन ३ जनाको मृत्यु भएको मन्त्रालयका वरिष्ठ चिकित्सक डा. यादवले जानकारी दिए। उनका अनुसार महोत्तरीको मनरा सिसवा १ का ३७ वर्षीय पुरुष, मनरा सिसवा ५ का ७४ वर्षीय पुरुष र भंगहा नगरपालिका २ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ।

यस्तै बाराको जितपुर–सिमरा उपमहानगरका ७७ वर्षीय एक पुरुष र सिरहाको लहान नगरपालिका ९ का ६५ वर्षीया महिलाको कोरोनाले ज्यान लिएको छ। योसँगै मृतकको संख्या पर्सामा ३०, महोत्तरीमा ६, धनुषामा १२, सिरहामा ५, सप्तरीमा ५, सर्लाहीमा ३, रौतहटमा ३ र बारामा १३ पुगेको छ।

सिरहामा शव व्यवस्थापनमा अवरोध

सिरहाको सुखिपुर नगरपालिका ८ का अन्दाजी ६० वर्षीय पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको थियो। कोरोनाले मृत्यु भएका उनको शव आज बिहान सुखिपुर ल्याइएको थियो। 

तर शव व्यवस्थापनमा स्थानीयले अवरोध गर्दा नेपाली सेना समस्यामा परेको छ। सुखिपुर नगरपालिका–८ मै पर्ने गागन नदीमा शव व्यवस्थापन गर्दा स्थानीयले अवरोध गरेका मृतकका आफन्त प्रदीप यादवले जानकारी दिए। 

उनका अनुसार अवरोधका कारण बिहान १० बजे आएको शव अझै व्यवस्थापन गर्न सकिएको छैन। अवरोधपछि सुखिपुरका मेयर रामऔतार यादव र सिरहाका एसपी समेत त्यहाँ पुगेका छन्। तर स्थानीयले कुनै हालतमा शव व्यवस्थापन गर्न नदिने बताइरहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.