|

ओखलढुंगा : देशमा संक्रमण बढिरहेको अवस्थामा स्थानीय तहहरूले निर्माण गरेका यहाँका क्वारेन्टाइन खाली हुना थालेका छन्। भारत तथा तेस्रो मुलुक र अन्य जिल्लाबाट जिल्ला आउनेको संख्या न्यून भएपछि यतिबेला जिल्लाका प्राय सबै क्वारेन्टाइन खाली भएका हुन्।

विदेशबाट आएकाहरुलाई हर्कपुरमा निर्माण गरिएको होल्डिङ सेन्टरमा राखिने गरिएको र मुख्य नाका हुँदै जिल्ला भित्रने तथा जिल्ला सदरमुकाम भएका कारण केही व्‍यक्ति ओखलढुंगा क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिने गरिएको भए पनि अहिले सबै क्वारेन्टाइन खाली रहेको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद भट्टराईले बताए।

हाल होल्डिङ सेन्टर, सदरमुकामको क्वारेन्टाइनमा २१ जना र दुई जना रुम्जाटारको आइसोलेसनमा उपचाररत रहेको उनले जानकारी दिए।

स्थानीय तहका क्वारेनटाइन खाली

स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइन खाली छन्। खिजीदेम्बा गाउँपालिकाले १२ स्थानमा ५९ शैय्याको क्वारेन्टाइन निर्माण गरेको क्वारेन्टाईनमा हाल कोही नभएको खिजीदेम्वा गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले बताए। चम्पादेवी गाउँपालिकाले वडा नं. २ को नवलपुर घाटमा ५० सहित ९० शैय्याको क्वारेन्टाईन निर्माण गरिएको छ यहाँ पनि हाल कोही नभएको जिल्ला प्रसाशन कार्यालयको तथ्याङ्कमा छ।  जिल्लको पुर्वी नाकामा रहेको चिसंखु गढी गाउँपालिकाले २० शैय्याको ५ स्थानमा क्वारेन्टाइन बनाएको भए पनि हाल क्वारेन्टाइन खाली नै रहेको तथ्याङ्क रहेको छ।

सिद्धिचरण नगरपालिकाले रुम्जाटार माविमा ५० तथा सदरमुकाममा रहेको सगरमाथा जनता मावि र ओखलढुंगा क्याम्पसमा २५–२५ गरी १०० शैय्याको क्वारेन्टाइन रहेकामा हाल रुम्जाटार अस्पतालको आइसोलेसनमा मात्र दुईजना संक्रमित रहेका छन्।

क्वारेन्टाइनमा रहेका सबै प्राय अन्य स्थानीय तहका रहेको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीले जानकारी दिए। मानेभञ्ज्याङको हर्कपुरमा रहेको होल्डिङ सेन्टरमा हाल ४ जना रहे पनि अन्य १० वटा क्वारेन्टाईन रित्तै छन्। मानेभञ्ज्याङमा होल्डिङ सेन्टर सहित १ सय १३ शैय्याका ११ वटा क्वारेन्टाइन छन्।

त्यस्तै, मोलुङ गाउँपालिकाले शहीद आदर्श क्याम्पस रामपुरमा २५ शैय्यासहित ५४ जनासम्म राख्न सकिने गरी विभिन्न स्थानमा बनाइएका क्वोन्टाइन खाली रहेको गाउँपालिका अध्यक्ष मणिकुमार राईले जानकारी दिए।  लिखु गाउँपालिकाले निर्माण गरेका क्वारेन्टइनमा पछिल्लो समय विदेशबाट आएका साथीहरु एकान्तबासमा बसिदिनुहोला भनेर आग्रह गरिरहेको र गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाईनमा कोही नरहेका लिखु गाउँपालिका उपाध्यक्ष शान्ता ढुंगेलले बताइन्।

गाउँपालिकाले विभिन्न स्थानमा २८ शैय्याको क्वारेन्टाईन निर्माण गरेको थियो। सुनकोशी गाउँपालिकाले गाउँपालिकाका १२ स्थानमा १ सय ११ शैय्याको क्वारेन्टाईन निर्माण गरेको भए पनि हाल कुनै क्वारेन्टाईनमा कोही नभएको गाउँपालिका अध्यक्ष रुद्र प्रसाद अधिकारले जानकारी दिए।

जिल्लामा धेरै मानिसहरु वैदेशिक रोजगारीबाट फर्किए पनि उनीहरुको तथ्यांक अध्यावधिक गर्ने काम स्थानीय तहहरुले अझै सकेका छैनन्। हालसम्म जिल्लामा १ हजार ३७ र ७ सय ४९ जनाको पिसिआर परीक्षण गरेकोमा १५ भारतीय नागरिकसहित २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। हाल दुईजना संक्रमित उपचाररत रहेको र अरू सबै जना संक्रमण मुक्त भएका छन्।

जिल्लाका दुवै अस्पताल सिल

जिल्लामा रहेको नेपाली सेनाको अरिदमन गण्मा कार्यरत नेपाली सेनाका एक जवानलाई कोरोना भाइरसको लक्षण  देखा परेपछि सावधानीका लागि जिल्लाका दुई अस्पताल सिल गरिएको छ। पूर्व-सतर्कता अपनाउँदै ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटार र ओखलढुंगा सामुदायिक अस्पताल मिसन सिल गरिएको हो।

अस्पतालमा अति आवश्‍यकबाहेकका अन्य सेवा बन्द भएपछि सर्वसाधारण भने कोरोना संक्रमणको त्रासमा रहेका छन्। यता, ओखलढुंगामा रहेको नेपाली सेनाको अरिदमन गणले भने बिरामी भएका सेनालाई संक्रमण पुष्टिको आधिकारिक रिपोर्ट आइनसकेको बताएको छ।

गणपति विशालसिंहले परीक्षणको रिपोर्ट आई नसकेकाले संक्रमण भन्न नमिल्ने बताएका छन्।  यद्पि, स्वास्थ्‍य मन्त्रालयले शुक्रबारकको नियमित कोभिड-१९ को प्रेस ब्रिफिङमा ओखलढुंगामा एकजना संक्रमित थपिएको बताइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.