घर पुर्‍याउन गयो मेयरको टोली

|

सोलुखुम्बु : प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन्। गत आइतबार सोलु दूधकुण्ड नगरपालिका-११ रमितेमा ड्युटीमा रहेका प्रहरी टोलीमाथि जाँडरक्सी खाएर हातपात गरेको आरोपमा पक्राउ परेकालाई बिहीबार जनही ५/५ हजार धरौटीमा छाडिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्ध (राष्ट्र सेवकलाई कर्तव्‍य पालनामा बाधा पुर्‍याएको) कसुरमा मुद्धा दर्ता गरिएको थियो। प्रहरीले झुट्टा मुद्दा लगाएर फसाईएको भन्दै नेपाली कांग्रेस सोलुखुम्बुले धर्ना तथा नारा जुलुससमेत गरेको थियो।

पक्राउ परेको भोलिपल्टैदेखि प्रहरी प्रशासनलाई दबाब दिइरहेको समूहले उनीहरूलाई खादा मालासहित घर लगेका थिए। धर्ना तथा जुलुसमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेत, सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा सहितको उपस्थिति थियो।

मेयरसहितको टोलीले घर पुर्‍यायो

सोलु दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले नगरपालिकाको बा१झ ९७९४ नम्बरको गाडीमा उनीहरुलाई घरसम्म पुर्‍याउन गएका थिए। सरकारी गाडीमा सवार शेर्पा सबैभन्दा अगाडि थिए भने कांग्रेस समर्थित अन्य करिब ६० जनाभन्दा बढीको समूह मोटरसाइकल तथा अन्य सार्वजनिक गाडीमा थिए। रिहा भएका युवाहरु चाहि बाइकमा सवार थिए।

प्रत्यक्षदर्शीका अनुसार आरोपित छुटिसकेपछि पनि प्रशासन अगाडि धर्नामा रहेका मेयर सहितको टोलीले नेकपा प्रहरी मूर्दावाद लगायतको नारा लगाउँदै हिँडेका थिए।

घटनास्थलमा एउटा भनाई जुलसमा अर्कै !

तरुणदल वडा समितिले कोरोना महामारी तथा विकास निर्माणको विषयमा बैठक सम्पन्न गरी स्थानीय सन्तोष खड्काको जेठा छोराको जन्मदिनमा सहभागी भएको बेला प्रहरीले पक्राउ गरेको नेपाली कांग्रेस सोलुखुम्बुको दाबी छ।

सोही दिन वडा कार्यालयमा नेकपा समर्थित युवा संघको समेत कार्यक्रम भएकाले उनीहरूको इसारामा प्रहरीले तरुणदलका नेता कार्यकर्तालाई पक्राउ गरी झुट्ठा मुद्दा दर्ता गरिएको भन्दै उनीहरूले विज्ञप्तिसहित नाराजुलस गरेका हुन्।

शान्तिपूर्ण ढंगले जन्मोत्सव मनाइरहँदा प्रहरीले पक्राउ गरेको सन्तोष खड्काकी श्रीमती सर्मिला बस्नेत (खड्का)ले बताइन्। सल्लेरीमा आयोजित जुलुससभामा बोल्दै उहाँले प्रहरीमाथि हातपात भएको भन्ने दाबी गलत भएको भन्दै एक्कासि प्रक्राउ गरेर ल्याएको जिकिर गरिन्।

यता, सोलुखुम्बु प्रहरीले भने स्थानीयले होहल्ला भएको सूचना दिएपछि प्रहरी टोलीले सम्झाउन जाँदा प्रहरी टोलिमाथि नै हातपात भएको दाबी गर्छ। प्रहरी टोली पुगेको बेला सन्तोष खड्काकी श्रीमती सर्मिला बस्नेत (खड्का)ले समेत नाचगान भइरहेको बेला प्रहरी आएको र झगडा भएको बताएको भिडियोसमेत सार्वजनिक भएको छ। उक्त भिडियोमै उनले, ‘मसमेत ढलेँ, मेरो चुरासेत फुटेछ’ भनेको सुनिन्छ।

यता, विद्यालय तथा वडा कार्यालयको तथ्यांकअनुसार भदौ ७ गते जन्म दिन मनाइएको बालकको जन्ममिति भने २०७२ वैशाख ७ रहेको छ। यसरी हेर्दा पनि घटनाको वास्तविकता र दाबी गरिएको भनाइहरू फरक परेको प्रष्ट हुन्छ। सोमबार १० दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले बुधबार मुद्दा बुझायो भने बिहीबार धरौटीमा छाड्न आदेश भयो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.