|

कपिलवस्तु : लमहीका २३ वर्षीय राजीव डाँगी स्कुले उमेरदेखि नै चरा मन पराउँथे। नजिकै वन क्षेत्र भएको हुँदा घरवरपर चराको आउजाउ चलिरहन्थ्यो। त्यसैले चराप्रति उनको प्रेम बसेको थियो। १९ औँ जन्मदिनमा बुवाको हातबाट उपहारस्वरूप क्यामेरा पाएका थिए। त्यही क्यामेराले पहिलो पटक चराको फोटो खिचेका थिए। त्यसपछि उनलाई चराको फोटो खिच्ने रहर जागेको थियो।

दंगालीहरूका लागि राजीव नौलो नाम होइन। विगत ४ वर्षदेखि चराको अध्ययनमा लागेका युवा पुस्ताको चर्चित अनुहार हो। उनले दाङका वन क्षेत्रमा रहेका १ सय ८० भन्दा बढी प्रजातिका चराको फोटो क्यामेरामा कैद गरेका छन्। तीमध्ये राज लाहाचें, छातीकाले तोप चरा फेला पार्ने उनी पहिलो हुन्।

रहरले चरा फोटोग्राफी सुरु गरेका डाँगीले कुनै तालिम भने लिएका छैनन्। २ वर्ष अगाडि क्याननको सेभेन डी क्यामेरा र छोटो र लामो दूरीको फोटो खिच्ने लेन्स लिएका छन्। क्यामेरा चलाउन उनले युट्युब हेरेर सिकेका थिए।

चराको फोटो खिच्नका लागि उनी ५ दिनसम्म वनमा कुदेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज, खैरापुरदेखि पाल्पासम्म चरा खोज्दै यात्रा गरेका छन्। ‘संयोग हो कहिले ५ मिनेटमा फेला पर्छ कहिले धेरै समय धाउनुपर्छ। देउखुरी उपत्यकाका वनमा भेटिएका चरा र वन्यजन्तुको विषयमा अनुसन्धान गरी रहेका छौँ। चरा अवलोकनको लागि देउखुरीलाई गन्तव्यस्थल बनाउने रहर छ’ राजीव भन्छन्।

वाइल्ड लाइफ फोटो ग्राफर सागर गिरी र वन्यजन्तु तथा चरा संरक्षणकर्मी चिरञ्जीवी खनालसँग मिलेर सहकार्य गर्दै चरा अनुसन्धानमा लागि खटेका छन्। बिबिएस अध्ययन सकाएका डाँगीलाई जागिर खाने रहर हराएको छ। बुवा आमाको व्यापारमा सघाउँदै दाङका चराहरू बृहत् अनुसन्धान गर्ने लक्ष्य लिएका छन्। उनका बुवाआमाले लमहीमा इँटा उद्योग र सेलर मिलको व्यवसायमा गर्दै आएका छन्।

राजीवले खिचेका चराका केही तस्बीर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.