|

इलाम : सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापनापछि नेपाल–भारत सिमामा पर्ने रोङ गाउँपालिका–६ का कुमार मोक्तानले आफूहरु सुरक्षित महसुस भएको अनुभुति सुनाए। इलामस्थित नेपाल–भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटरमा सातवटा बिओपी स्थापना गर्ने नीति अनुसार सलकपुरमा स्थापना भएपछि कुमारले सुरक्षाको अनुभत गरेका हुन्।

‘सीमा सुरक्षासँगै चोरी निकासी नियन्त्रण हुँदा लागि हामी जनताले धेरै सुरक्षाको अनुभुति पाएका छौं,’ मोक्तानले भने, ‘खुला सीमाको उपयोग गरी अपराधिक समूहले पहिलेको दिनमा जुन रुपले त्रसित हुनुपर्ने अवस्थाबाट हामी मुक्त हुनेछौँ।’

नेपाली पक्षबाट प्रशासनको उपस्थिति हुँदा मेची नदीको दोहन रोकिने र प्राकृतिक स्रोतको तस्करी रोकिने स्थानीयको अपेक्षा छ।  सलकपुरमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट आइतबार स्थापना गरिएको थियो।

भारतसँग सीमा जोडिएको सलकपुर क्षेत्रमा चोरी तस्करी र आपराधिक घटनाबाट त्रसित भएका जनता बिओपी स्थापनासँगै खुसी भएको वडा नम्बर ६ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता सुवास तामाङले बताए। ‘सशस्त्र प्रहरीको उपस्थितिपछि जनप्रनिधिसँगै सबै जनताले सुरक्षा अनुुभूति गरेका छन्,’ अध्यक्ष तामाङले भने, ‘अपराधिक गतिविधिसँगै मेची नदी दोहन रोक्न जनता र जनप्रनिधि लाग्नुपर्ने अवस्थामा राज्यको ठूलो शक्ति स्थायी रुपमा बसेपछि हामी सुरक्षित भएका छौँ।’

यस्तै, सोमबार सूर्योदय नगरपालिका–५ स्थित समाल्बुङमा पनि बिओपी स्थापना गरिएको छ। बिओपी थपिएपछि इलामको सीमा क्षेत्रमा नेपाली प्रशासनको उपस्थित बढ्दै गएकोमा स्थानीय खुशी देखिन्छन्। 

सरकारले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि र सीमा सुरक्षाका लागि बिओपी राख्ने निर्णयपछि इलाममा दुईवटा सीमा सुरक्षा पोष्ट थपिएका हुन्। इलामको रोङ गाउँपालिको सलकपुर  र सूर्योदय नगरपालिकाको समाल्बुङमा एक दिनको फरकमा इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईं र सशस्त्र प्रहरी बल प्रदेश १ बराहा बाहिनीका बाहिनीपति बंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

बिओपी राखिएसँगै शान्ति सुरक्षामा सदृढ हुने सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष प्रेम तामाङले बताउँछन्। ‘भारतले सीमा क्षेत्रमा तीन किलोमिटरको फरकमा सीमा सुरक्षा पोष्ट राखेको अवस्थामा हामीले पहिलेदेखि नेपाली प्रशासनलाई सुरक्षा पोष्ट राख्न माग गरेका थियौं,’ तामाङले भने, ‘कहिले काहीं हतियारसहित भारतीय सीमा सुरक्षा पोष्टका सुरक्षाकर्मी आउँदा त्रसित हुने अवस्था थियो। अब हाम्रोतर्फबाट पनि सशस्त्र प्रहरी हुँदा त्रसित हुनुपर्ने अवस्था हटेको छ।’

नाकामा पर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगरमा एक वर्षअगाडि बिओपी स्थापना गरिएको थियो। नेपाल–भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटरमा सातवटा सीमा सुरक्षा पोष्ट स्थापना गर्ने निती अनुसार बिओपी स्थापनाको काम गरिएको प्रमुख जिल्ला अधिकारी सेडाईंले बताए। तीन स्थानमा बिओपी स्थापना भइसकेको र बाँकी चार स्थानमा पनि चाँडै राख्ने तयारी भइरहेको उनले बताए।  

सीमित साधन स्रोत भए पनि सरकारको निर्णयअनुसार सबै स्थानमा बिओपी स्थापना गर्ने सशस्त्र प्रहरी बल नेपाल प्रदेश  १ बराहा बाहिनिका बाहिनिपति दाहालले बताए। बिओपी स्थापनाको अवसरमा पोष्टको स्थायी संरचना निर्माणका लागि जग्गा दान गर्ने जग्गादातालाई सम्मान गरिएको थियो। भाडामा र पुराना सरकारी संरचनामा स्थापित बिओपिको स्थायी संरचना निर्माणको काम चाँडै शुरु हुने शसस्त्र प्रहरी बल नेपाल नम्बर १ गण हेड क्वाटर श्रीअन्तु इलामका गणपति सुधिरजंग थापाले बताए। ‘स्थायी संरचना निर्माणका लागि टेन्डर प्रक्रिया भइसकेको छ,’ गणपति थापाले भने, ‘इलामको जौबारी, सलकपुर र समाल्बुङको बिओपीको स्थायी संरचना निर्माणको काम चालु आर्थिक वर्षमै सकिनेछ।’

सरकारले इलामको पशुपतिनगर, छब्बिसे, समाल्बुङ, सकलकपुर, कालपोखरी, जौबारी र मानेभञ्ज्याङ्गमा सीमा सुरक्षा पोष्ट राख्ने निर्णय गरेको थियो । सरकारी निर्णयअनुसार सीमा क्षेत्रमा बिओपी राख्ने अस्थायी रुपमा बस्ने स्थान र स्थायी संरचना निर्माणका लागि जग्गा प्राप्तिको काम भइरहेको सशस्त्र प्रहरी बल पशुपतिनगर बिओपीका प्रमुख नवीन खतिवडाले बताए। खतिवडाका अनुसार मानेभञ्ज्याङ्ग र जौबारीको स्थायी संरचना निर्माणका लागि जग्गा प्राप्ति भइसकेको छ। पशुपतिनगर, कालपोखरी र छब्बिसेको जग्गा प्राप्तिका लागि खोजी भइरहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.