|
फाइल फोटो

काठमाडौं  : काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पताल सोमबारदेखि पुनः सञ्चालनमा  आएको छ।

काठमाडौं महानगरपालिकाका-१६ का वडाध्यक्ष मुकुन्द रिजालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरेको प्रस्ताव अनुसार जनमैत्रीलाई कोभिड अस्पतालका रुपमा सञ्चालनमा ल्याइएको हो।

वडा कार्यालयको प्रस्ताव र काठमाडौं महानगरपालिकाको पहलमा जनमैत्री अस्पतालमा १०० बेड क्षमताको कोभिड अस्पताल बनाइएको छ।

के कारणले बन्द भएको थियो ? 

वडा अध्यक्ष रिजाल अस्पताल बन्द हुनुको कारण यसरी प्रस्तुत गर्छन्। 

जनमैत्री हस्पिटल केही वर्षअघि सतीशचन्द्रले चलाउनु भएको थियो। त्यो बेलादेखि नै काठमाडौंको रिङ रोडको छेउमा एउटा राम्रो र जनतालाई छिटो सेवा लिन पुग्ने गरी बन्न लाग्दा हामी असाध्यै खुसी भयौँ। हस्पिटल पनि राम्रो चल्यो।

पछि तत्कालीन जनयुद्ध लडेर आउनु भएका साथीहरुले टेक ओभर गरेर सञ्चालन जिम्मा लिनुभयो। सतीशचन्द्रजीहरुलाई यहाँबाट विदा गर्न उहाँहरुले जनमुक्ति सेना (पीएलए) को तीन करोड रुपैयाँ ल्याएर हस्पिटललाई ट्रस्टमा लैजानुभयो। 

त्यतिखेर डा. बाबुराम भट्टराई अर्थमन्त्री हुनुहुन्थ्यो। अस्पताललाई ट्रस्ट (जनमैत्री अस्पताल ट्रष्ट) मा लगियो। यो ट्रस्ट कम्पनी दर्ता ऐन परिच्छेद १९ को १६२ नियमानुसार दर्ता भएको छ। यो अनुसार दर्ता भएपछि जुनकुनै संस्था पनि मुनाफा कमाउने उद्धेश्यबाट टाढा हुन्छ। यो पनि त्यस्तै भयो।

अस्पताल चलिरह्यो। सरकारबाट वार्षिक रुपमा अनुदान आउन थाल्यो। ट्रस्ट भएपछि सरकारले अनुदानको पैसा दिन मिल्ने रहेछ। त्यसपछि त्यसै लथालिङ्ग भयो। बीचमा एउटा संस्थाले व्यवस्थापन गरेर चलायो। त्यसपछि नबिलको सुनिल शर्माले एक वर्ष व्यवस्थापन चलाउनुभयो। भूकम्प आएका बेलामा पनि सरकारबाट  अनुदान आएको थियो। अस्पताल राम्रोसँग नै चलिरहेको थियो। अस्पताल चलिरहँदा त्यहाँका सञ्‍चालकको रुपमा रहनेहरूबीच आन्तरिक लेनदेनको विषयमा कुरा मिलेन। कुरा नमिलेपछि अनुदानमा आएको रकम अस्पतालको विकासका लागि खर्च गर्ने विषयमा लफडा भयो। 

ट्रस्ट बनाइसकेपछि यो जनताको अस्पताल हो। जनताकै सहभागिता हुनुपर्छ भनेर ७७ रोपनी जग्गा (तत्कालीन तारकेश्वर) को ट्रस्टलाई ९९ वर्षको लागि भोगाधिकारका लागि दिइएको छ। यो चाहिँ मेडिकल कलेज बनाउनको लागि भनेर दिइएको हो। यतिमात्र कहाँ हो र ,पण्डित दीनबन्धु पोखरेललाई बोलाएर पुराण पनि लगायौँ। पुराणबाट तीन करोड रूपैँया जम्मा भएको थियो। सबै यही अस्पताल सञ्चालनका लागि भनेर दिइएको थियो। 

सुनिल शर्मापछि गगन प्रधान भन्ने सरले चलाउनु भयो। फेरी पुरानै टिम (जनमुक्ति सेनाकै टिमसँग) उहाँ जानुभयो र ०७२ सालको भूकम्पपछि सेवा ठप्प भयो। भूकम्प आइसकेपछि अनुदानको विषयमा विवाद भएछ। त्यो समूहले अस्पतालमा ताला लगाएर बाहिरियो। यस अस्पताल सञ्चालक समितिको अध्यक्ष कृष्ण शर्मा भन्ने हुनुहुन्छ,अहिले पनि उहाँ नै हो। 

बैंकको ऋण पनि नतिर्ने, आएका अनुदान पनि चलाएर उहाँहरु हिँड्नु भयो। बिजुलीको पैसा पनि नतिरेकोले प्राधिकरणले लाइन पनि काटिदियो। लाइन काटेपछि अध्यक्ष कृष्ण शर्मा र टोलवासी भएर डिजेल किनेर ल्याएर चलाएपनि त्यो दिगो हुने कुरै भएन। त्यही बेला नाकाबन्दी भयो। अप्ठ्यारो भयो। यतिका वर्ष बन्द भयो।बीचमा धेरै स्वास्थ्य क्षेत्रका माफियाहरू पनि यो अस्पताल चलाउने भन्दै आएका थिए। 

कसरी सञ्चालनमा आयो ?

अस्पताल बन्द भएको पाँच वर्ष पछि पुन: सेवा दिने गरी खुल्नुका पछाडि धेरै कारण रहेछन्। विवादै विवादको घानमा फसेको यो अस्पताल कसरी फेरि सञ्‍चालनमा आयो त?

‘अहिले विश्वभर फैलिएको कोरोनाले महामारी रुप लिइरहेको बेला नेपालमा पनि हालत उस्तै छ। कोभिडले यस्तो आक्रान्त पारिरहेको बेला ३०० बेडको अस्पताल चाहिँ खाली, मानिसहरु उपचार नपाएर मरिरहने ?,’ वडा अध्यक्ष रिजालले थाहाखबरसँग भने, ‘राज्यले पनि यो अस्पताल चलाउन चासो नदिएपछि टोलवासी र स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गरेर हामीले फेरी एकपटक अस्पताल चलाउन पहल गरौँ भनेर निर्णय गरौँ। यसको नेतृत्व मैले नै गरेँ।’

अहिले १०० बेडबाट मात्रै सेवा दिनेगरी अस्पताल पुन: सञ्‍चालनमा आएको छ। रिजाल भन्छन्‌, ‘अहिले १०० बेड मात्रै चलाइएको छ। यसको क्षमता ३१५ बेडको छ। पहिले जनमैत्री अस्पतालमात्र हुँदा १०० बेडको थियो। पछि मेडिकल कलेज नै बनाउने भनेपछि सरकारले ३१५ बेडको स्वीकृती गरेको थियो। ३१५ बेडको लागि आवश्यक पूर्वाधार पनि तयार छ।’​

पाँच ठाउँमा पत्र 

अस्पताल पुनः सञ्‍चालन गर्नका लागि दबाब दिन पाँच ठाउँमा पत्र लेखेको वडा अध्यक्ष रिजाल बताउँछन्। ‘हामीले अस्पताल चलाउनपर्छ भन्‍ने निचोड निकालेर विभिन्न निकायलाई पत्र लेख्यौँ,’ उनी भन्छन्, ‘महानगर, सीसीएमसी, डिसीसीएमसी, स्वास्थ्य मन्त्रालय र कम्पनीलाई पत्र लेख्यौँ। अहिले कोरोनाले आक्रान्त पारेकोले कम्पनी तिर केके बिग्रेको छ, त्यता हेरेका छैनौँ।’

उनका अनुसार अहिले वडा, महानगर, स्वास्थ्य मन्त्रालयको आग्रहमा जनमैत्री अस्पतालको ट्रस्टले नै बिजुलीको पैसा तिरिसकेको छ। लाइन पुन: जोडिएको छ। 

‘जनमैत्री ट्रस्टका केहीले हामी नयाँ टिम बनाएर अस्पताल चलाउँछौँ भन्नुभएको छ,’ उनले भने, ‘पहिला त ट्रस्ट बिक्री गर्न लाग्नु भएको थाहा पाएका थियौँ। तर, अहिले ट्रस्ट खरिद बिक्री नहुने बुझेरै होला, अस्पताल सञ्चालन गर्नुपर्छ भनेर आउनुभएको छ।' अस्पताल सञ्चालनको लागि वडाबाट महानगर, महानगरबाट जिल्ला हुँदै मन्त्रालयमा दबाब दिएको उनले बताए।

‘सबैतिरबाट अस्पताल संचालनका लागि दबाब दिएपछि स्वास्थ्य मन्त्रालयबाट दुई जना सहसचिव आएर अस्पतालको निरीक्षण गर्नुभयो,’ उनी भन्छन्, ‘त्यसको केही दिनमै अस्पताल पुन: सञ्चालन भइहाल्यो।’ अस्पताललाई पुरानै अवस्थामा फर्काउनका लागि प्रयास गरिरहेको उनको भनाई छ। अस्पतालमा ६ चिकित्सक र १२ नर्सले सेवा दिन सुरु गरिसकेको रिजाल बताउँछन्। 

वडा अध्यक्ष रिजालले अस्पताल पुन: सञ्चालनमा ल्याउन सहयोग गर्ने सबैलाई विज्ञप्ती जारी गरी धन्यवाद दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.