हालसम्म १ लाख २० हजारलाई भोजन, संकटभर खाना दिइने

|

काठमाडौं : 'रोजगार गुमेका व्यक्तिलाई खाद्यान्‍न अभाव नहोस् भनेर घर-घरमा राहत पुर्‍याउने सुरुवाती चरणमा लकडाउन भएपछि प्रभावकारी हुन सकेन। घरघरमा राहतभन्दा बरु सामूहिक भोजनले उनीहरूलाई थप सहज हुने देखेपछि विगत १ सय ५७ दिनदेखि नि:शुल्क अभियान सुरु गरिरहेका छौं।' हन्ड्रेड्स ग्रुपका संयोजक अन्शु यादवले आफ्नो सामूहिक खाना अभियानको मुख्य कारणबारे यसरी सुनाए।

१ सय ५७ दिन भोकमरीमा परेका र मर्न आँटेका मानिसलाई खाना खुवाउँदै हिँड्नु पक्कै सहज काम हुँदै होइन। तर, कोरोनाले ल्याएको बित्यास र यसले निम्त्याएको भोकमरी समस्याले आम जीवन अस्तव्यस्त बनेको दृश्य नौलो रहेन।

सरकारले कोरोना नियन्त्रणका लागि भन्दै पहिलो पटक चैत ११ गते लकडाउन गर्‍यो। त्यसपश्चात लकडाउनको अवधि थपिँदै गयो। दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका व्‍यक्तिको खाने बाटो मेटिँदै गयो।

सरकारले दिएको राहतको भरमा आम जीवन सन्तुलित बनाउने सकिने अवस्था थिएन। त्यसपश्चात हन्ड्रेड्स ग्रुपले राहत वितरण सुरु गरेको थियो।

सुरुवाती चरणमा टोलका साथीहरूको सहयोगबाट सुरु भएको यो अभियान अहिले काठमाडौ शहरका विभिन्न क्षेत्रमा दिनको एक पटक खाना खुवाउने अभियान जारी छ।

'सुरुवाती चरणमा हामीले खाद्यान्‍नका सामग्री नै वितरण गरेका थियौं। तर, कतिलाई घरबेटीले बाहिर नयाँ मान्छेको सम्पर्क बढाएको र कोरोना संक्रमण हुन सक्ने भन्दै घर निकाला गरेको सुनियो', यादवले भने, 'चामल र दाल वितरण गर्दा कतिपय व्यक्तिले ग्यास दिए हुने भन्ने जस्ता कुरा गर्न थालेपछि हामीले सामूहिक खाना अभियान सुरु गरेका हौं।'

यो अभियानमा धेरै साथीहरूको साथ र सहयोग छ। सुरुदेखि नै आजसम्म यो अभियानमा लागिरहने ठूलो युवा जमात छ।  रेणु राजभण्डारी, लक्ष्मी राजभण्डारी, रेखा यादव, विकास ढुंगाना ,रागिनी शाह,किशोर यादव, मरिचमान मगर,ॐ श्रेष्ठ , आदर्श दास, शान्ती सिरमल, मुना श्रेष्ठ ,बद्री प्रसाद ढुंगानाको दैनिकी नै अहिले असहाय र भोका व्यक्तिलाई खाना खुवाएर बितिरहेको छ।

'बिहान ६ बजेबाट खाना बनाउन सुरु गर्छौं। लगभग ५ सयभन्दा बढीलाई खाना खुवाउने भएपछि समय लागिहाल्छ', उनले भने, 'खाना खुवाउने समय यति नै भन्ने हुँदैन। तर, बेलुका ८ बजेसम्म सब काम सक्न लाग्छ।'

सुरुवाती चरणमा आफ्नो टोल देउराली क्लबद्वारा आर्थिक संकलन सुरु गरिएको भए पनि अहिले दाताहरूले सहयोग गरिरहेको यादवले बताए।

सधैँ रकम साथमा हुँदैन। नहुँदा पनि अभियान रोकिएको छैन। पुन: टोलका साथीसँग रकम उठाएर अभियान अगाडि बढाइरहेको यादवले उल्लेख गरे।

दैनिक कम्तीमा ढुवानी खर्च र खानाको हिसाब गर्दा १५ हजारभन्दा बढी खर्च हुने गरेको छ। 'हामीले साधारण खाना खुवाइरहेका छौं। हामीसँग आर्थिक पहुँच छैन। यसकारण मीठोभन्दा पनि भोक मेटाउने अभियान हो भन्दा फरक हुँदैन', यादवले थाहाखबरलाई भने।

यो ग्रुपले यसअघि क्लोथ बैंकको अवधारणा पनि ल्याएका थिए। लामो समयदेखि सामाजिक क्षेत्रमा काम गरिरहेको यो ग्रुपको नाम आफैँमा युनिक छ। यो नाम हुनुको तात्पर्य के हो त? यादव भन्छन्, 'हण्ड्रेड ग्रुपको अर्थ शतप्रतिशत काम गर्ने समूह हो। हामी कि काम नै गर्दैनौं। गरेपछि कुनै पनि हालतमा छोड्दैनौं।'

लकडाउनको अवधिमा आजसम्मको हिसाबमा १ लाख २० हजार जनालाई खाना खुवाएको उनीहरूको तथ्यांक छ। जबसम्म लकडाउन सकिँदैन। कोरोना संकट नहटिन्झेल यो क्रम जारी रहने उनले बताए।

आजसम्म काठमाडौं शहरका विभिन्न चोक र गल्लीमा खाना खुवाइरहेको यो टोलीले आर्थीक हिसाब पनि राखेको छ। यादव भन्छन् , 'आज सम्मको खर्च र दाताको सहयोगको एक/एक हिसाब छ। संकटको अन्त्य भएपछी हामी विवरण पनि देखाउने छौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.