|

काठमाडौं  : पछिल्लो समय काठमाडौं उपत्यकासहित घनाबस्तीका क्षेत्रहरूमा लक्षणसहितका कोरोनाका बिरामी बढ्दै गएपछि सरकारले संक्रमितहरूको उपचार तथा व्यवस्थापनका लागि उपत्यकामा आइसोलेसन वार्डहरू निमार्णलाई  तीव्रता दिएको छ।

यसैअनुरूप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो सातासम्म करिब ९ हजार आइसोलेसन बेड तयार हुने बताएको छ।

मन्त्रालयले ९ हजार  बेडमध्ये करिब २ हजार लक्षण भएका संक्रमितको उपचार गर्न र बाँकी सात हजार लक्षण नभएका संक्रमितलाई आइसोलेट गर्न प्रयोग गरिने पनि स्पष्ट पारेको छ।

मन्त्रालयका  अनुसार लक्षण नभएका संक्रमितहरुलाई राख्न हाल नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा २०० बेड तयारी अवस्थामा रहेको छ भने यसलाई  तीन सयसम्म पुर्‍याउने योजना रहेको बताइन्छ।

यस्तै, कीर्तिपुरस्थित आयुर्वेद केन्द्रमा २२०, दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनमा ३२० बेड तयारी अवस्थामा छ। इचङ्गुनारायणमा रहेको आपतकालीन भवनमा ५०० बेड, यती अस्पतालमा ५० बेड तयारी अवस्था छन् ।

मन्त्रालयले जावलाखेलमा रहेको स्टाफ कलेज १००, बालाजुस्थित जनमैत्री अस्पतालमा ३००, बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा १०० र कान्तिपुर अस्पताल तीनकुनेमा ५० बेडको आइसोलेसन तयार गरी लक्षण नभएका संक्रमितलाई राख्ने तयारी गरेको छ ।

लक्षण देखिएका संक्रमितको यी ठाउँमा हुनेछ उपचार

लक्षण भएका कोरोना संक्रमितलाई अहिले शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरीको अस्पताल (युनिफाइड अस्पताल)मा राखिएको छ ।

वीर अस्पताल, नेपाली सेनाको अस्पताल, नेपाल प्रहरी अस्पतालमा पनि आइसोलेसन थप गरी लक्षण भएको संक्रमितलाई उपचार गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, मेघा अस्पतालमा ५० बेड, नेपाल मेडिकल कलेजमा १०० बेड, केएमसी दुवाकोटमा १०० बेड, किष्ट मेडिकल कलेजमा १०० बेडबाट सेवा दिने गरी सम्झौता गरिसकेको मन्त्रालयले जनाएको छ । आवश्यकताको आधारमा थप केही निजी अस्पतालसँग समन्वय गरिने बताइएको छ।

काठमाडौंमा लक्षण सहितका संक्रमित बढ्दै  जाँदा सरकारले लक्षण नभएका संक्रमितहरुलाई अस्पतालमा भर्ना नगर्ने नीति लिएको छ। जसअनुसार यसअघि भर्ना भई उपचाररतलाई पनि १० दिनका दिन पिसिआर टेष्ट गर्ने र त्यसमा पोजेटिभ आएमा १४ दिनपछि टेष्ट नगरी घर पठाउन अस्पतालहरुलाई निर्देशन दिएको  थियो।

१४ दिनभन्दा बढी अस्पतालमा राखे त्यसको खर्च सरकारले नबेहोर्ने पनि मन्त्रालयले जनाइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.