|

डोल्पा : हिमाली जिल्ला डोल्पामा कार्यरत प्रहरी छानोविहीन भवनमा बस्न बाध्य छन्। सदरमुकाम दुनैस्थित जिल्ला प्रहरी कार्यालय डोल्पामै कार्यरत प्रहरी जवानहरुलाई छानोनै नभएको भवनभित्र पाल टाँगेर राखिएको हो।

छानोविहीन भवनभित्र पनि पाल टाँगेर बस्नुपर्दा चिसोसँगै लामखुट्टेको टोकाई समेत सहनु परेको  प्रहरी जवानले गुनासो गरे। एक प्रहरी जवानले गुनासो गरे, ‘एक त न्यून तलबमा बस्नुपर्ने प्रहरीको जागिर, त्यसमा पनि दुर्गम हिमाली जिल्लामा बस्नुपर्ने, भएन भनेर अलपत्र भवन भित्र चिसोले काप्दै बस्नुपर्दा प्रहरीले कस्तो मानसिकताले काम गर्ला।’

चुस्तदुरुस्त रुपमा सेवा प्रवाह गर्न सबै कुराको सेवा सुविधा दिएर मानसिक रुपमा तम्तयार बनाउनु पर्ने उनको सुझाव छ। 

कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगबाट बन्न लागेको भवनको दोस्रो किस्ता रकम निकास नभएपछि भवन निर्माण कार्य अलपत्र परेको हो। पहिलो किस्ता ५५ लाख रुपैयाँ आए पनि त्यसपछि दोस्रो किस्ताबापतको रकम नआएपछि ठेकेदारले भवन निर्माण कार्य त्यतिकै छोडेको बताइएको छ। प्रदेश सरकारले दोस्रो किस्ता रकम नपठाउँदा ठेकेदारको करोडौँ रुपैयाँ समेत फसेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

‘पहिलो किस्ता ५५ लाख रकम आयो, त्यसपछि रकम आएन,’ जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले भने, ‘अहिले त्यही अधुरो भवनभित्र पाल र जस्तापातको सहायतामा प्रहरी राखेका छौँ।’

कार्यालयमा कार्यरत १०४ जना प्रहरीमध्ये ६० जनालाई दुई महिनादेखि भवनभित्र पाल र जस्तापाताको सहयोगमा राखिएको प्रहरी नायब उपरीक्षक रञ्जितकारले बताए। भवन नबन्दा प्रहरीलाई राख्न ठूलो समस्या भएको रञ्जितकार बताउँछन्। ‘हिमाली जिल्ला भएकाले कात्तिकदेखि अत्याधिक चिसो सुरु हुन्छ,’ उनले भने, ‘मंसिरदेखि माघसम्म हिउँ पर्छ, यो समयमा झ्याल ढोका थुनेर बस्नुपर्छ, त्यसबेला चारैतिर खुला भवनमा कसरी प्रहरीलाई जोगाउने हो ठूलो चिन्ता छ।’

सरकारी भवनमा प्रहरी

डोल्पामा प्रहरीको आफ्नै भवन नहुँदा समस्या हुने गरेको छ । जिल्लाभर जिल्ला प्रहरी कार्यालयसहित २६ वटा प्रहरी युनिट रहेका छन्। त्यसमा १८ वटा प्रहरी युनिट विद्यालय, स्वास्थ्य चौकी, खाद्यान्नको गोदाम, गाउँपालिका भवन, नागरिक उडड्यनलगायतका सरकारी भवनको  जोहो गरेर प्रहरी बसेको डिएसपी रञ्जितकारले बताए।

२६ वटा युनिटमध्ये ४/५ वटामा भाडामा, तीनवटा आफ्नै भनव, बाँकी सबै सरकारी भवन खोजेर प्रहरीलाई राखिएको छ।

चिसो थेग्न नसकेर फर्किन्छ प्रहरी

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा छ महिना मात्र प्रहरी बस्ने गरेको छ। सदरमुकाम दुनैबाट चैत अन्तिमतिर मात्र प्रहरी उपल्लो डोल्पा जाने र छ महिना बसेर असोज अन्तिममा फर्कने गरेको छ। 

उपल्लो डोल्पामा असोजदेखि फाट्टफुट्ट हिमपात सुरु भएर अत्याधिक चिसो बढ्ने भएकाले चिसो थेग्न नसकेर प्रहरी फर्कने गरेको डिएसपी रञ्जितकारको भनाइ छ। उपल्लो डोल्पामा चीन र नेपालबीचको सिमाना पर्ने भएकाले पनि हरेक समय निगरानी राख्न राज्यको उपस्थिति हुनु आवाश्यक रहेको उनको बुझाइ छ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा काननु मन्त्रालयको सहयोगमा डोल्पाबुद्ध गाउँपालिकामा पर्ने धो मा सुविधा सम्पन्न भवनको शिलान्यास भएर काम सुरु भइसकेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.