|

अर्घाखाँची : रुपन्देहीको भैरहवामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

भीम अस्पताल भैरहवामा उपचार गराइरहेकी नवलपरासी (सुस्ता पश्चिम) की ६५ वर्षीय महिलाको मंगलबार राती पौने १० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिएका छन्‌।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट रेफर भै उपचारका लागि भैरहवा भीम अस्पताल भर्ना भएकी ती संक्रमितमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ।

बुटवलमा आइसियु बेड खाली नभएर यही भदौ १५ गते उनी भीम अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन्। उनमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वासप्रश्वासमा समस्या भएकोले उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो। 

खोकी र ज्वरो सहित गम्भीर अवस्थामा अस्पतालमा आइपुगेकी ती महिलाको शरीरमा अक्सिजनको मात्रा निकै कम भएको अस्पतालले जनाएको छ। भर्ना भएकै दिनदेखि आइसियुमा राखेर उनको उपचार भइरहेको थियो। 

अस्तालका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिका अनुसार हाल चार जना आइसियुमा र १७ जना सामान्य कोभिड आइसोलेसन बेडमा गरी २१ जना संक्रमितको उपचार भइरहेको छ।

भीम अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको यो दोस्रो घटना हो। यस अघि गत सोमबार उपचाररत गैडहवा गाउँपालिका ३ का ५० वर्षीय कोरोना संक्रमितको ज्यान गएको थियो। ती बिरामीलाई अस्पतालले आइसीयुमा राख्न सकेको थिएन। 

तिलोत्तमाकी एकजना संक्रमित महिलाको भने अस्पताल पुर्‍याउँदा नै मृत्यु भएको थियो। उनको शव अहिले भीम अस्पतालमा रहेको र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको सूचना अधिकारी पोखरेललेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.