गुल्मी : गुल्मीस्थित रेसुंगा विमानस्थल निर्माण शिलान्यास १४ वर्ष अघि नै गरिएपनि अहिलेसम्म जम्माजम्मी ४५ प्रतिशतमात्र निर्माणकार्य हुन सकेको छ।
तत्कालीन नागरिक उड्ययन तथा संस्कृति मन्त्री प्रदीपकुमार ज्ञवालीले २०६३ सालमा विमानस्थल शिलान्यास गरेका थिए। यो विमानस्थल रेसुंगा नगरपालिका-१० थालेमालेमा पर्छ।
२०७५ साल जेठ २५ गते तारा एयरको ९ एनएकेएल कल साइन विमानले विमानस्थलमा परीक्षण उडान भरेको थियो। कच्ची धावनमार्गमा विमान उडाएर चर्चा बटुलेपनि त्यसयता नियमित उडान हुन सकेको छैन।
वर्तमान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्माणधिन विमानस्थलको पटक-पटक अनुगमन गर्दै आएका छन्। विमानस्थल नियमित सञ्चालनको लागि आवश्यक पर्ने टर्मिनल भवन, टावर र तारजालीको काम सुरु भएको तथा धावनमार्ग कालोपत्रे गर्ने काम ३० प्रतिशतमात्रै सकिएको छ।
४५ प्रतिशत काम गर्न २१ करोड रुपैयाँ रकम खर्च भइसकेको छ। निर्माण व्यावसायी र सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा २०७८ साल मंसिरसम्म निर्माणका सबै काम सकिने थालेमाले विमानस्थलका अध्यक्ष मधुकृष्ण पन्तले बताए।
विमानस्थलको धावनमार्ग आउँदो कार्तिकमा पूरा गरिसक्नुपर्ने भएपनि कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको लकडाउन, वर्षायामको समय र जनशक्ति अभावले लक्ष्यअनुसार काम हुन नसकेको विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए। हालसम्म ४५ प्रतिशत काम सकिएको र टर्मिनल भवन, टावर, तार जालीको काम सुरु भैरहेको जानकारी दिए।
धावनमार्गको लम्बाई ५ सय २० मिटर र चौडाई २० मिटर रहेको छ। विमानस्थल प्रभावित क्षेत्रमा पर्ने ४६ घरधुरी तथा जग्गाधनीलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको छ। विमानस्थल ७८ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।