गुर्जो, बेसार, अदुवापानी र कसरत आवश्यक

|

काठमाडौँ : सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-४ कुविण्डेकी अम्बिका शर्मामा भदौ १ गते कोरोना पुष्टि भयो। जिल्लास्थित गैरसरकारी संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ) कार्यरत उनी साउन १३ गते तालिमका लागि चितवन गएकी थिइन्‌। 

चितवनबाट साउन २८ सिन्धुपाल्चोक आइपुगिन्। जिल्लामा फर्किएपछि कोरोना संक्रमण भए/नभएको थाहा पाउन साउन ३० गते उनको थ्रोट स्वाब संकलन भयो। स्वाब नमुना परीक्षण गर्दा उनीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भयो।

संक्रमण भएको थाहा पाएपछि मलाई मात्रै नभएर परिवारलाई समेत समाजले हेर्ने दृष्टिकोण अर्कै हुँदोरहेछ,’ उनले थाहाखबरसँग भनिन्, ‘कोरोनाबारे अनेक भ्रम फैलिएकाले समाजले अर्कै रुपमा हेर्ने नै भयो, बुझ्नेले गाउँघरतिर बुझाइदिनुभयो। तर, नबुझ्नेहरुले संक्रमितको घरमा जाँदा पनि कोरोना सर्नेजस्तो व्यवहार गरिरहनु भएकै छ।’ 

कोरोना जितेर घर पुगेपनि संक्रमितलाई हेर्ने दृष्टिकोण अर्को पाएको उनले सुनाइन्। ‘कोरोना जितेर हिजो म घर आएँ, बुझ्नेहरू घरमा आएर बसेर कुरा गरेर जानुभयो, तर नबुझ्नेहरु अझै आउन त के, बोल्न समेत डराइराख्नु भएको छ,’ उनले थपिन्, ‘यो कोरोना लागेर आएको मान्छे, यसबाट सर्नसक्छ भन्ने भ्रम परिरहेको छ।’ 

आत्मविश्वास राख्नुहोस् 

कोरोना संक्रमित बढ्दै गइरहेको बेला संक्रमण जितेर फर्किएकी उनले कोरोनाबाट आफूलाई केही हुँदैन भन्ने आत्मविश्वास राख्नुपर्ने बताइन्। ‘कोरोना संक्रमितहरुलाई म आग्रह गर्न चाहान्छु : सुरुमा त आफुले आफूलाई केही हुँदैन भनेर आत्मविश्वास राख्नुहोस्,’ उनले भनिन्, ‘त्यसलाई हामीले सहजै परास्त गर्न सक्छौँ।’

‘मलाई लक्षण नदेखिएकाले सजिलै कोरोना जित्न सकेको छु जस्तो लाग्छ। लक्षण देखिएकाहरुलाई पनि आफ्नो आत्मबल नघटाउन हुन अनुरोध गर्छु’ उनले भनिन्। 

गुर्जो, बेसार, अदुवा र पानीको प्रयोग

आइसोलेसनमा बस्दा गुर्जो, बेसार, अदुवा र पानीको निरन्तर प्रयोग गरेको अम्बिकाले सुनाइन्। ‘आइसोलेसनमा बस्दा गुर्जो, बेसार, अदुवा र पानीको प्रयोग गरेँ। त्यसले स्वास्थ्यमा फाइदा पुग्ने रहेछ,’ उनले भनिन्।  

यी मसला र जडिबुटीको प्रयोगसँगै उच्च मनोबलका साथ विहान उठेपछि शारिरिक व्यायाममा ध्यानमा ध्यान दिनुपर्ने उनले सुनाइन्। ‘आइसोलेसनमा बस्दा दिक्क हुन पनि सकिन्छ। त्यसैले बिहान सबेरै उठेर उच्च मनोबलका साथ शारिरिक व्यायाम गर्नुपर्छ,’ उनले भनिन्, 'बाहिरी मान्छेको नकारात्मक कुरा कुरा सुन्नु हुँदैन। आफ्नो मनोबल आफै वृद्धि गर्नुपर्छ।’

आइसोलेसनमा बस्दा स्वास्थ्यकर्मीको सल्लाह निरन्तर रुपमा पालना गर्न उनी सुझाउँछिन्‌। 

तस्बिर सार्वजनिक भएपछि आइसोलेसन फेरियो

कोरोना संक्रमण पुष्टि भएको ३३ घण्टापछि पाएको आइसोलेसन पनि बस्नै दिक्क लाग्ने खालको रहेको उनले सुनाइन्। ‘कोरोना संक्रमण पुष्टि भएको करिब ३३ घण्टापछि आइसोलेसनमा लगिएको थियो। त्यो पनि बस्नै दिक्क लाग्ने खालको रहेछ,’ उनले भनिन्, ‘मैले फोटो खिचेर आफन्तलाई पठाएँ। त्यो फोटो सार्वजनिक भएपछि आइसोलेसनको अवस्था फेरियो।’

‘सुरुमा आइसोलेसनको अवस्था राम्रो नभएपनि पछिल्लो आइसोलेसनमा व्यवस्थापनदेखि खानपिन र बसोबास समेत राम्रै रह्यो’ उनले भनिन्, ‘कोरोना पुष्टि भएपछि एकदिन अफिसमै बस्यौँ। त्यहाँ बस्दा हामीलाई बाहिरी नकारात्मक प्रचारले कोरोनाले भन्दा धेरै समस्या पारेका थियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.