|

डडेल्धुरा : ट्रयाक खोलेको तीन दशकपछि डडेल्धुराका दुई ओटा सडक कालोपत्रे हुने भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारको गौरव आयोजनाअन्तर्गत कञ्चनपुरको दैजीदेखि बझाङको देउरा जोड्ने सडकको पोखरा–बेलापुर र उग्रतारा–मेलौली सडक खण्ड अन्तर्गत समैजीदेखि भद्रपुरसम्मको सडक कालोपत्रे हुने भएको हो। 

आइतबार सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले दुबै सडकको शिलान्यास गरेका छन्। 

पोखरा–बेलापुर सडक २० करोड ४८ लाख ८५ हजार लागत र उग्रतारा मेलौली सडक २० करोड १२ लाख ३२ हजार लागतमा केएस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको दुवै सडक १०/१० किलोमिटर कालोपत्रे हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए। २०७७ असार २८ गते सम्झौता भएको सडक २०८० असार २७ गते सम्पन्न गरी सक्नुपर्ने छ।

कञ्चनपुरको दैजीदेखि बैतडीको ढुङ्गाड हुँदै बझाङ देउरा जोड्ने सडकको पोखरा–बेलापुर सडक खण्ड र उग्रतारा–मेलौली सडकको समैजी भद्रपुर सडक ३ वर्षभित्र कालोपत्रे हुने सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बोहराले बताए।

उनले भने, ‘प्रदेश गौरवका योजनाहरुको ठेक्का सम्झौता भइसकेकाले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन गरेका छौँ।’ 

सडक कञ्चनपुरको दैजी–लिप्ना, डडेल्धुराको जोगबुडा–चिर्किट्टे–पोखरा, बैतडीको ढुंगाड, बझाङको देउरा हुँदै चीनको नाकासम्म जोड्ने लक्ष्य रहेको उनको भनाइ छ। ‘सुदूरपश्चिम प्रदेशको गौरवको योजना हो र यी सडकले तराईका कञ्चनपुरदेखि पहाडको बझाङको देउरामा जोड्ने लक्ष्यका साथ सुदूरपश्चिम सरकारले कामको थालनी गरेको छ।’ मन्त्री बोहराले भने, ‘भविष्यमा यो सडकलाई भविष्यमा चीनको सिमाना क्षेत्रसम्म पुर्याउने सरकारको दीर्घकालीन लक्ष्य रहेको छ।’

कालोपत्रे हुने भएपछि स्थानीय हर्षित

जिल्लाका पुराना सडकको रुपमा रहेका दुवै सडक कालोपत्रे हुने भएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। ‘चुनावका बखत सडककै नाममा राजनीति हुने भएपनि सडक कालोपत्रे त कहाँ सडकको स्तरोन्नतिसम्म पनि कसैको चासो हुँदैनथ्यो, नवदुर्गा गाउँपालिका १ का लक्ष्मी कामीले दुखोसो पोख्दै भने, ‘अहिले बल्ल कालोपत्रे हुने भएको छ खुसी छौँ।’

सडक निर्माण भएको २९ वर्षपछि कालोपत्रे हुने भएपछि आफू हर्षित भएको बताउँदै उनले अब नवदुर्गाबासी सडकको पहुँचमा पुग्ने उनले बताए। 

गाउँपालिकाको वृहत्तर विकासको लागि सडक प्रमुख प्राथमिकतामा रहेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताए। अध्यक्ष विष्टले भने, ‘कच्ची सडकले गर्दा गर्भवती र दैनिकजसो कार्यालय आवतजावत गर्ने कर्मचारीलाई समस्या रहेको छ, अब केही राहत हुने भएको छ।’ सडक कालोपत्रे हुने भएपछि स्थानीय कृषकले सहजै कृषि उपज बजारमा पुगाउन सक्ने अध्यक्ष विष्टले बताए। 

‘यो सडकसँगै ट्रयाक खुलेका सडकहरुमा पहिले नै कालोपत्रेको सुरुवात भएको थियो तर यो सडक कालोपत्रेका लागि कतै सुनवाइ नहुँदा समयमै पिच हुन सकेको थिएन तर मेरै कार्यकालमा प्रदेश सरकारले सडक कालोपत्रेको काम अगाडि बढाउँदा खुसी लागेको छ।’ 

ग्रामीण र विकट क्षेत्रको रुपमा रहेको नवदुर्गा गाउँपालिका अन्तरगत दर्जनौं सडक कच्ची भएकाले स्थानीयले मार्का खेप्दै आइरहेका नवदुर्गा गाउँपालिका– १ का वडाध्यक्ष भीमबहादुर बोहराले बताए।

कालोपत्रे हुने भएपछि सवारी साधन संचालनका लागि मात्रै सहज नभई ग्रामीण क्षेत्रमा कृषकले उत्पादन गर्ने वस्तुले पनि राम्रो बजार भाउ पाउने भएको स्थानीय टेकबहादुर शाहीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.