विशेषज्ञ भन्छन् : समुदायमा पुगिसक्यो, अवस्था अझै गम्भीर हुन्छ

|

काठमाडौं :  गत माघ पहिलो हप्ता नेपाल देखिएको कोरोना भाइरस (कोभिड-१९)  संक्रमण अहिले देशव्यापी बनेको छ। चैत ११ देखि गरिएको चार महिना लामो लकडाउनका कारण केही थामिएको कोरोना साउन ७ गतेयता देशभर फैलिएको हो।

लकडाउन अवधिभर प्रवासबाट आएकाहरुमा मात्रै देखिएको संक्रमण अहिले एक दर्जन बढी जिल्लाको समुदाय तहमा फैलिसकेको छ। नेपालमा कुल संक्रमितको संख्या नै ३७ हजार ३४० पुगेको छ। देशभर अहिले पनि सक्रिय संक्रमितको संख्या १६ हजार ५७३ छ। २० हजार ५५५ सय डिस्चार्ज भइसकेका छन्।

 तर पछिल्लो समय नेपालमा कोभिड संक्रमणबाट मृत्य हुनेको संख्या पनि ह्वात्तै बढेको छ। काठमाडौं लगायतका घना बस्ती भएको क्षेत्रमा समुदायस्तरमा संक्रमण पुगेपछि मानिसहरुको मृत्यु हुनेको संख्या बढ्दै गएको हो।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार हालसम्म  २०७ जनाले कोभिडको कारणले ज्यान गुमाइसकेका छन्।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विभिन्‍न जिल्लामा थप १३ जनाको मृत्यु भइसकेको छ। ललितपुर र महोत्तरीका ३, पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ र नवलपरासीका एक–एक जनाको मृत्यु भएको हो।

भक्तपुरमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ। कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिए।

मृतक मधुमेह र उच्च रक्तचापबाट पीडित थिए। भक्तपुरमा यसअघि कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ।​ललितपुरस्थित पाटन अस्पतालमा ललितपुर र भैरहवाका एक–एक जना पुरुष र महोत्तरीका एक महिला गरी ३ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो।

नेपालमा शनिबार मात्रै थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले चौबिस घण्टामा थप १२ जनाको मृत्यु भएको बताएका थिए।

प्रवक्ता डा. गौतमले ३ जना महिला र ९ जना पुरुषको कोरोना संक्रमणबाट मुत्यु भएको बताए। पाल्पाको ३० वर्षीय, काठमाडौँको ५१ वर्षीय र भक्तपुरकी ६२ वर्षीय महिला र पर्साका ४८ र ३९ वर्षीय , सिराहामा ८४ वर्षीय, गोर्खामा ३८ वर्षीय, कास्कीमा ५८ वर्षीय, काठमाडौँमा ८३ वर्षीय, ललितपुरमा ७२ र ६१ वर्षीय र भक्तपुरमा ८२ वर्षीय पुरुष गरी कुल १२ जनाको मृत्यु भएको  प्रवक्ता डा गौतमले बताएका थिए।

 भाइरसको सङ्क्रमणसँगै मृत्युदर पनि ह्वात्तै बढेको छ। कोरोनाबाट गत शुक्रबार र शनिबार लगातार दुई दिनमा  मात्रै १२/१२  जनाको मृत्यु भएको थियो।

यो दुई दिनको संख्या  कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिलेसम्मकै धेरै हो । शुक्रबार र शनिबारको तथ्याङ्क हेर्ने हो भने पछिल्लो दुई दिनमा नेपालमा प्रत्येक दुई घण्टामा  एक कोभिड सङ्क्रमितको मृत्यु भइरहेको छ। नेपालमा कोभिड संक्रमणले डरलाग्दो रुप लिएको देखिन्छ।

नेपालमा साउनको अन्तिम साताबाट कोभिड संक्रमितको मृत्यु हुने सख्या बढेको थियो। भदौ सुरु भएपछि झन् मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ। भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन्।

कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए। भदौ यता शुक्रबार सम्ममा कोरोनाबाट एक दिनमा औसत झण्डै सात जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोभिडसम्बन्धी  विवरण अनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा शून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर शून्य दशमलव ५ प्रतिशत पुगेको छ ।

कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका थिए । शुक्रबारसम्ममा उक्त सङ्ख्या बढेर १९५ पुगेको छ। मर्नेमा महिला २६ प्रतिशत अर्थात् ५१ तथा पुरुष ७४ प्रतिशत अर्थात् १४४ जना रहेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरण अनुसार शुक्रबारसम्म कोरोनाबाट पर्सामा ३३, काठमाडौंमा १८, मोरङमा १६, धनुषामा १३, बारामा १२, बाँके र रुपन्देहीमा सात–सात जनाले ज्यान गुमाएका छन्।

त्यस्तै कैलाली, सप्तरी, सुनसरी, चितवन र सिरहामा पाँच–पाँचजना, सर्लाही, महोत्तरी, कपिलवस्तु, मकवानपुर, भक्तपुर र कास्कीमा चार–चारजना, रौतहट, ललितपुर, गुल्मी र सिन्धुपाल्चोकमा तीन–तीनजनाको मृत्यु भएको छ।

अछाम, सुर्खेत, झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक र दोलखा दुई–दुईजनाले ज्यान गुमाएका छन्। दैलेख, दाङ, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, बर्दिया, बझाङ, बागलुङ, तनहुँ, नवलपरासी पश्चिम, धादिङ, गोर्खा, उदयपुर, म्याग्दी र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ।

 शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हाल काठमाडौं उपत्यका लगायतका ठाउँमा समुदायमा संक्रमण फैलिएकाले मृतकको संख्या बढेको हो।

‘उपत्यकासहितका केही ठाउँमा संक्रमण समुदायस्तरमा पुगिसकेको छ', उनले भने, 'कोभिड संक्रमण धेरै उमेर भएका र दीर्घ रोगीहरूमा देखिएको हुँदा मृत्यु हुनेको संख्या बढेको हो।‘

डा. पुनका अनुसार नेपाल जस्तो देशमा संक्रमण समुदायमा पुगेपछि दीर्घ रोगी र जेष्ठ नागरिकहरु जोखिममा पर्ने सम्भावना अन्य देशको भन्दा बढी हुन्छ।

मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमणबाट १० वर्षमुनिको उमेर समूहका दुई महिला र दुई पुरुषसहित चारजनाले ज्यान गुमाएका छन्। ११ देखि २० वर्ष उमेर समूहका तीन महिला र दुई पुरुषसहित पाँच तथा २१ देखि ३० वर्ष उमेर समूहका चार महिला र आठ पुरुषसहित १२ जना रहेका छन्।

यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका चार महिला र १३ पुरुषसहित १७, ४१ देखि ५० वर्ष उमेर समूहका १० महिला र ३२ पुरुषसहित ४२, ५१ देखि ६० वर्ष उमेर समूहका ६ महिला र ३२ पुरुषसहित ३८ छन्। 

६१ देखि ७० वर्ष उमेर समूहका १४ महिला र २६ पुरुषसहित ४०, ७१ देखि ८० वर्ष उमेर समूहका पाँच महिला र २१ पुरुषसहित २६ तथा ८० वर्षभन्दा माथिको उमेर समूहका तीन महिला र आठ पुरुषसहित ११ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ। नेपालमा कोरोनाबाट निको भएर घर फर्किनेको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.