किसान भन्छन् : कोरनाले भन्दा भोकले मर्ने डर छ

|

हेटौंडा : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बुधबार मकवानपुर जिल्लाका सहकारीलाई युरिया मल वितरण गरेको छ। सरकारी सहुलियत अनुदानको युरिया मल बुधबार विभिन्‍न ग्रामिण क्षेत्रका सहकारीबाट मकवानपुरमा एक सय पाँच टन वितरण भइरहेको साल्ट ट्रेडिङ कर्पोरेसन हेटौंडाका प्रमुख शैलेस पाण्डेले जानकारी दिए।

साल्ट ट्रेडिङले मकवानपुरमा गत शुक्रबार पनि एक सय पाँच टन मल वितरण गरेको थियो। बुधबार साल्ट ट्रेडिङले हेटौंडा बजारका सहकारीलाई भने मल उपलब्ध गराएको छैन। नगरको ग्रामीण क्षेत्र र जिल्लाका गाउँपालिकाका सहकारीलाई मल वितरण गरेको साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडाका प्रमुख शैलेस पाण्डेले जानकारी दिए।  

कोरोनाको भन्दा भोकको डर

बुधबार मकवानपुरको भीमफेदी गाउँपालिकामा मल लिन आइपुगेको किसान बद्री कँडेलले कोरोना जोखिममा पनि युरिया मल लिन आएको बताए। केही समयदेखि  वर्षे धानमा मल हाल्न नपाएको भन्दै उनले केही पाए पनि राहत मिल्ने बताए। 

‘कोरोनाले भन्दा भोकले मर्ने डर भो, मल नहाले फल लाग्दैन मंसिरमा के भित्र्याउने भन्‍ने चिन्ता छ, त्यही भएर डर मानेर भए पनि लिन आएको छु’, उनले भने। मकवानपुरका बद्रीको मात्रै यस्तो डर र चिन्ता होइन, देशैभरिको किसानहरुको अहिले युरिया मलको ठूलो चिन्ता छ।  
'भिखारी' सम्झिँदो रहेछ।' 

बागमती प्रदेशकै सबैभन्दा धेरै धान फल्ने चितवनमा बुधबार कोरोनाबीच मल लिनेको ठूलो लाइन देखियो। बुधबार भरतपुर महानगरपालिका–६ गीतानगरस्थित सर्वोदय बहुद्देश्यीय सहकारी संस्थामा मलको लाइनमा बसेका किसानहरू सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। 

खेतमा धान नसप्रिँदा कोरोनाको जोखिम मोलेर लाइनमा बसे पनि प्रशासनबाट कुनै सहयोग नभएको स्थानीयबासीले सामाजिक सञ्जालमा लेखेका छन्। 

राष्ट्रिय समाचार समितिले खिचेको तस्बिर अनुसार चितवनको एक सहकारी १५ सयभन्दा धेरै किसानहरू एकै ठाउँमा मल लिन लाइनमा देखिन्छन्। भरतपुरमा जारी निषेधाज्ञामा न प्रहरीले सामाजिक दुरी रोक्न सकेको छ न स्थानीय सरकारले वास्ता गरेको छ। 

भरतपुर महानगरसहित चितवन जिल्लामा कोरोना संक्रमण फैलनबाट रोक्न निषेधाज्ञा जारी छ। करिब ५ सय मिटरको किसानको लाइन ब्यवस्थापन, भिड नियन्त्रण र सामाजिक दूरी कायम गर्न प्रहरी नै परिचालन गर्नु परेको थियो। तर प्रहरीले सामाजिक दूरी भने कायम गर्न नसकेको हो।  

किसानहरूले सरकारले किसानलाई भिखारी सम्झेको भन्दै किसानहरू आक्रोशित समेत भएका थिए। राति २ बजे सहकारीको गेटमा आएर मल कुरेको बताउँदै किसान गीता शर्माले थाहा खबरसँग फोनमा आक्रोश व्यक्त गर्दै भनिन्, ‘कोरोनाको डरमा रातभरि लाइनमा बसियो, बल्ल बल्ल पाएको मल पनि १० किलो, यो मलले खेतको कुन कुनामा छर्नु, सरकारले  हामीलाई भिखारी सम्झिँदो रहेछ।’

सञ्चारमाध्यमसँग पनि गुनासो गर्दै भनिन् ‘मिडियाले पनि किसानको कुरा कहिले लेख्दैन, हामीलाई कत्रो समस्या छ।’ शर्माको  १५ कट्ठाको धान खेती छ। सहकारीमार्फत उनले १० किलो मात्रै मल पाएपछि रोष प्रकट गरेकी हुन्।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार चितवन जिल्लामा २७ हजार ४ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। चितवनमा ४० हजार क्विन्टल मलको माग छ। तर चितवनमा २ हजार १ सय क्विन्टल मल आपूर्ति भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.