|
तस्बिर : नवराज परियार ।

बागलुङ : राष्ट्रिय गौरवको आयोजना भएपनि यो पटक बर्खा लागेपछि मध्यपहाडी लोकमार्गका अधिकांश खण्डमा सवारी चल्न सकेका छैनन्। खसेका पहिरो पन्छाउनेभन्दा जस्ताको त्यस्तै छोडिएकाले सवारी नचलेका हुन्।

बागलुङको निसीखोला गाउँपालिकासहित लोकमार्गका दर्जनौं स्थानमा पहिरो खसेको छ। पहिरो पन्छाएर सडक सफा गर्ने काम अझै भएको छैन। बरु स्थानीयले बल्लतल्ल खुलाएको सडकमा यात्रीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्‌।

​सदरमुकाम नजिकै भएपनि बोक्सेसहितका स्थानमा यात्रुहरूले सास्ती खेपिरहेका छन्‌। बिहुँमा भासिएको सडक पनि मर्मत भएको छैन। गलकोट क्षेत्रमा पक्की सडक नै भासिएको छ। तर, जोखिम मोलेर आवागमन भैरहेको छ। निसीखोलातर्फ पहिरोले क्षतविक्षत बनाएको सडकमा पैदलयात्रा पनि गर्न नसक्ने अवस्था रहेको स्थानीयवासीले जानकारी दिएका छन्‌।

​राष्ट्रिय राजमार्गमा सूचीकृत भएकोले सडक संचालनमा ठूलो लगानी गर्न नसकेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए। ‘सामान्य मर्मत गरे हुने ठाउँमा लगानी गरेका छौं, तर लोकमार्गमा लगानी गर्दा गाउँपालिकाको बजेट बेरुजुमा पर्नसक्ने भएकोले ठूलो लगानी गर्न मिल्दैन,’ पौडेलले भने, ‘आयोजनालाई खबर गरेपनि सडक मर्मत गर्नेतर्फ ध्यान दिएको देखिएको छैन।’ पहिरोग्रस्त सडक हुँदै सकसपूर्ण यात्रा गर्दा स्थानीयले क्षति ब्यहोर्नुपरेको पौडेलले बताए।

वि.सं. २०५४ देखि बागलुङ खण्डमा ट्रयाक खोल्न थालिएको थियो। १० वर्षअघि अर्थात २०६६ सालमा निसीसम्म सडक ट्रयाक पुगेको थियो। लोकमार्गमा सूचीकृत भएपछि कतिपय स्थानमा कालोपत्रे समेत भैसकेको छ। तर, बर्खामा खसेको पहिरो पन्छाउन नसक्दा कालोपत्रे गरिएको सडक पनि जीर्ण हुन थालेको छ। कोरोना भाइरस संक्रमण निर्यन्त्रण गर्न भन्दै लगाइएको लकडाउनका कारण सवारी नचलेकोले अहिले सडकमा चाप कम छ। तर सवारी चाप बढ्दा दुर्घटनाको जोखिम बढ्ने स्थानीयले बताए।

काठेखोला गाउँपालिकाको इनारपानी र ठूलो ढुंगा लगायत स्थानमा सडक छियाछिया परेको छ। गलकोट नगरपालिकाको नरेठाँटी र दुदिलाभाटीको कालोपत्रे सडक समेत भासिएको छ। यो खण्डका दर्जनबढी ठाउँमा सडक भासिएको छ। पहिरो झरेका सेथान गनिसाध्य छैन। बडिगाड गाउँपालिकाको भीमगिठ्ठेमा खोलिएको शाखा सडकका कारण लोकमार्ग भासिएको छ। निसीतर्फ सडक हिलाम्मे छ। दैनिक उपभोग्य सामग्री खरिदका लागि बुर्तीवाङ झर्नुपर्नेले पनि समस्या भोगेको स्थानीय भविन्द्र कुँवरले बताए। नाली नबनाएका कारण ठाउँ-ठाउँमा सडक भासिएको छ।

सडककै कारण दुई वर्षअघि काठेखोलामा दर्जनभन्दा बढी घर भासिएपछि बस्ती नै सारिएको थियो। हरेक वर्ष एस्काभेटर, डोजर र लोडरको प्रयोगले धेरै स्थानमा सडक भासिएको वडा नं. ५ का अध्यक्ष शिवप्रसाद कँडेलले बताए। गलकोट नगरपालिका वडा नं. १ को भुंखानीमा ४० मिटर, काफलठूटामा १० मिटर, चौराहामा १० मिटर र जम्दारे घुम्तीमा २० मिटर सडक भासिएकोले जोखिम बढी छ।

पहिरोले किसानको खेतीपाती बगाएको छ। कतिपय स्थानमा सडक चिरा परेकोले झरी पर्दा पैदल यात्रीपनि यात्रा गर्न डराउनुपर्ने अवस्था छ। गलकोट नगरपालिकाकै वडा नं. ७ स्थित आँगखेत र बाँस्खोलामा ५० रोपनी भन्दा धेरै जमिन बगर बनेको छ। किसानले रोपेका धानखेत पुरिएका छन्।

लोकमार्ग आयोजनाका पोखरा-बागलुङ खण्डका प्रमुख आशिष थापा मगर लकडाउनको कारण सबै स्थानमा सडक हेर्न नभ्याएको बताउँछन्‌। आवागमन नै रोकिएको स्थानमा सडक खुलाउन काम भइरहेको उनले दावी गरे।

बर्खामा खसेका पहिरो पन्छाएर लोकमार्गलाई आवागमनयोग्य बनाउन स्थानीयले पनि सक्ने भन्दै उनले जिम्मेवारीबाट पन्छिने प्रयास गरिरहेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.