ठेकेदार कम्पनी भन्छ : हाकिमको दबाबमा काम गरेको हौं

|

पाल्पा : जिल्लाको बगनासकाली गाउँपालिका ७ रानीघाटदेखि दैलातुङ हुँदै जिल्लाको सदरमुकाम तानसेनसम्म आउने सडक पीच (कालोपत्रे) भएको ६ महिना नपुग्दै भत्किएको छ।

रानीघाट–दैलातुङ सडकखण्ड अन्तर्गतको खानीगाउँमा कालोपत्रे सडक पूर्णरुपमा भत्किएको हो। माथिबाट झरेको पहिरोले क्षतविक्षत बनेको सडक चिराचिरा परेर भासिएको छ। पहिरोले बगाएको र भासिएको ठाउँमा सडक मर्मत हुनसक्ने अवस्था नै छैन। ट्रयाक नै परिवर्तन गर्नुपर्ने देखिएको छ।

प्रयोगमा नआउँदै कालोपत्रे सडक भत्किएपछि स्थानीय आक्रोशित बनेका छन्। करोडौं खर्च गरेर पाल्पा–स्याङ्जा जोड्न बनाइएको पुलसमेत सडक भत्किएपछि प्रयोगमा आएको छैन।

बजेट सिध्याउन हतारमा सडक कालोपत्रे गर्दा ठूलो क्षति भएको स्थानीय धनबहादुर गैरेले बताए। सरकारी कार्यालय र ठेकेदारको लापरवाहीले गर्दा यहाँका जनताले सुविधाभन्दा पनि जोखिम ब्यहोर्नुपरेको उनले बताए। गैरेका अनुसार कालोपत्रे गरेको सडकबाट बिरामी बोकेर हिँड्न समेत सकिने स्थिति छैन। सडक भत्किएर पहरो बनेको छ। सरकारी रकम बालुवामा पानी खनाएजस्तै भएको उनले बताए।

भौगोलिक अवस्थाको सर्वे नै नगरी सडक कालोपत्रे गर्दा यो अवस्था आएको बगनासकाली गाउँपालिका ७ खानीगाउँका वडाध्यक्ष गुनबहादुर बुढाथोकीले बताए। प्रक्रिया पूरा नगरी एक्कासी कालोपत्रे गर्दा राज्यको ठूलो रकम दूरूपयोग भएको उनले बताए। सडक निर्माणबारे राज्यको नीति नै सही नभएको बुढाथोकीले दावी गरे। 

पुल योजना सेक्टर नम्बर ४ वर्तुङ पाल्पा र सपना निर्माण सेवा कम्पनी काठमाडौंबीच २०७२ साल पुस महिनामा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको थियो।  १९ करोड ६ लाख रुपैयाँ सम्झौता गरेपनि ठेकेदारलाई कामको मूल्यांकनको आधारमा १८ करोड ९२ लाख रुपैयाँ भुक्तानी दिएको पुल योजना सेक्टर नम्बर ४ वर्तुङ पाल्पाका प्रवक्ता  तथा इन्जिनियर आशिक रिजालले बताए। उनका अनुसार १८० मिटर लामो मोटरेबल पुल निर्माण र ९८७ मिटर लामो डबल लेन सडक कालोपत्रे सहमति भएको थियो। 

सम्झौता अनुसार नै २०७६ मंसिर ३० गते पुल र सडक निर्माणको काम सकिएको थियो। तर काम हतारमा निकै हतारमा भएको स्थानीयले बताएका छन्‌। सडक निर्माणको न्यूनतम मापदण्ड पूरा नगरी कालोपत्रे गरिएको छ।

रानीघाटस्थित कालिगण्डकी नदीमाथि बनेको पुल हालसम्म सुरक्षित रहेपनि पुलसँगै जोडेर वारि र पारी कालोपत्रे गरिएको सडक भने पूर्णरुपमा ध्वस्त भएको छ। सडकको लागि वैकल्पिक ट्रयाक खोज्नुपर्ने अवस्था आएको छ। ग्राभेल गरेको कम्तिमा एक वर्षपछि सडकको अवस्था हेरेर पीच गर्नुपर्ने जानकार बताउँछन्। तर यो सडक ग्राभेलसँगसँगै कालोपत्रे गरिएको थियो। त्यसैले यति ठूलो क्षति ब्यहोर्नु परेको हो। 

१/२ वर्षको बर्खा र खडेरी खाएपछि सडक कालोपत्रे गर्दा टिकाउ हुने इन्जिनियर महेश अधिकारीले बताए। ‘कम्तिमा एक वर्षको हिउँद बर्खा झेलेपछि सडक पाको हुन्छ,’ उनले भने, ‘त्यसपछि गरेको पीच टिकाउ हुन्छ। पहिरोको जोखिम कम हुन्छ। पहिरो गएपनि सडकमा क्षति कम हुन्छ।’ प्राकृतिक विपत्ति आउनेबारे कसैलाई थाहा नहुने, तर मापदण्डबमोजिम कालोपत्रे गरेको भए क्षति कम हुने उनी बताउँछन्।

वारिपारि दुवैतर्फको सडक भत्किएपछि पुलसमेत तत्काल प्रयोगमा नआउने भएको छ। भत्किएको सडक ठूलो रकम खर्च गरेर कसले बनाउने भन्नेबारे सरकारी कार्यालय र ठेकेदार कम्पनीबीच अहिले आरोप-प्रत्यारोप चलेको छ। कमिसन निकाल्न हाकिमले दवाव दिएर आफूलाई सडक पीच गर्न लगाएको कम्पनीले आरोप लगाएको छ।  

'हाकिमले दबाब दिएपछि कालोपत्रे गर्‍यौँ' : ठेकेदार

पुल योजना सेक्टर नम्बर ४ वर्तुङका प्रमुख भिमार्जुन कँडेलको दवावमा आफूहरूले सडक कालोपत्रे गरेको सपना निर्माण सेवा कम्पनी काठमाडौंका म्यानेजिङ डाइरेक्टर हरिप्रसाद ढकालले बताए।

सरकारी कार्यालयले दिएको जिम्मेवारी पूरा गरेको र पुल कहाँनेर बनाउने भनी ठाउँ छनोट गर्ने जिम्मेवारी आफ्नो नभएको बताउँदै उनले भने, ‘सम्बन्धित सरकारी कार्यालयले जहाँ भन्छ : त्यही बनाउने हो।’ पहिरोले बगाएको सडक र पर्खाल समेत ठूलो रकम खर्च गरेर आफूले बनाएको उनले बताए। भौगोलिक हिसाबले त्यहाँ पुल बनाउन उपयुक्त नभएको ढकालको ठम्याई छ।

पुलको पारीतर्फ माथिबाट डाँडा खस्ने संभावना रहेको छ। वारीतर्फ अहिले भत्किएको सडक मर्मत गर्न सकिने अवस्था छैन। सडकको विकल्प खोज्नुपर्ने देखिन्छ उनी बताउँछन्। आफूले यसपाली सडक पीच नगर्न धेरैपटक प्रमुख कँडेललाई अनुरोध गरेको उनले बताए। बजेट बचत गरेर राखेमा जहिले पनि पीच गर्न सकिने हुँदा अहिले पीच गरेर क्षतिको जोखिम नमोल्न आफूले पटकपटक आग्रह गरेको उनको दावी छ।

‘तत्काल सडक पीच नगरौं, टिकाउ हुँदैन, पहिरो झरेर समेत क्षति पुर्‍याउन सक्छ भनेर मैले पटकपटक अनुरोध गरेको हो,’ ढकालले भने, ‘हाकिमले तपाइँको कर्तव्य पूरा गर्नुस् न भनेपछि पीच गरिदिएको हो।’ पुलमा क्षति भए मर्मत गर्ने आफूहरुको दायित्व भएको, तर भत्किएको सडक मर्मत नगर्ने उनी बताउँछन्। 

'कानुन लादेर पनि ठेकेदारलाई मर्मत गर्न लगाउँछौ' : योजना प्रमुख

भत्किएको सडक कुनै हालतमा ठेकेदार कम्पनीले मर्मत गर्नुपर्ने पुल योजना सेक्टर नम्बर ४ वर्तुङका प्रमुख भीमार्जुन कँडेलले बताए।

पुल निर्माण र सडक कालोपत्रे काम सकिएको ५ वर्षसम्म मर्मत गर्ने जिम्मेवारी ठेकेदार कम्पनीकै भएको उनले दावी गरे। ‘पुल बनाउने र सडक कालोपत्रे एउटै ठेक्का हो,’ उनले भने, ‘कुनै भाग हेर्छु, कुनै हेर्दिनँ भन्न मिल्दैन। कानुनी उपचार गरेर पनि मर्मत गर्न लगाउँछौ।’ आफूले सडक विभागमा पत्राचार गरिसकेको उनले बताए।  

ठेकेदारलाई दवाव दिएर पीच गर्न लगाउनुभएछ नि? भन्ने प्रश्नमा प्रमुख कँडेलले भने, 'बाँकी काममा म्याद थप्न उपयुक्त नभएर पीच गर्न भनेको हो, सम्झौता अनुसार पीच गर्नुपर्ने कम्पनीको काम हो, मर्मत गर्ने जिम्मेवारी पनि त्यही कम्पनीको हो।’ 

ठेक्का अवधिमा काम सिध्याउनुपर्ने र नसके पेनाल्टी तिर्नुपर्ने हुनाले समयमै कालोपत्रे गरिएको कँडेल बताउँछन्‌। मौसम अनुकुल भएपछि त्यही कम्पनीले काम गर्नुको विकल्प नभएको र धरौटी रकम निकालेरै भएपछि सडक मर्मत गराइने उनले जानकारी दिए।

योजना निर्माणबारे छानविन गर्न सरोकारवालाले जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.