|
फाइल फोटो

कपिलवस्तु : ‘यस्तो महामारीको बेला पनि रगत दिने हो? यस्तो बेलामा रगत जोगाउन पर्छ, भोलि घरका मानिसलाई रगत चाहिन सक्छ। त्यो बेला कहाँ खोज्ने हो? तुरुन्त फर्किनु।’ कपिलवस्तुका एक चर्चित नेताले फोनबाट यसरी दबाब दिएपछि कपिलवस्तुका एक युवा बाटोबाटै फर्किए।

ती पूर्व संक्रमित बिहीबार बिहान कोरोना संक्रमितलाई प्लाज्मा थेरापीका लागी रगतदान गर्न बुटवल गइरहेका थिए। रक्तदान गर्न आफैँ तयार भएका ती युवालाई परिवारले त्यसो नगर्न दबाब दिए। तर संक्रमितको स्वास्थ्य संवेदनशीलता बुझेका ती संक्रमित मानेनन्‌। उनी रगत दिन घरबाट हिँडेपछि परिवारका सदस्यले चिनेजानेका ती 'नेताजी' लाई फोन लगाए। अनि फोन गरेका नेताजीलाई समेत सम्झाउन खोज्दा एकोहोरो आदेश दिएपछि ती युवा निराश हुँदै घर फर्किएका हुन्‌।

कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा रहेका २ संक्रमितलाई ओ पोजेटिभ र एक जनालाई ए बि पोजेटिभ रगत चाहिएको थियो। पहिलो पटक प्लाज्मा थेरापी गराएकी ७० वर्षीय वृद्ध महिलालाई दोस्रो पटक प्लाज्मा दिनुपर्ने थियो र अर्का एक पुरुषलाई पनि प्लाज्मा चाहिएको थियो। एक जना रक्तदान गरिरहेको बेलामा २ जना रगत कुरेर बसेका थिए। तर रक्तदान गर्दागर्दै ती वृद्धाको मृत्यु भयो। 

आइतबार रगतका लागी संक्रमितका आफन्तले सामाजिक सञ्जाल र फोनबाट धेरैसँग सम्पर्क गरिरहेका छन्। तर, प्लाज्मा थेरापीका आवश्यक रगत दिनसक्ने पूर्वसंक्रमित दुर्लभ रूपमा फेला परेका छन्। कोरोना संक्रमणपश्चात निको भएका नेता, जनप्रतिनिधि, समाजसेवी र सञ्चारकर्मीले समेत रगतदान गर्न आलटाल गरेका छन्। पटक-पटक सम्पर्क गरी अनुनय-विनय गर्दा पनि बहाना बनाउने गरेका छन्। प्रदेशभर सम्म ४ हजार ८ सय ३८ कोरोना संक्रमित निको भएका छन्। तर अहिलेसम्म ६ जनाले मात्रै प्लाज्मा थेरापीका आवश्यक रगत दिएका छन्‌। 

पूर्व संक्रमितले रगत दिए उपचार सहज

‘कोरोना अस्पतालमा रहेका बिरामीमध्ये दैनिक १ देखि २ जनालाई प्लाज्मा आवश्यक परेको छ। तर स्टकमा छैन। फिजीसियनको सिफारिस बमोजिम प्लाज्मा दिनुपर्छ।

'रगतबाट प्लाज्मा अलग गराउन पनि समय लाग्ने गर्दछ। अहिले रगत खोज्न पनि निकै गाह्रो परेको छ। त्यसैले आवश्यक परेका बेला प्लाज्मा दिन सकियोस् भनेर हामीले प्लाज्मा बैङ्कको समेत तयारी गरेका छौँ,' प्लाज्मा बैङ्कका संयोजक डाक्टर सम्राट् पराजुली भन्छन्, 'एकपटक निकालिएको प्लाज्मा माइनस ४० डिग्री सेल्सियस तापक्रममा १ वर्षसम्म राख्न सकिन्छ। हामी सँग १ वर्ष रगत राख्न मिल्ने व्यवस्था रहेको छ। अहिले मानिसहरूले शरीरमा स्टक राख्ने भनी सोच बनाएका छन्, जति चाँडै प्लाज्मा निकाल्न सकिन्छ-त्यति लाभदायी हुन्छ। ’।  

धागो कारखाना कोरोना विशेष अस्पतालको आइसीयु र भेन्टिलेटरमा १७ जना संक्रमित रहेका छन्। उनीहरूको स्वास्थ्य जाँच गरेपछि प्लाज्मा चलाउने थाहा हुन्छ। फिजिसियनले चेकजाँचका आधारमा उपचारका लागी सिफारिस गर्दछन्‌।

​कोरोना संक्रमित निको भएको २ हप्ता पछि रगत निकाल्न सकिन्छ। निकालिएको रगतबाट रक्त कोष र प्लाज्मालाई ल्याबमा राखेर अलग गरिन्छ। जुन समूहको रगत हो, उसको पोजेटिभ/नेगेटिभ दुवैमा प्लाज्मा दिन सकिन्छ। उदाहरणका लागी 'ओ' समूहको रगत छ भने 'ओ पोजेटिभ' र 'ओ नेगेटिभ' दुवैलाई दिन सकिन्छ। भेन्टिलेटरमा पुग्नुभन्दा अगाडी नै संक्रमितलाई रगत दिन सके उपचार प्रभावकारी हुन्छ। 

रक्तदान आग्रह गर्न हजारभन्दा धेरैलाई फोन

रगतका लागी संक्रमितका आफन्तले बुटवल, स्याङ्जा र काठमाडौँ लगायत क्षेत्रमा सामाजिक सञ्जालमार्फत पूर्व संक्रमितको खोजी गरिरहेका छन्‌। तर, रगत दिन सक्ने संक्रमित अझै फेला परेका छैनन्‌। प्लाज्माका लागी आइसोलेसनमा बसेका संक्रमितका आफन्तलाई रगत जुटाउन धौ-धौ परेको छ। निको भएका संक्रमितलाई फोन लगाउँछन्, तर दिन कसैले मान्दैनन्। 

आफ्नी आमाको उपचार गराइरहेका एक स्वास्थ्यकर्मी भन्छन्, ‘मेरी आमाका उपचारका लागी रुपन्देहीबाट डिस्चार्ज भएकाहरुको फोन नम्बर सङ्कलन गरी कुराकानी गरेँ। धेरैको फोन नै उठेन। फोन लागेकामध्ये आधा जतिले रगत समूह थाहा नभएको भने। केहीले एक हप्तापछि दिन्छु सम्म भने। अन्त्यमा साथीहरूको सहयोगमा दाङ जिल्ला र नवलपरासी २ जना संक्रमितबाट रगत पाउन सफल भएँ।'

कपिलवस्तु कृष्णनगरका एक महिलाका आफन्तले रगतका लागी १ हजारभन्दा धेरै जनालाई फोनमार्फत सम्पर्क गरे। उनले निको भएर बसेका गाउँलेलाई रगत दिन आग्रह गरे, तर कसैले मानेनन्‌। २ दिनसम्म लामो सकसपछि बल्लतल्ल रगत दिने मानिस फेला परेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.