|

दमक (झापा) : वीरगञ्जको डेढ महिनाको बसाई पूरा गरी तारानाथ दंगाल झापा आउने तयारीमा थिए। कोरोना संक्रमण दर उच्च भएको ठाउँबाट घर पायक रहेको कार्यालयको प्रमुख भएर जाँदै गर्दा ढुक्क हुन उनले साउन २६ स्वाब परीक्षणका लागि पनि दिएका थिए।

मालपोत कार्यालय दमकको प्रमुखको रुपमा बढुवासहितको सरुवा भएर जाँदै गर्दा उत्साहित भएका उनले चार दिनसम्म पनि रिपोर्ट नआएपछि सरुवा भएको कार्यालयमा हाजिर हुन जाने तयारी गरे। साउन ३० मा दमक आइपुगेका उनी रिपोर्ट नआएकाले ढुक्क थिएनन्। 

‘मलाई कुनै लक्षण थिएन, खोकी, ज्वरो केही थिएन तर पनि ढुक्क हुन स्वाब दिएकाले घर आएर पनि कतै बाहिर गइनँ,’ उनले भने, ‘तर केही साथीहरु घरैमा भेट्न चाहिँ आए।’ घरबाहिर नगए पनि श्रीमती तथा छोरासँग भने उनी साथमै रहे।

भदौ ३ मा उनले आफूसँगै स्वाब दिएकाहरुको नतिजाको सूची पाए। त्यहाँ ५३ जनामा संक्रमण देखिएको थियो। तर, उनको नाम थिएन। त्यसैले त्यही दिन उनी ढुक्कका साथ कार्यालय प्रमुखको रुपमा हाजिर हुन कार्यालय पुगे। उनको स्वागतमा कर्मचारीहरुले कार्यक्रम पनि राखेका थिए। सबैसँग रमाइलो अनुभूति साटेर अपराह्न साढे ४ बजेतिर घर जाँदै थिए, उनलाई वीरगञ्ज प्रहरी कार्यालयबाट फोन आयो। झसङ्ग भए उनी, ती प्रहरीले जब उनको रिपोर्ट पनि पोजेटिभ छ भने।

‘म त खङरङ्गै भए नि। बिहानको सूचीमा मेरो नाम थिएन तर प्रहरीले रिपोर्ट पोजेटि छ भने,’ उनले सुनाए, ‘अनि मैले प्रहरीलाई बिहानको सूचीमा आफ्नो नाम नभएको बताएँ। तर, उनले त्यहाँ छुटेको हुन सक्ने बताएपछि म अन्योलमा परेँ।’

घर जाने–नजाने दोधार

बिहान संक्रमण नभएको रिपोर्ट, अपराह्न फेरि संक्रमण भएको खबर। फेरि लक्षण केही छैन। परिवारमा यो कुरा भन्ने कि नभन्ने दोधार भयो। घर जाने कि नजाने एकछिन निर्णय लिन गाह्रो भयो। तर, वास्तविकता स्विकार्नै पर्ने थियो।

‘मैले घर पुग्नु अगावै स्वास्थ्यकर्मीसँग सल्लाह लिएँ, के गर्ने, कसरी बस्ने भनेर’ उनले भने, ‘श्रीमतीलाई पनि यो कुरा भन्नै पर्ने थियो। त्यसपछि भूमिका बाँधेर निक्कै बेर लगाएर भनें, शुरुमा त उनी पनि निक्कै आत्तिइन्। तर, मलाई कुनै रोग र लक्षण पनि नभएको बताएपछि मेरो आइसोलेनका लागि कोठा तयार भयो।’

त्यसपछि उनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई खबर गरे। स्वाब परीक्षणका लागि सुझाव दिए। श्रीमती र आफन्तलाई ढाडस दिन आफूले केही हुँदैन, नआत्तिनु भने पनि उनको मनमा एक प्रकारको औडाहा भने भइरह्यो। पहिलो रात त उनलाई निद्रा पनि लागेन। मनमा अनेक कुरा खेल्न थाल्यो। तर, भोलिपल्ट देखि बानी हुँदै गयो । मोबाइल, सामाजिक सञ्जाल हेरेर दिन बिताउन थालें। पहिलो पटक स्वाब दिएको १३ औं दिन उनको पुनः परीक्षणका लागि स्वाब लगियो। बुधबार त्यसको नतिजा आयो–कोरोना नेगेटिभ।

अरुलाई सुझाव

कोरोना लाग्दैमा मात्र केही पनि नहुने उनको अनुभव छ। उनले भने, ‘मैले पहिलो पटक स्वाब दिँदा पनि केही लक्षण तथा समस्या दिएन र अहिले दोश्रो पटकको नतिजा आउँदासम्म पनि केही देखिएन। त्यसैले कोरोना लाग्दैमा आत्तिइहाल्नु पर्ने मैले केही ठानिनँ।’

उनले दैनिक बेसार, गुर्जो, अदुवा तथा जटिबुटीबाट बनेको ट्याबलेट खाए। त्यसले पनि उनलाई आत्मबल र रोग प्रतिरोधी क्षमता बढाउन सहयोग पुर्याएको उनको भनाइ छ। तर, केही हुँदैन भने पनि सजगता अपनाउन भने जरुरी रहेको उनको ठम्याइ छ।

‘म पो स्वस्थ थिएँ, कुनै रोग थिएन र केही समस्या भएन तर बिरामी, रोगी तथा आत्मबल कमजोर छ भने त समस्या पनि हुन सक्थ्यो नि त’ उनको सुझाव छ, ‘त्यसैले सवैजना सजग बन्न जरुरी छ। अझ दीर्घरोगाी, बिरामीहरु त जोगिन जरुरी छ। स्वास्थ्य सावधानीका सवै विधि अपनाउन झर्को मान्नु हुँदैन।’

५० वर्षीय दंगालले कुनै लक्षणबिनानै कोरोनाको संक्रमण जितेका छन्। दमक–४ स्थित आफ्नै घरलाई आइसोलेसन बनाएर बसेको एक सातामानै उनी संक्रमण मुक्त भएका छन्। केही दिनको आरामपछि उनी जिम्मेवारी सम्हाल्न जाने सुरसारमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.